|

काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकका रूपमा नेपाल आएदेखि नै कुनै न कुनै रूपमा आफूलाई सधैँ समाचारको मुख्य विषय बनाउँदै आएका प्रशिक्षक अब्दुल्ला अल मुताइरी अब राष्ट्रिय टोलीको प्रशिक्षक रहनेछैनन्। यदि कुनै भवितव्य नभए उनी सम्भवतः एशिया कप छनोटपछि नेपालबाट औपचारिक बिदाइ हुनेछन्।

अल मुताइरीले पछिल्लोपटक नेपाल छाड्नुपर्ने अवस्थाका पछाडि १० खेलाडीसँगको सामान्य विषयलाई अतिरञ्जित गर्दाको परिणामका रूपमा लिन सकिन्छ। उनी आएसँगै नेपाली फुटबलमा फरक अपेक्षा र आशा सञ्चार गर्न सफल भए पनि निरन्तरको विवाद र अहंका कारण अल मुताइरी नेपाली राष्ट्रिय टोलीको जिम्मेवारीबाट मुक्त हुनुपर्ने भएको हो। 

एशिया कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूलाई जबरजस्ती क्याम्पबाट बाहिर पठाएपछि शुरु भएको खेलाडी प्रशिक्षक द्वन्द्वले नेपाली फुटबलले कहिले पनि नभोगेको फरक प्रसंगबाट गुज्रिनु पर्‍यो। अर्थात् खेलाडीले १२ महिना तलब नपाउँदा या पुरस्कारको राशि वर्षौं नपाउँदा विद्रोह गर्नुपरेको थिएन तर सामान्य 'डाइट'को विषयलाई प्रशिक्षक अल मुताइरीले 'इगो' बनाउँदा नेपाली फुटबल ऐतिहासिक संकटको भुमरीमा फस्यो।

१० खेलाडीले क्लोज क्याम्प छाडेसँगै अखिल नेपाल फुटबल संघमाथि निरन्तर प्रशिक्षकमाथि छानबिन गर्न दबाब पर्‍यो र अन्ततः एन्फाले भिक्टर शमेशर राणाको संयोजकत्वमा छानबिन समिति बनायो। सोही समितिको प्रतिवेदनअनुसार प्रशिक्षकलाई हटाउन सिफारिस गरिएको छ। 

मुख्य रूपमा प्रशिक्षकले एन्फा मातहतमा नरहेको र एकलौटी र स्वेच्छाचारी रूपमा कार्य गर्ने प्रवृत्ति बढेको हुँदा 'चेन अफ कमान्ड' अनुसार काम गर्न भनिएको छ। साथै उनले आफ्नो दायित्व बिर्सिएर व्यवस्थापनमा समेत हस्तक्षेप गरेको प्रतिवेदनमा भनिएको छ।

'एकैपटक ९ जना खेलाडी क्याम्प छाडेर जानुमा मुख्य प्रशिक्षक, व्यवस्थापक तथा एन्फा सचिवालयका पनि अवश्य केही त्रुटि छन्। मुख्य प्रशिक्षकको स्वास्थ्य स्थितिले गर्दा उत्तेजक र तनावमा देखिनु, स्वास्थ्य परीक्षणका लागि बिदा स्वीकृत रहेको अवस्था, फरक सामाजिक र सांस्कृतिक परिवेश, बारम्बार विवाद तथा सामाजिक सञ्जालमा अनावश्यक टीकाटिप्पणी जस्ता क्रियाकलापले गर्दा राष्ट्रिय टिममा स्वच्छ वातावरण नभएको देखिन्छ। यस्तो अवस्थामा भविष्यमा अरू समस्या उब्जने प्रबल सम्भावनालाई समेत नकार्न सकिँदैन। तसर्थ एशिया कप छनौट प्रतियोगितापछि कतार एफएसँगको सहयोगलाई निरन्तरता र सहमति कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरिन्छ।‘ उनलाई हटाउन उल्लेख गरिएको विषयमा प्रतिवेदनमा भनिएको छ।

यसको अर्थ अब प्रतिवेदन कार्यान्वयन भएको अवस्थामा मुख्य प्रशिक्षक अल मुताइरी एशिया कप छनोटपछि नेपाल फर्किनेछैनन्।

अवसर र चुनौती

खेलाडीसँगको विवादलाई तत्कालीन अर्थमा प्रशिक्षकसँगको 'इगो'का रूपमा हेरिए पनि उनीमाथि धेरै खाले प्रश्न सतहमा आएका छन्। एन्फाका एक पदाधिकारी भन्छन्‚ 'एशिया कप छनोटमा खेलाडी क्लोज क्याम्प हुँदा नै उनले नेपाल एशिया कप खेल्ने स्तरको टोली नभएको र पछि खेलाडीसँग सामान्य विवादमा महत्त्वपूर्ण १० खेलाडीलाई बाहिर राख्ने कार्यले शंका उत्पन्न गराएको छ।

नेपाललाई कमजोर बनाएर अन्य देशलाई आफू अनुकूल नतिजा दिलाउने अल मुताइरीको भूमिका त छैन? भन्ने प्रश्न मुख्य हो।'

त्यसो त विवादबाट बाहिरिएका १० खेलाडीलाई त घोषित टोलीमा बोलाएनन् नै तर विवादबाट बाहिर रहेका कप्तान किरण चेम्जोङलाई समेत टोलीमा सामेल नगर्दा अल मुताइरीले नेपालले जुनसुकै टोलीलाई नतिजामा असर पार्ने क्षमतालाई नै कमजोर बनाइदिएको र अरबी टोलीहरूलाई खेलअघि नै जिताइदिने प्रयास गरेको भन्ने आरोपलाई थप मलजल पुगेको छ। त्यसैले एशिया कप छनोटमा अब अल मुताइरीले बलियो नतिजा दिनुपर्ने चुनौती रहेको छ।

साथै १० खेलाडीमाथिको आफूले गरेको अनुशासनको कारबाही सही थियो भन्ने प्रमाणित गर्नुपर्ने चुनौती एकातिर रहँदा सकारात्मक नतिजा ल्याएर आफू सही र खेलाडी गलत रहेको सन्देश दिने अवसर पनि उनी सामु छ।

यसको अर्थ एशिया कपमा उनले गर्ने प्रदर्शनले उनलाई 'हिरो' हुने अवसर बाँकी नै छाड्दा खराब नतिजाले उनीमाथिका तमाम आशंकालाई थप मलजल गर्नेछ भने नेपाली फुटबलमा उनले गरेको यो कारबाही साँच्चिकै गलत थियो भन्ने भाष्य स्थापित हुनेछ। त्यसैले एशिया कप छनोटका लागि अल मुताइरीका लागि एक अवसरका रूपमा जति छ त्योसँगै चुनौती पनि उत्तिकै छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.