तोक्योमा हुने क्वाड सम्मेलनमा नरेन्द्र मोदीको पनि सहभागिता

|
एन्ड्र्युज संयुक्त सैन्य अखडाबाट गत बुधबार ह्वाइटहाउस फर्किएका अमेरिकी राष्ट्रपति जो बाइडेन। तस्वीर सौजन्यः रोयटर्स

चारदिने एशिया भ्रमणमा आज निस्किएका अमेरिकी राष्ट्रपति जो बाइडेन दक्षिण कोरिया पुगेका छन्। राष्ट्रपति निर्वाचित भएपछि यो उनको पहिलो एशिया भ्रमण हो।

रुसले युक्रेनमा गरेको युद्धका समयमा उनको यो भ्रमण खासगरी क्षेत्रीय सहयोग विस्तारका साथै विश्वमा प्रभुत्व बढाउँदै गएको चीनविरुद्ध एशियाका विभिन्न देशलाई एकजुट पार्नु रहेको बेलायती समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

उनी राजधानी सोलको दक्षिणमा रहेको अमेरिकी वायुसैनिक अखडा ओसानमा अवतरण गरेका थिए। ओसानमा नै उनको स्वागत दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति यून सुक(योलले गरेका थिए। योलले एक साताअघि मात्र राष्ट्रपतिको कार्यभार सम्हालेका हुन्।

दक्षिण कोरियामा अवतरणलगत्तै बाइडेनले सामसङ इलेक्ट्रोनिक्स कम्पनीको भ्रमण गरेका थिए। दुवै राष्ट्रपतिले सामसडको सेमिकन्डक्टर कारखाना घुमेर अवलोकन गरेका थिए। ह्वाइट हाउसका अनुसार सामसङले १७ अर्ब अमेरिकी डलरको लागतमा अमेरिकी राज्य टेक्ससको टेलरमा यस्तै कारखाना स्थापना गर्नेछ।

अमेरिकी राष्ट्रपति बाइडेनको ‘इन्डो-प्यासिफिक इकोनोमिक फ्रेमवर्क (आइपिइएफ) को पहिलो सदस्य दक्षिण कोरिया हुने अनुमान गरिएको छ। आइपिइएफबारे बाइडेनको दक्षिण कोरियाको भ्रमणमा घोषणा गरिने अपेक्षा छ। श्रम‚ वातावरण र आपूर्ति शृंखलासम्बन्धी आइपिइएफका मापदण्डहरू पनि यही भ्रमणमा घोषणा गरिनेछ।

जापान सागरमा जापान(अमेरिका संयुक्त अभ्यासमा अन्य युद्धपोतहरूसँग सामेल लडाकु विमानवाहक अमेरिकी युद्धपोत युएसएस अब्राहम लिंकन। तस्वीर सौजन्यः सिएनएन

सवारीसाधन निर्माता दक्षिण कोरियाली कम्पनी ह्युन्डाईले पनि अमेरिकामा विद्युतीय सवारीसाधन उत्पादन कारखाना खोल्ने योजनामा रहेको छ। यसबारे पनि बाइडेनको दक्षिण कोरिया भ्रमणकै क्रममा घोषणा हुनसक्ने अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

दक्षिण कोरियामा करिब ३० हजार अमेरिकी सैनिक तैनाथ छन्। तीमध्ये केही सैनिकलाई बाइडेनले आफ्नो भ्रमणका क्रममा भेट्ने बताइएको छ। यसैगरि जापानमा करिब ५५ हजार अमेरिकी सैनिक छन्। 

बाइडेनले पहिलो भ्रमण दक्षिण कोरिया गर्नुले कोरियाली प्रायःद्विपलाई अमेरिकाले फेरि प्रमुखता दिएको संकेत गरेको अमेरिकी संस्था सिआइए (सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी) का पूर्व विश्लेषक सू किमले बताएको रोयटर्सले उल्लेख गरेको छ।

यस वर्ष अहिलेसम्मकै सर्वाधिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाले बाइडेनको दक्षिण कोरिया भ्रमणताका नै अर्को परीक्षण गर्नसक्ने आशंका पनि व्यक्त गरिएको छ। परीक्षण गरेर उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिनेछ भने दक्षिण कोरिया र अमेरिकालाई अझ नजिक्याउने धारणा विश्लेषक किमको छ।

यस्तो छ बाइडेनको भ्रमण तालिका

उनी दक्षिण कोरियामा शुक्रबारदेखि रहनेछन्। उनले दक्षिण कोरियाली राष्ट्रपति यूनसँग द्विपक्षीय बैठक र पत्रकार सम्मेलन गर्नेछन्। उनले अमेरिकी र दक्षिण कोरियाली सेनाको संयुक्त सैन्य अभ्यासको निरीक्षण गर्ने बताइएको छ।

आगामी आइतबार उनी दक्षिण कोरियाबाट जापान जानेछन्। त्यहाँ उनले जापानका प्रधानमन्त्री फुमिओ किसिदासँग भेटवार्ता गर्नेछन्। उनले जापानका सम्राट नारुहितोसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि किसिदा र उनले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्।

बाइडेनले उनको नयाँ अवधारणा ‘आइपिइएफ’ बारे सोमबार जापानको राजधानी तोक्योमा जापानी प्रधानमन्त्री किसिदाको उपस्थितिमा घोषणा गर्ने बताइएको छ। यो घोषणामा आइपिइएफमा सहभागी अन्य राष्ट्रका प्रतिनिधि पनि भर्चुअल तवरबाट उपस्थित हुने ह्वाइटहाउसले जानकारी दिएको छ।

विश्लेषकहरू तथा कूटनीतिज्ञहरूका अनुसार कम्तिमा पनि अस्ट्रेलिया‚ जापान‚ न्युजिल्यान्ड‚ दक्षिण कोरिया‚ फिलिपिन्स र सिंगापुर आइपिइएफमा सामेल हुने र समझदारीमा हस्ताक्षर गर्ने अनुमान गरेका छन्।

यसपछि जापानले मंगलबार आयोजना गर्ने क्वाड (क्युयुएडी) सम्मेलनमा बाइडेन सहभागी हुनेछन्। क्वाडमा जापान‚ अमेरिका‚ भारत र अस्ट्रेलिया रहेका छन्। सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियामा शनिबारको चुनावबाट निर्वाचित हुने नयाँ प्रधानमन्त्री पनि सहभागी हुनेछन्।

सम्मेलनको पार्श्वमा बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाली प्रधानमन्त्रीसँग द्विपक्षीय बैठक गर्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.