|

काठमाडौं : यौन हिंसापीडित एक युवतीको भिडियो भाइरल भएपछि यतिवेला सामाजिक संजालमा एउटा तरंग आएको छ। उक्त केसमा विभिन्न सेलिब्रेटीहरूले पनि आफ्नो प्रतिक्रिया दिन थालेका छन्। 

निर्माता तथा अभिनेत्री पूजा शर्माले पनि सामाजिक सञ्जालमार्फत आफू पीडित युवतीको साथमा रहेको बताएकी छन्। हिंस्रकले सजाय पाउनुपर्ने जनाउँदै उनले भनेकी छन्, 'यो एक जना पीडितमाथि मात्र होइन सम्पूर्ण मानवतामाथिको आक्रमण हो। उनी डरका बाबजुद पनि कडा रुपमा प्रस्तुत भइन्। तिमी पाइला चाल, हामी तिम्रो साथमा छौँ।' 

पूजाको समर्थन गर्दै उनको पोस्टमा प्रतिक्रिया दिने जति छन् उनको कुरामा विश्वास नगर्नेहरू पनि त्यति नै छन्। यसअघि सार्वजनिक भएको अभिनेता पल शाह र नाबालिग गायिकाको केसमा शुरुदेखि नै आरोपित पलको रक्षाका लागि उत्रिएका कारण पूजालाई विश्वास नगरेको बुझिएको छ। 

अहिले पीडित युवतीको पक्षमा बोलिरहेकी पूजा यसअघिको केसमा पीडित गायिकाको विरुद्धमा बोलेकोमा धेरैले असन्तुष्टि व्यक्त गरेका छन्। पूजालाई अपरिपक्व, चेतनाको अभाव भएकी नाम मात्रकी सेलिब्रेटी भन्ने आरोप पनि लगाइएको छ। पूजाको बचाउमा बोल्नेहरू पनि छन्। जसले यो केस र अघिल्लो केस फरक रहेको बताएका छन्। 

पीडित युवतीको समर्थन र न्यायका लागि सामाजिक सञ्जालमा कलाकार, लेखक, सामाजिक अभियन्ता तथा विदेशबाट पनि पोस्टहरू भइरहेका छन्। साथै देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ। पीडितको पक्षमा बोल्नेहरूले कानुन सच्याएर भए पनि अपराधीले सजाय पाउनुपर्ने र पीडितले न्याय पाउनुपर्ने माग राखेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.