|

पर्वत : २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनबाट केही बढी युवाहरू जिल्लाका विभिन्न स्थानीय तहको निर्वाचनमा पुगेका छन्। दलीय राजनीतिभन्दा केही माथि उठेर मतदाताले पनि युवाहरूलाई निर्वाचित गरेका हुन्। 

राजनीतिक संस्कारको विकास, समानुपातिक समृद्धि, युवाहरूको मागको सम्बोधन लगायतका कुरामा आम नागरिकले युवा जनप्रतिनिधिबाट आशा गरेका छन्।

नेतृत्वमा पुगेका युवा जनप्रतिनिधिहरूले पनि आफूहरू भर्खरै निर्वाचित भएको र अब विज्ञहरूको सुझावको आधारमा चुनावी घोषणापत्र अनुसारको कामहरूको थालनी गर्ने बताएका छन्। त्यसमा पनि जनप्रतिनिधि भइसकेपछि गर्ने पहिलो काम के हो? भन्नेबारेमा थाहाखबरले जिल्लाका केही युवा नेतृत्वहरूसँग कुराकानी गरेको छ। 

त्यस क्रममा उनीहरूले बिद्युत् नभएका घरमा उज्यालो बनाउनेदेखि शैक्षिक बेरोजगारीको समस्या हल गर्नेसम्मका योजनाहरू उल्लेख गरेका छन्। 

जिल्लाको पैयुँ गाउँपालिकाका अध्यक्षमा ३३ वर्षिय तोरण मल्ल ठकुरी निर्वाचित भएका छन्। बर्खा याममा वर्षाका कारण अवरोध हुने सडकका कारण नागरिकले दुःख पाएकाले आउँदै गरेको बर्खा याममा यसको सही व्यवस्थापन गरी पहिलो कामको थालनी गर्ने उनको योजना छ। 

सबै ठाउँमा सडकको विस्तार भए पनि सडक बिग्रिँदा खाद्यान्न ओसारपसार, सरकारी निकायमा आउजाउ, स्वास्थ्य संस्थामा पुग्नुपर्ने अवस्था लगायतका समस्या हुने भएकोले पूर्वाधार निर्माण अन्तर्गतको यो कामलाई प्राथमिकतामा राखेको उनको भनाइ छ।

‘पूर्वाधारका कारण नागरिकले दुःख पाउनुपरेको छ। धेरै ठुलो योजनाभन्दा पनि नागरिकले सजिलो भएको महसुस गर्ने काम पहिले गर्नुपर्छ। सडक जीवनको आधार बनेको छ फेरि गरिहाल्न सकिने काम पनि हो,’ उनले भने, ‘वडा कार्यालयको सेवालाई प्रभावकारी बनाउने, स्वास्थ्य र शिक्षामा गुणस्तर, हरेक नागरिकलाई उत्पादनसँग जोडेर बेरोजगारी समस्याको हल गर्ने कुरा पनि मेरो प्राथमिकतामा छन्।’

जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्य उमेरले ३७ वर्षका भएका छन्। उनले पहिलो प्राथमिकतामा कृषिलाई राखेका सुनाउँछन्। आफै पनि सफल कृषक भएका कारण उनले कृषि उत्पादनको निर्यातबाट नागरिकलाई समृद्धिको बाटोमा लैजाने सपना देखेका छन्। 

उच्च शिक्षा दिएकाहरू समेत बेरोजगारीमा अवस्थामा रहेकाले उनीहरूलाई पनि उत्पादनमा जोड्नुपर्ने र त्यसो गर्दा बेरोजगारी समस्या हट्ने उनको भनाइ छ।

‘धेरै पढेका मान्छेले काम नगर्ने तर जागिर पाइएन भन्ने प्रवृत्ति बढेको छ। त्यसको समाधानको लागि हरेक व्यक्ति कृषि कर्ममा जोडिएको हुनुपर्छ। कृषि प्रधान देशमा कृषि नै नगरेपछि त बेरोजगारी समस्या आइहाल्छ,’ उनले भने, ‘कृषिसँगै शिक्षा र स्वास्थ्यलाई प्रभावकारी बनाउनु आवश्यक छ। गुणस्तरीय शिक्षाको खोजीमा रित्ता बनेका गाउँहरूलाई भरिभराउ पारेर सबैलाई व्यवसायमा जोडन गाउँको शिक्षा र स्वास्थ्यमा पनि गुणस्तर कायम गर्नुपर्छ।’ 

तरकारी र सुन्तला उत्पादनमा जिल्लामै अब्बल मानिएको जलजलाका कृषि बाहेक अन्य सम्भावनाहरू रहेको र आफूले सम्भावनाको प्राथमिकताको आधारमा योजनालाई प्राथमिकता दिने उनको योजना छ।

मोदी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका ३१ वर्षिय विमल लामिछानेले भने पहिलो काम शैक्षिक गुणस्तर कायम गर्नु रहेको बताउँछन्। शैक्षिक प्रमाणपत्र पाए पनि शैक्षिक चेतनाको स्तर कमजोर रहँदा सामाजिक समस्याहरू हल नभएको उनको ठहर छ। शिक्षाले दिने चेतनाले नै मान्छेलाई असल, परिश्रमी, इमानदार र कर्मठ बनाउने भएका कारण व्यवहारिक परिवर्तन गराउन सक्ने गरी शिक्षा क्षेत्रमा परिवर्तन चाहिएको लामिछाने बताउँछन्। 

‘हातमा प्रमाणपत्र भए पनि मान्छेमा व्यवहारिक परिवर्तन आएको छैन, यही कारण नै बेरोजगारीदेखि कुकर्मसम्मका कामहरू समाजमा भइरहेका छन्। मान्छेलाई काउन्सिलिङ गर्ने काम शिक्षाको हो। व्यवहारिक शिक्षाबिना सामाजिक परिवर्तन हुँदैन’ उनी भन्छन्, ‘मोदी गाउँपालिकाको टिम शिक्षालाई प्राथमिकतामा राखेर गुणस्तरीय स्वास्थ्य सेवा, कृषि उत्पादन, पूर्वाधार विकास लगायतका काममा प्रतिबद्ध छ। हामीले गरेका वाचा पूरा गर्नुपर्ने दायित्व छ।’

पैयुँ गाउँपालिका–५ को वडाध्यक्षमा २८ वर्षीय नारायण भुर्तेल निर्वाचित भएका छन्। सक्रिय पत्रकारितामा रहेका उनले एकाएक बाटो परिवर्तन गरेका छन्। पत्रकारितामा रहेको बेलामा पनि घरबार विहीनहरूलाई एकीकृत बस्ती निर्माणको अभियान चलाएर सफल भएका उनले अब पनि नागरिकका आधारभूत आवश्यकताको परिपूर्तिमा आफू प्रतिबद्ध रहेको उनको भनाइ छ। 

पहिलो काम के हुनेछ? भन्ने प्रश्नमा उनले केही घरमा विद्युतको पहुँच नै नभएका कारण २/४ दिन भित्रमा नै ती घरहरुमा उज्यालो पारेर कामको थालनी गर्ने योजनामा उनी छन्। 

‘धेरै ठुला कामका सपना किन बाँड्नु गाँस, बास र कपासमै समस्या भएकाहरूको कमी छैन। सुरुमा नै उनीहरूको उत्थानको लागि अभियान चलाउनु छ,’ भुर्तेल भन्छन्, ‘जिल्लाका सरकारी कार्यालय र गाउँपालिकामा आएको बजेट वडामा ल्याएर हरेक नागरिकलाई केही न केही काममा लगाएर आम्दानी गर्न सक्ने बनाउन पाए उनीहरूको जीविका सरल हुने थियो। ठुला काम त त्यसपछि गर्दै जाने हो। सुरुवात सामान्य कामबाट नै हुन्छ।’

उनीहरू केही साना उमेरका केही उदाहरणीय जनप्रतिनिधिहरू हुन्। यी बाहेक जलजला गाउँपालिकाको उपाध्यक्षमा ३६ वर्षिय दीपक आचार्य, मोदी गाउँपालिका-४ को वडाध्यक्षमा ३२ वर्षिय मोहनसिङ चोचाङ्गी, जलजला गाउँपालिका-९ को वडाध्यक्षमा ३७ वर्षिय गौ बहादुर पुर्जा, फलेवास नगरपालिका-४ को वडाध्यक्षमा ३३ वर्षिय अच्युत तिवारी, महाशीला गाउँपालिकाको उपाध्यक्षमा ३५ वर्षिया धनसुवा वि.क र पैयुँ गाउँपालिका-१ को वडाध्यक्षमा ३१ वर्षिय मीनप्रसाद न्यौपाने निर्वाचित भएका छन्। 

४० वर्षभन्दा कम उमेरका यी जनप्रतिनिधिहरू युवाहरू सहित बालबालिका र ज्येष्ठ नागरिकको पक्षमा उत्तिकै महत्त्व दिएर काम गर्नेमा नागरिक आशावादी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.