|

हेटौंडा : शुक्रबार हेटौंडा उपमहानगरपालिकाको स्थानीय निर्वाचन–२०७९ सकिएको छ। निर्वाचनबाट हेटौंडाले नयाँ जनप्रतिनिधि मात्रै पाएन, एउटा नयाँ इतिहास पनि कोरयो। २०४८ सालपछि लगातार एमालेको कब्जामा रहँदै आएको हेटौंडाको नेतृत्व यो निर्वाचनबाट एमालेको कुब्जामुक्त हुँदै अन्य दलको पोल्टामा पुगेको छ।

अहिलेको निर्वाचनले हेटौंडालाई पहिलोपटक महिला मेयर दिनुका साथै नेपाली कांग्रेसलाई पनि पहिलोपटक हेटौंडाको नेतृत्व गर्ने स्थानमा पुर्‍याएको छ। हेटौंडाको मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)की मीनाकुमारी लामा र उपमेयरमा कांग्रेसका राजेश बानियाँ निर्वाचित भए। यो निर्वाचनले हेटौंडाको राजनीतिलाई तरंगित बनाइदिएको छ।

अनपेक्षित रूपमा मतगणनाको क्रममा हेटौंडाको नेतृत्व लिन एक सातासम्म चलेको प्रतिस्पर्धाले हेटौंडाको राजनीतिलाई नयाँ मोडमा लगेर उभ्याइदिएको छ। नेकपा एमालेजस्तो बलियो पार्टी र पाँचदलीय गठबन्धनको बीचमा राप्रपा एक्लैले ल्याएको मतले निर्वाचन अवधिभर हेटौंडालाई तरंगित बनायो। राप्रपाले तीन दशकदेखि हेटौंडामा राज गर्दै आएको एमालेलाई मात्रै होइन कतिपटक पाँच दलीय गठबन्धनलाई समेत पछि पार्दै प्रतिस्पर्धामा अघि बढ्यो। राप्रपाले यो निर्वाचनमा जित हात पार्न नसके पनि ठूला दललाई प्रतिस्पर्धा अवधिभर ढुकढुकी भने बढाइदियो। 

राजनीतिक वृत्तअनुसार राप्रपा सानो दल हो। कमल थापाले करिब तीन दशकदेखि राप्रपाबाट राजनीति गर्दै आएका थिए। लामो समयसम्म राप्रपाको अध्यक्षसमेत रहेर राजनीति गरेका थापा हेटौंडाका हुन्। २०४६ को बहुदलअघि राप्रपा मकवानपुरको पहिलो पार्टीको रूपमा रहेको थियो। त्यतिवेला मकवानपुरको राजनीतिमा थापा प्रभावशाली पनि मानिन्थे। बहुदल स्थापनापछि कम्युनिष्टहरूको प्रभाव बढ्दै जाँदा राप्रपा कमजोर बन्दै गयो। त्यसयता मकवानपुरमा राप्रपाले आफ्नो उपस्थिति खासै राम्रोसँग देखाउन सकेको थिएन।

राप्रपाका अध्यक्ष बनेर राजनीति गर्न थालेपछि थापा काठमाडौं केन्द्रित हुन थाले। जसका कारण उनको आफ्नै गृहजिल्लामै पार्टी कमजोर बन्दै गयो। अघिल्लो स्थानीय तहको निर्वाचनलाई हेर्दा राप्रपा मकवानपुरको चौथो पार्टी हो। एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी तेस्रो र राप्रपा चौथो पार्टी बनेका थिए। मकवानपुरमा रहेको दलहरूमध्ये थापा सबैभन्दा उच्च पदस्थ नेता भए पनि उनले आफ्नै जिल्लामा कुनै पनि पदमा पार्टीलाई विजयी गराउन सकेनन्।

केही समयअघि भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि थापाले राप्रपा नै त्यागे र राप्रपा नेपाललाई पुनर्जीवित गराए। पुरानो पार्टी राप्रपा नेपाललाई पुनर्जीवित गराएका उनले आफ्नै गृहजिल्लामा पनि यो स्थानीय तहमा उम्मेदवार खडा नै गर्न सकेनन्। थापाले नेकपा एमालेलाई समर्थन गरेका वेला उनले छोडेको राप्रपा भने हेटौंडाको प्रतिस्पर्धामा राम्रोसँग उभियो।

२०४८ पछि कमजोर बन्दै गएको राप्रपाले थापा पार्टीबाट विलिन भएको अवस्थामा एक्लै उनकै गृहनगरमा कडा प्रतिस्पर्धा मात्रै गरेन, लोकप्रिय मत पनि पायो। थापाको समर्थनमा रहेको एमाले र पाँचदलीय गठबन्धनको घेराबन्दीमा राप्रपाले पाएको मतले अर्को निर्वाचनका लागि ठूला दलहरूलाई चुनौती पनि दिएको छ। थापाको नेतृत्वमा रहँदा अघिल्लो निर्वाचनको मत र अहिले उनी पार्टीबाट बाहिर हुँदा पाएको मतले थापालाई नै चुनौती दिएको छ। 

यो स्थानीय निर्वाचनमा राप्रपाबाट हेटौंडाको मेयरमा दीपकबहादुर सिंह र उपमेयरमा इन्दिरा डल्लाकोटी न्यौपाने उम्मेदवार बनेका थिए। सिंह व्यवसायी हुन्। उनलाई धनाढ्य व्यक्तिको रूपमा चिनिन्छ। राजा ज्ञानेन्द्रले २०६१ सालमा उनलाई जिविस सभापति मनोनीत गरेका थिए। त्यो बाहेक सिंहले अरू कुनै निर्वाचित पदमा काम गरेका थिएनन्। खासै हेटौंडामा नदेखिने उनी यो निर्वाचनमा उम्मेदवारी दिन पनि हतार हतार आइपुगेका थिए।

सिंह मनोनयन दर्ता गर्ने दिनसम्म काठमाडौंमै थिए। उम्मेदवारी दर्ताको दोस्रो दिन वैशाख १२ गते प्लेनबाट सिमरामा उर्लिएका उनी ४ बजे हेटौंडा आइपुगेर उम्मेदवारी दिन पुगेका थिए। सिंहले उम्मेदवारी दिएसँगै उनलाई गठबन्धनको मत काट्न कांग्रेसको असन्तुष्ट पक्षले ल्याएको भन्नेसम्मको चर्चा चल्यो।

एमालेले त उनको उम्मेदवारीसँगै गठबन्धन आफ्नो प्रतिस्पर्धी बन्न नसक्ने बरु राप्रपासँग आफ्नो प्रतिस्पर्धा हुने बतायो। कांग्रेसमा समाजवादीलाई मेयर दिएको विषयमा धेरै असन्तुष्ट पक्ष पनि थिए। त्यसैले सिंहको उम्मेदवारीले गठबन्धनको उम्मेदवार लामालाई हराउन सक्ने डर सत्ता गठबन्धनमा थियो भने एमाले गठबन्धन कमजोर हुने र आफू अगाडि बढ्न सक्ने खुशीमा थियो तर निर्वाचनको मतगणनाको समयमा नतिजा उल्टो आयो। सिंहले कसैले पनि अपेक्षा नै नगरेको मत ल्याउँदै कडा प्रतिस्पर्धा गरे। 

उनले एमाले र गठबन्धनको उम्मेदवारलाई पछि पार्दै धेरै पटक पहिलो स्थानको मत पाए। राप्रपा नेपालको समर्थनमा उभिएको एमालेले २० हजार ९०८ र पाँचदलीय गठबन्धनले २३ हजार ६७ मत पाउँदै विजयी हुँदा उनले एक्लै २० हजार ३१ मत प्राप्त गरे। ठूला दलहरू गठबन्धन नै गरेर चुनावी अभियानमा होमिदा पनि सानो दलबाट उम्मेदवार बनेका सिंह एक्लैलै पाएको यो मत ‘पपुलर’ हो। उनले एक्लै यति धेरै मत पाउनुका पछि केही कारण छन्। 

पहिलो कारण
सिंह हेटौंडाका पुराना मान्छेहरूका लागि परिचित छन्। व्यावसायिक व्यक्तित्व बनाएका उनले व्यवसायकै कारण पनि धेरैतिर परिचय बनाएका छन्। खासै राजनीति नगरेको भए पनि उनको व्यवसायका कारण ‘दीपक सिंह’ हेटौंडामा परिचित नाम बनेको हो। पछिल्लो युवापुस्तामा त्यति परिचित नभए पनि उनी हेटौंडाको कुनाकाप्चासम्म रहेका पुराना मान्छेहरूका लागि नयाँ व्यक्ति होइनन्। त्यसैले उनले विशेषगरी ज्येष्ठ मतदाताहरूबाट मत बटुल्न सकेको देखिन्छ। पछिल्लो समय ठूला दलहरूप्रतिको वितृष्णाका कारण राप्रपाप्रति युवाहरूको पनि मोह बढ्दै गएको देखिन्छ। जसले गर्दा उनलाई युवापुस्ताले पनि मत दिएको देखिन्छ। 

दोस्रो कारण
सिंहले ‘पपुलर’ मत पाउन सक्नुको दोस्रो कारण कमल थापा नै हुन्। थापाको पार्टी राप्रपा नेपालले एमालेलाई समर्थन गरेको भए पनि गृहनगरमा नै उम्मेदवार खडा गर्न नसक्दा त्यताको मत पनि सिंहले पाएका छन्। राप्रपा छोडेर थापासँगै राप्रपा नेपालमा गएकाहरूले पनि आफ्नो उम्मेदवार नहुँदा एमालेलाई छोडेर सिंहलाई मत हालेको देखिन्छ। 

तेस्रो कारण
तेस्रो र मुख्य कारण सिंहले पाएको सबै मत राप्रपाको सांगठनिक मत होइन। ठूला दल र गठबन्धनलाई टक्कर दिने गरी सिंहले ‘पपुलर’ मत पाइरहँदा उनीसँगै राप्रपाबाट उपमेयरको उम्मेदवार बनेकी इन्दिरा डल्लाकोटी न्यौपानेले राम्रो मत पाउन सकिनन्। उनीहरूबीचको मतान्तरमा ठूलो खाल्डो रहेको छ।

सिंहले २० हजार ३१ मत पाउँदा न्यौपानेले पाँच हजार ८८७ मत मात्रै पाएकी छन्। यसैबाट सिंहले राप्रपाको सांगठनिक मत मात्रै नपाएको पुष्टि हुन्छ। यसो भनिरहँदा उनले यत्रो मत कहाँबाट पाए भन्ने प्रश्न उठ्छ। उनले पाएको अधिकांश मत नेकपा एमाले र गठबन्धनबाट आएको देखिन्छ। गठबन्धन र एमालेको असन्तुष्ट पक्षले सिंहलाई मत दिएको आँकलन गर्न सकिन्छ।

मतगणनाको क्रममा मतपत्र हेर्दा सबै मत एमालेको उम्मेदवारलाई जाँदा मेयरको एक मत राप्रपाको सिंहलाई गएको देखिन्छ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका एमाले नेता डोरमणि पौडेलको वडा, एमालेबाट मेयर बनेका पौडेलको आफ्नै वडाबाट समेत एमालेको मत राप्रपाका सिंहलाई गएको छ। ती वडाहरूबाट मेयरमा सबैभन्दा धेरै मत सिंहले पाएका छन्।

त्यसैगरी अधिकांश मत गठबन्धनको उम्मेदवारलाई गइरहँदा मेयरको मत गठबन्धनबाट पनि सिंहलाई गएको देखिन्छ। गठबन्धनको पनि विशेषगरी नेपाली कांग्रेसबाट उनले धेरै मत पाएका छन्। गठबन्धनबाट उपमेयरका उम्मेदवार बनेका राजेश बानियाँले ३२ हजार ५९३ मत पाउँदा मेयरमा मीना लामाले २३ हजार ६७ मत मात्रै पाएकी छन्। यी दुईबीचको मतान्तर हेर्दा नै कांग्रेस असन्तुष्ट पक्षले सिंहलाई मत दिएको पुष्टि हुन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.