माधवसँग सहकार्य हुँदैन, प्रचण्ड सच्चिएर आए सोच्‍न सकिन्छ : ज्ञवाली

|

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ। हालसम्मको नतिजाअनुसार नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो दल बनेको छ। पहिलो पार्टी बन्ने दाबी गर्दै आएको नेकपा एमालेले सोचेजस्तो मत पाउन सकेन। 

तर पाँचदलीय सत्ता गठबन्धन गठबन्धनले धाँधली गरेको कारणले एमालेको सोचेजस्तो मतपरिणाम आउन नसकेको आरोप लगाउँदै आइरहेको छ। एमालेको मत परिणाम किन सोचेजस्तो आएन? एमाले अहिलेको मत परिणामले आत्तिएकै हो त? आगामी दिनमा गठबन्धन या माओवादी र एकीकृत समाजवादीसँगको सहकार्यको सम्भावना कति छ? यस्तै समसामयिक विषयमा केन्द्रित रहेर एमाले उपमहासचिव प्रदिप ज्ञवालीसँग थाहाखबरले गरेको कुराकानीः

स्थानीय चुनावको हालसम्मको नजिता एमालेको लागि स्वाभाविक हो कि अनपेक्षित? 

अपेक्षा हाम्रो पहिलो दल बन्ने नै थियो। मुख्यतया तीन वटा कारणले हाम्रो लक्ष्य पूरा हुन सकेन। पहिलो सत्ता गठबन्धनले सरकारी स्रोत र साधनको दुरुपयोग गर्‍यो। निर्वाचन निष्पक्ष हुन सकेन। दोस्रो हामीभित्र पनि उम्मेदवार चयन समस्या, निर्वाचन परिचालन र एकताबद्ध भएर पार्टीले तय गरेको उम्मेदवारसँग निर्वाचन होमिन सकेन।

तर ठूला शहरहरूले पार्टी बाहिरबाट विकल्प रोजेका कारणले पनि हाम्रो पहिलो दल बन्ने लक्ष्य पूरा हुन सकेन। अर्को पाटोबाट हेर्दा जनमतको हिसाबले हेर्दा हामी हाम्रो जनमत यथावत् छ। यसको विश्लेषण गर्दैछौँ।

अहिलेको निर्वाचनमा कांग्रेसमा एमालेले र एमालेले कांग्रेसमा पनि भोट हालेको छ। यस्तो अवस्थामा कसरी जनमत आँकलन गर्न मिल्छ? 

त्यो त पछि पनि देखिन्छ। त्यसको लागि समानुपातिकबाट छुट्टै हेर्नुपर्छ। जहाँ अहिले सूर्य चिह्नबाट उठेका उम्मेदवारको मत त हाम्रो नै हो नि। थोरै तलमाथि हुनसक्छ। समग्रमा जनमतको हिसाबले ६३० पालिकामा हामी एक्लै लडेका छौँ।

२३ वटा पालिकामा मात्र समर्थन गरेका छौँ। सत्ताको घेराबन्दी गरेको बेलामा पालिका र मतदान केन्द्रमा हिंसात्मक घटनासमेत भए। अहिलेको परिणामलाई स्वाभाविक नै लिनुपर्छ। तर हाम्रो अपेक्षाभन्दा बाहिरको हो। 

०७४ को निर्वाचनलाई पनि शेरबहादुर र प्रचण्डजी सरकारमा हुनुहुन्थ्यो। अहिले पनि उहाँहरू नै हुनुहुन्छ। त्यसबेला पहिलो हुँदा केही भन्नुभएन अहिले दोस्रो भएपनि धाँधलीको आरोप लगायो भन्ने टिप्पणी भइरहेको छ नि!

हामीले वक्तव्यमार्फत अगाडि सारेका घटनालाई तथ्यगत रुपमा राखेका छौँ। कैयौँ ठाउँमा प्रचारमा रहेकाको हत्या भएको छ। रुकुम पूर्व, ताप्लेजुङ र हुम्लामा हाम्रा कार्यकर्ताको हत्या भएको छ। त्यो हत्या नभएर आत्महत्या होइन होला। गठबन्धनको तर्फबाट त्यस्तो घटना घटाइएको छ।

९५ मतदान केन्द्रमा मतदान फेरि गर्नुपर्ने अवस्था आयो। सत्ताको चरम दुरुपयोगको कारणले नै भएको छ। काठमाडौंको बारेमा हामीले टिप्पणी गरेको छैनौँ। सत्ताको चरम दुरुपयोग गरेको प्रष्ट छ। 

चुनावी परिणाम नआउँदै एमाले आत्तियो भन्ने आरोप लागिरहेको छ नि! 

निर्वाचन हुनुभन्दा १५ दिनअघि नै निर्वाचन अघि निर्वाचन र पछिका घटनालाई फरकफरक रुपमा विश्लेषण गरेका छौँ। निर्वाचनअघि सुरक्षाकर्मीहरुलाई हेरफेर गरियो। त्यसको पछाडि असल मनसाय छैन। तोकिएर खटिसकेका निर्वाचन अधिकृतहरूलाई फेरबदल गरियो। त्यसको कुनै औचित्य छैन। त्यो सेटिङ हो।

मौन अवधिमा समेत मन्त्रीहरू दलबलसहित आचारसंहिताविपरीत मतदातालाई धम्क्याउने, फकाउने काम लागे। प्रधानमन्त्री आफैँ सेनाको हेलिकप्टरमा देश दौडाहामा लाग्नुभयो। एमालेले निर्वाचन परिणाम आएपछि होइन निरन्तर खबरदारी गरेको छ। निर्वाचनको दिन बाजुरामा जहाँ अहिले महान्याधिवक्ता दाइ या भाइ चुनाव लड्दै हुनुहुन्थ्यो। १०/११ बजेसम्म निर्वाचन सहज रुपले भइरहेको थियो। त्यसपछि सुरक्षाकर्मीलाई हट्न बाध्य बनाइयो।

कुनै तनावको अवस्था थिएन। त्यस्ता धेरै उदाहरण छन्। मतगणनाको क्रममा पनि हारेकालाई जितेको जितेकोलाई हारेको भनेका छन्। मतदान अधिकृतलाई धम्काएको छ। हामी परिणामसँग डराएका छैनौँ। निष्पक्ष निर्वाचन चाहन्थ्यौँ। तर गलतलाई त गलत भन्न पाइन्छ होला नि।

उम्मेदवार चयन र पार्टी फुटको असरलाई एमालेले कतिको गम्भीरताको साथ हेरेको छ? 

हामीले देशका सबै वडामा हामीले पार्टी कमिटीलाई प्रत्येक वडाको समीक्षा गर्न भनेका छौँ। कैयौँ ठाउँमा पुरानै उम्मेदवार उठाएका ठाउँमा जितेका छौँ। कति ठाउँमा नयाँ उम्मेदवार ल्याउँदा पनि सोचेजस्तो मत पाउन सकेको छैन। अधिकांश ठाउँमा अपेक्षा गरेझैँ मत झरेको छ।

काठमाडौं, धनगढी, धरान जस्तो ठाउँमा स्वतन्त्र उम्मेदवारले लिड गरिराख्नुभएको छ। त्यसको अर्थ र संकेत के हो भनेर विश्लेषण गर्नु आवश्यक छ। सामान्य निष्कर्षमा जनताले दलभन्दा स्वतन्त्रलाई रोज्न थाले भन्ने नै हो। आकर्षणको कारण के हो? उहाँहरूको क्षमता र मूल धाराका दलको आलोचना र टिप्पणीको कारणले हो भन्ने नै लाग्छ। पार्टीभित्र पनि आन्तरिक समस्या पनि देखिएका छन्। केही ठाउँमा अन्तर्घातको कुरा पनि आएको छ‚ हामी छलफलमा छौँ। 

एमालेको चाहना गठबन्धन टुटाेस् भन्ने थियो। अहिले गठबन्धनमा पनि समस्या देखिएको छ। ओलीले भनेजस्तै टुट्ने अवस्थामा पुगेको हो? 

यसबारे मैले भन्न सक्दिनँ। नेपालको राजनीतिमा मौसमजस्तो पूर्वानुमान गर्न सकिँदैन। केही नेताको सत्ता नै अन्तिम सत्य हो। खास गरेर पार्टीहरू कम्युनिष्ट पार्टीको उदय र मूल धारको रुपमा स्थापनको लागि भएको हो।

कांग्रेसको विकल्पको रुपमा स्थापित पार्टीका केही घटक अहिले कांग्रेस नै पहिलो पार्टी बनाएर खुसीयाली मनाएर अबिरजात्रा गरिराख्नुभएको छ। आफूले जितेकोमा होइन कांग्रेसले जितेकामा गौरव गर्दै हुनुहुन्छ। कांग्रेसमा भएको विलयमा गठबन्धन के हुन्छ भन्ने सक्ने अवस्था छैन।

थोरै आफ्नो स्वाभिमान र संकल्प लिएर आफ्नो पार्टीलाई पहिलो पार्टी बनाएर त्यही एजेण्डामा देश हिँडाउने भन्ने उहाँहरुमा छैन। सत्ता नै अन्तिम गन्तव्य भएको गठबन्धनको पूर्वानुमान गर्नसक्ने अवस्था छैन। 

एमालेले राष्ट्रियसभा निर्वाचनमा पराजय बेहोर्‍याे। सबै मुख्यमन्त्री गए। त्यतिबेला वास्तविकता जनमतबाट परीक्षण हुन्छ भन्नुभएको थियो। तर अहिलेको नतिजाले त्यस्तो किन देखाएन? 

हामी निर्वाचनको बारेमा विश्लेषण गदैछौँ। सत्ताको चरम दुरुपयोगको बाबजुद एमालेलाई समाप्त पार्ने भन्नुभएको थियो। हामीले सोचेजस्तो नतिजा ल्याउन नसकेको कुरा सत्य हो।

तर अर्को सत्य नेपाली राजनीतिमा एमाले नै पहिलो शक्ति नै हो। गठबन्धन कायमै रहे के हुन्छ? हेर्दा जानुपर्छ। कम्युनिष्टका नाममा कांग्रेससँग आत्मसमर्पण गरेकाहरूसँगको गठबन्धन रहिरहे राष्ट्रिय राजनीति दुई कित्तामा जान्छ। त्यसमा एमाले एउटा हुन्छ। 

तपाईंंको पार्टी अध्यक्षले मैले चाहेमा ७ दिनभित्र गठबन्धन टुटाउन सक्छु भनि राख्नुभएको छ। त्यही अस्त्रको प्रयोग गर्ने बेला आएको हो? 

हामीलाई त्यसमा कुनै रुचि छैन। संगठन बनाएर जनताको जनादेशबाट सरकारमा जाने हाम्रो लक्ष्य हो। आजको दिनमा अहिलेको गठबन्धनभित्रका दलहरूलाई तपाईंहरू प्रधानमन्त्री बन्नुस् हामी बाहिरबाट समर्थन गरिदिन्छौँ भनेको अवस्थामा क्षणभरमै टुटाउन सक्छौँ। तर हामी यही ढंगको फोहोरी खेलमा लाग्दैनौँ। जनताको वितृष्णा बढ्दै जान्छ।

हाम्रो ध्यान अहिले त्यसभन्दा टाढा छ। हामी अब हुने संघको निर्वाचनको तयारीमा केन्द्रित हुन्छौँ। निर्वाचनमा प्राप्त गरेको उपलब्धिको जगमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने बाटोमा अगाडि बढ्छौँ। जनादेश मार्फत् सत्तामा आउने बाटोमा जान्छौँ। गठबन्धन यही ढंगले अगाडि बढे आफू वामपन्थी भनेर हिँड्नेहरूलाई जनताले देखाइदिन्छन्। 

एमालेबाट विभाजन भएर गएको एकीकृत समाजवादी गठबन्धनको नतिजाबाट सन्तुष्ट हुन सकेको छैन। उहाँहरूले सार्वजनिक रुपमा असन्तुष्टि राख्नु थालि सक्नुभएको छ। अब ओली र माधव नेपाल फेरि एकै ठाउँमा हुने सम्भावना छ? 

ओली र माधव नेपाल एकै ठाउँमा हुने कुनै सम्भावना छैन। उहाँहरूले एमाले र कम्युनिष्ट आन्दोलनमाथि जुन घात गर्नुभएको छ‚ त्यो घातको निम्ति अहिले उहाँहरुले भोग्नुभएको पीडा अपर्याप्त छ। उहाँहरुले अझै धेरै भोग्न बाँकी छ। उहाँहरूसँग गएका कार्यकर्ताहरु यो निर्वाचनपछि धेरै फर्किनुहुन्छ। स्वागत गछौँ। तर नेतृत्वसँग सम्भावना छैन। 

उसो भए माओवादी केन्द्रसँग सम्भावना छ? 

माओवादी केन्द्रसँग तीन वर्ष सहकार्य गरेका थियौँ। एमाले र माओवादी फरक अस्तित्व, पृष्ठभूमिबाट आएका हौँ। फरक धारका शक्तिहरूको सहकार्य र  प्रतिस्पर्धा फरक खालको हुन्छ। ‘इस्युवाइज’ हुनपनि सक्छ। माधव नेपालहरू भनेको एमालेलाई कमजोर पार्न प्रयोग हुनुभएको पात्र हो। उहाँहरूसँग सहकार्यको सम्भावना छैन।

प्रचण्डजीहरू कसरी आउनुहुन्छ? भन्नेमा फरक पर्छ। यदि उहाँहरु नेपालको कम्युनिष्ट आन्दोलनलाई पहिलो शक्ति बनाउनुपर्छ भनेर कम्युनिष्ट पार्टीले देशको नेतृत्व गर्नुपर्छ भनेर आउनुभएको कुनै दिनमा सहकार्य हुनसक्छ। कांग्रेसलाई शिरमा राखेर कांग्रेसको विजयमा कांग्रेसभन्दा खुसी भएर गठबन्धन बलियो बनाउँछु भनेर लाग्नुहुन्छ। त्यसको तात्पर्य अबको बाटो कांग्रेसको साथबाट प्राप्त हुन्छ।

सरकारमा जाने सत्ताको लाभ लिनेभन्दा अरु केही छैन। उहाँहरुमा कम्युनिष्ट आन्दोलनप्रति ध्यान छैन। उहाँहरुले कांग्रेसबाट परिर्वतन सम्भव छैन भनेर बुझ्नुपर्ने हो। उहाँहरुलाई सत्ताको खेलमा अगाडि सारेर हामी खेल्ने वाला छैनौँ। संविधान जारी भएपछि माओवादी र एमालेसँग सहकार्य भयो। अन्तिममा प्रचण्ड कांग्रेससँग मिल्न जानुभयो। भरतपुरमा छोरी जिताउनुभयो।

कांग्रेससँग सहकार्य भइरहेको बेलामा एमालेसम्म पार्टी एकतासम्मको प्रस्तावमा आइपुग्नुभयो। आज कांग्रेससँगको मेलमिलापमा हुनुहुन्छ। अब अचानक एमालेसँग मिल्छु भनेर आउनुभयो भने त्यो जस्तो अवसरवादी केही हुन सक्दैन। उहाँहरुले सच्चिएर आउनुभयो भने सोच्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.