|

सुर्खेत : कर्णाली प्रदेशमा पूर्वमन्त्रीका श्रीमानसमेतले यसपटकको स्थानीय तहको निर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेका छन्। राज्‍य संयन्त्रको प्रभाव र शीर्ष नेताका आडमा टिकट लिनेहरूलाई जनताले पराजित गरेका हुन्। 

पूर्व-आर्थिक मामिला तथा योजनामन्त्री नरेश भण्डारीका बुबा हरिबहादुर भण्डारी पराजित भएका छन्। त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार दानबहादुर बुढाले १७७५ भोट ल्याएर नरेशका बुबालाई हराएका छन्। हरि भण्डारीले १६०४ भोट मात्रै ल्याए। 

कर्णालीका पूर्व भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं नेकपा ( माओवादी केन्द्र) कर्णाली प्रदेशका अध्यक्ष विमला केसीका श्रीमान् बसन्त शर्मा मुसिकोट नगरपालिका (रुकुम पश्चिम)को मेयर पदका उम्मेदवार थिए। त्यहाँ नेकपा एमाले र कांग्रेसको गठबन्धन रहेको थियो। केसीका श्रीमान् शर्मालाई कांग्रेसका केसीले जम्मा १३ मतान्तरले पराजित गरे। केसी ६ हजार ९१४ मतसहित विजयी हुँदा शर्माले ६ हजार ९०१ मत पाए।

माओवादीको वर्चश्व रहेको मुसिकोटमा कांग्रेस–एमालेको गठबन्धन थियो भने एकीकृत समाजवादी र माओवादी केन्द्रले तालमेल गरेका थिए। उपप्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार विमलकुमार पुन मगर ६ हजार १४० मतसहित विजयी भए। 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थलबहादुर ओलीले ५ हजार ९८५ मत ल्याएका छन्। कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीका छोरा पालिकाको मेयरमा निर्वाचित भएका छन्। यद्यपि, कर्णालीका दुई सुर्खेतको लेकवेशी नगरपालिकामा कर्णालीका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री सीता कुमारी नेपालीका श्रीमान् रामबहादुर चपाइँ पनि मेयरमा पराजित भएका छन्। 

लेकबेशीमा नेपाली कांग्रेसका उमेशकुमार पौडेल ६ हजार ६३९ मतसहित विजयी भएका छन् भने दोस्रोमा एमालेका देवबहादुर रानाले ६ हजार ३७४ मत प्राप्त गरे। तेस्रोमा माओवादीका रामबहादुर चपाइँले ८०४ मतमात्र प्राप्त गरे। 

लेकबेशीमा उपप्रमुखमा पनि माओवादीले स्थान लिन सकेन। यहाँ एमालेकी विमला खड्लुकले ६ हजार १०९ मतसहित जित हात पार्दा उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी देउकली थापा मगरले ५ हजार ४४० मत ल्याइन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्लाको खार्पुनाथ गाउँपालिका-५ मा आफ्ना छोरा भरतजङ्ग शाहीलाई टिकट दिएर जिताए। शाहीले नेकपा एमालेका केन्द्रराज शाहीलाई १९० मतान्तरले पराजित गरेका हुन्। कांग्रेसका शाहीले ४९२ मत प्राप्त गरे भने पराजित शाहीले ३०१ मत प्राप्त गरे।

यस्तै, वर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीका छोराले पनि मेयरमा जितेका छन्। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका कांग्रेस नेता शाहीका छोरा गणेशकुमार शाहीले एमालेका सूर्यबहादुर शाहीलाई ७८ मतान्तरले पराजित गरे। कांग्रेसका शाहीले ४ हजार ७० मत ल्याउँदा पराजित भएका शाहीले तीन हजार ९९२ मत पाए। 

माओवादी निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष पञ्चा सिंहका श्रीमान् केशबहादुर शाही (केशव)ले पञ्चपुरी गाउँपालिकामा पराजित भएका छन्। नगरप्रमुखमा कांग्रेसका लालविर भण्डारी ५ हजार ९०९ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धनबहादर थापाले ५ हजार ११८ मत ल्याए। 

यस्तै पञ्चा सिंहका श्रीमान केश बहादुर शाहीले २ हजार ११८ मतमात्रै प्राप्त गरे। यो पालिकाको उपमेयरमा कांग्रेसकी मुक्तिदेवी रेग्मी ६ हजार ९४ मतसहित निर्वाचित भएकी छन्। एमालेकी दुर्गा कुमारी जैसीले ५ हजार १६८ मत ल्याएकी छन्।

जाजरकोट जुनीचाँदे गाउँपालिकामा अघिल्लो पल्ट उपाध्यक्ष रहेकी शिवा आचार्य यो पटक अध्यक्षको उम्मेदवारबाट पराजित भइन्। उनी नेकपा ( माओवादी केन्द्र) केन्द्रीय सदस्यहरु रामदिप आचार्य र मायाप्रसाद शर्माकी नातिनी हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.