|

पर्वत : निर्वाचनमा धेरैको मतको अन्तरमा हारजित हुँदा भन्दा १/२ मतको अन्तरमा हारजित हुँदा त्यसको महत्त्व बढी हुन्छ। धेरै मतान्तरमा हार हुँदा जनमत नै आफ्नो पक्षमा नरहेको बुझ्न सके पनि झिनो अन्तरले पराजित हुँदा ‘अलिकति प्रयास गर्न पाएको भए’ भन्ने सोच प्रत्यासीमा आउँछ। त्यही मतको अन्तरमा जितेकाहरूलाई ‘थोरैले जोगियो’ भन्ने सोच आउँछ। समग्रमा चुनाव अविदुवैका लागि स्मरणीय बन्छ।

हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पर्वतका चार जना उम्मेदवार यस्तै अवस्थामा निर्वाचनमा विजयी भएका छन्। जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटाको वडाध्यक्ष पदमा नेपाली कांग्रेसका चोलाकान्त पाध्याले नेकपा एमालेका दीर्घनारायण शर्मालाई एक मतले पछि पार्दै वडाध्यक्ष निर्वाचित भए।

पाध्याले ६१० मत प्राप्त गर्दा शर्माले ६०९ मत प्राप्त गरे। अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार विजयी भएको ठाउँमा यो पटक कांग्रेसका उम्मेदवार विजयी बने। एमालेको गढ क्षेत्रको रूपमा चिनिएको कार्कीनेटामा एक मतले कांग्रेसको पक्षमा नतिजा जाँदा निर्वाचित पाध्यासहित कांग्रेस पार्टी नै अचम्ममा परेको छ भने एक मतकै कारण किल्ला गुमाउनु परेको एमाले पनि उस्तै आश्चर्यमा छ।

‘निर्वाचनमा एक भोटको महत्त्व कति हुन्छ भन्ने कुरा सुन्दै आएको त हो अहिले आफैले भोगियो। एक भोटको विजयले अचम्ममा पार्दा रहेछ,’ चोलाकान्त भन्छन्, ‘पदमा लैजान एक भोटको महत्त्व रहेका कारण अब प्रत्येक एक जना नागरिकको भावना अनुसार काम गर्दै जानु निर्वाचित प्रतिनिधिको कर्तव्य हो।’

फलेवास नगरपालिकाकै वडा–२ थापाठानामा पनि यस्तै भएको छ। दोस्रो पटक पनि वडाध्यक्षमा प्रतिस्पर्धा गरेका एमालेका उम्मेदवार गंगानारायण श्रेष्ठले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पूर्णबहादुर भण्डारीलाई दुई  मतले पछाडि पारे। श्रेष्ठले ८६२ मत प्राप्त गर्दा भण्डारीले ८६० मत मात्रै प्राप्त गर्दा हार बेहोर्नुपरेको छ।

मोदी गाउँपालिकाको वडा–५ र ६ मा पनि नेपाली कांग्रेसका उम्मेदवारले एमालेका उम्मेदवारलाई दुई  मतले पछि पार्दै वडाध्यक्षमा निर्वाचित भएका छन्। वडा–५ बाजुङमा नेपाली कांग्रेसका मानबहादुर अधिकारीले एक हजार ११४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तेजबहादुर क्षेत्रीले एक हजार ११२ मत प्राप्त गरे। वडा–६ मा नेपाली काँग्रेसका दिपेन्द्रजंग लामिछानेले एक हजार ९३ मत प्राप्त गरी प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दलाल सुवेदीलाई दुई मतले पराजित गरेका छन्। एमालेका सुवेदीले एक हजार ९१ मत प्राप्त गरेका छन्।

मोदी गाउँपालिकाका यी दुवै वडा र फलेवास नगरपालिका–१ कार्कीनेटामा एमालेले आफ्नो विरासत गुमाएको छ। यी तीनवटै वडामा अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार वडाध्यक्षमा विजयी भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.