|

काठमाडौं :  गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गत वैशाख ३० मा एकै चरणमा मुलुकभर सम्पन्न स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थापनबारे समीक्षा भएको छ।

निर्वाचन शान्ति पूर्णरूपमा सम्पन्न गर्न अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी र राष्ट्रसेवक कर्मचारीलाई बैठकले धन्यवाद दिएको छ।

 बैठकले निर्वाचनमा सक्रिय सहभागिताका लागि राजनीतिक दलप्रति पनि धन्यवाद व्यक्त गरेको गृहमन्त्रालयले जानकारी दिएको छ। निर्वाचन गराउने सिलसिलामा घाइते भएका सुरक्षाकर्मी तथा कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, निर्वाचनमा खटिएका बेलामा मृत्यु भएका नेपाल प्रहरी र म्यादी प्रहरीका परिवारमा दुःख व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेको छ।

 मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम निर्वाचनका क्रममा खटिँदा घाइते भएका सुरक्षाकर्मीलाई उपचार खर्च र मृत्यु भएकाका परिवारलाई राहत दिने प्रक्रिया सुरु गर्न सम्बन्धित निकायमा लेखी पठाउने निर्णय बैठकले गरेको छ।

स्थानीय तह निर्वाचनका क्रममा खटिएका पाँच म्यादी प्रहरी र एक प्रहरीको मृत्यु भएको बैठकमा जानकारी गराइएको थियो। मन्त्रिपरिषद् बैठकले निर्वाचनमा खटिएका बेला मृत्यु हुने सुरक्षाकर्मी र म्यादी प्रहरीका परिवारलाई जनही २० लाख दिने र घाइतेको उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो।

बैठकमा निर्वाचन सम्पन्न गर्न अहोरात्र खटिएका निर्वाचन आयोग, प्रमुखसहित आयुक्तहरु, मुख्य निर्वाचन अधिकृत भएर खटिएका न्यायाधीशहरूलाई पनि एकै चरणमा निर्वाचन सम्पन्न गर्न योगदान पुर्‍याएको भन्दै धन्यवाद व्यक्त गरिएको थियो।

गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले बैठकमा अहिलेको निर्वाचनमा भएका कमजोरी र आगामी निर्वाचनमा सुधार गर्नुपर्ने विषयबारे परामर्श भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.