|

चीनका राष्ट्रपति सी चिनफिङले सबैको सुरक्षाका लागि विश्वव्यापी समुदाय निर्माण गर्न मिलेर काम गर्नु अपरिहार्य भएको बताउँदै त्यसनिम्ति ब्रिक्स राष्ट्रहरूलाई  आह्वान गरेका छन्। 

ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्स राष्ट्रका विदेशमन्त्रीहरूको बैठकको उद्घाटन सत्रमा भिडियो सम्बोधन गर्दै सीले उक्त टिप्पणी गरेका हुन्।

विश्व इतिहासमा एक शताब्दीयता नदेखिएको महामारी तथा अन्तरराष्ट्रिय क्षेत्रमा उत्पन्न अस्थिरता, अनिश्चितता र असुरक्षाका कारकहरू बढ्दै गएकाले ब्रिक्स राष्ट्रहरूलाई एकजुट हुन उनले आग्रह गरेका हुन्। “शान्ति र विकास वर्तमानको अपरिवर्तित विषय हो,अन्तरराष्ट्रिय समुदायको साथ, सहयोग र ऐक्यबद्धता अत्यावश्यक छ’‚ उनले भने।

अन्तरराष्ट्रिय समुदायमा सकारात्मक, प्रेरणादायी र रचनात्मक शक्तिको रूपमा ब्रिक्सका सदस्य देशले दृढतापूर्वक काम गर्नुपर्ने तथा अन्तरराष्ट्रिय सम्बन्धमा स्थायित्व,  शान्ति र विकासको प्रवर्धन, निष्पक्षता, न्याय, लोकतन्त्र  एवम्  स्वतन्त्रताको समर्थन आवश्यक भएको राष्ट्रपति सीले बताए।

अरूको खर्चमा आफ्नो सुरक्षा खोज्दा नयाँ तनाव र जोखिम मात्रै सिर्जना हुने बताउँदै राष्ट्रपति सीले विश्वमा साझा सुरक्षा प्रवर्धन गर्न विश्वव्यापी सुरक्षा प्रयास उपयोगी हुने विचार व्यक्त गरे। 

ब्रिक्स देशहरूले राजनीतिक रूपमा पारस्परिक विश्वास र सुरक्षा सहयोगलाई सुदृढ गर्न, प्रमुख अन्तरराष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा निकट सम्पर्क कायम गरेर  एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र विकासका लागि सुरक्षाको विश्वव्यापी समुदाय निर्माण गर्नुपर्ने बताए। उनले शीतयुद्धको मानसिकता र टकरावबाट मुक्त हुनुपर्नेमा पनि जोड दिए। 

‘अहिलेको जोखिम र चुनौतीपूर्ण परिस्थितिमा विकासोन्मुख देशहरूले समृद्धिका लागि पारस्परिक एकता र सहयोगलाई अझ बलियो बनाउनुपर्छ, आपसी समझदारी एवं विश्वास बढाउन, सहयोगका क्षेत्रलाई बढाउन तथा आपसी हित प्रवर्धन अभिवृद्धि गर्नुपर्छ’, उनले भने । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.