|

सल्यान : स्थानीयले बन्द गरेको कपुरकोट–तुलसीपुर सडकखण्ड शनिबार बेलुकीबाट खुलेको छ।

ट्रिपरको ठक्करबाट सल्यान कपुरकोटका एक युवकको मृत्यु भएपछि स्थानीयले शनिबार बिहानदेखि राप्ती राजमार्ग अन्तर्गत कपुरकोट तुलसीपुर सडकखण्ड अवरुद्ध गरेका थिए।

ट्रिपर सञ्चालन गर्ने घोराही सिमेन्टका जिम्मेवार व्यक्तिहरु सम्पर्कमा आएपछि सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिइएको तर पीडितको माग सम्बोधन नभएसम्म ट्रिपर चल्न नदिइने बन्दकर्ताहरुले जनाएका छन्।

दाङको तुलसीपुरमा प्रशासनको समन्वयमा पीडित पक्ष र सिमेन्ट प्रालि बीच छलफल चलिरहेको बताइएको छ। सिमेन्ट प्रालिका पब्लिक रिलेसन म्यानेजर अमर सुवेदी लगायतसँग छलफल चलिरहेको पीडित पक्षको तर्फबाट छलफलमा सहभागी रुपक बुढाले जानकारी दिए।

घटना भएको तीन दिनसम्म पनि घोराही सिमेन्ट कम्पनी र जलजला यातायात प्रालिका जिम्मेवार व्यक्ति सम्पर्कमा नआएको भन्दै कपुरकोटमा क्रियाशील राजनीतिक दलहरुले विज्ञप्ति जारी गर्दै शनिबार विहान १० बजेदेखि सडक अवरुद्ध गरेका थिए।

दाङको तुलसीपुर ४ हर्नेटीमा बिहीबार साँझ ६ बजेतिर ट्रिपरको ठक्करबाट गम्भीर घाइते कपुरकोट गाउँपालिका वडा नम्बर –३ का १८ वर्षीय आकाश सेनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा निधन भएको थियो।

बिहीबार साँझ कपुरकोटबाट तुलसीपुरतर्फ जाँदै गर्दा रा १ प ३१७९ नम्बर मोटरसाइकलमा सवार सेनलाई रा १ ख ११२३ नम्बरको ट्रिपरले ओभरटेक गर्ने क्रममा तुलसीपुर ४ हर्नेटीमा ठक्कर दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.