|

काठमाडौं : धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपमेयरमा नेकपा (एमाले) का कन्दकला राना विजयी भएका छन्।

हमालले गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार नृपबहादुर वडलाई १२ हजार ४८ मतान्तरले पराजित गरी मेयरमा जित निकाले। हमालले २६ हजार ८६५ मत प्राप्त गरे। पराजित वडले १४ हजार ८१७ मत प्राप्त गरे। यसअघि, २०७४ को निर्वाचनमा स्वतन्त्रबाटै चुनाव लडेका  हमाललाई पराजित गरेर वड मेयरमा निर्वाचित भएका थिए।  यसैगरी, नेकपा एमालेबाट मेयरका उम्मेदवार रणबहादुर चन्दले नौ हजार ११५ मत प्राप्त गरे।

यस्तै, उपमेयरमा विजयी हुनु भएका रानाले १५ हजार ४७९ मत प्राप्त गरिन्। उनले गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्र का उम्मेदवार शान्ति अधिकारीलाई दुई हजार ८०९ मतान्तरले पराजित गरिन्। पराजित भएकी अधिकारीले १२ हजार ६७० मत प्राप्त गरिन्। गठबन्धनको विरोध गर्दै नेपाली काङ्ग्रेसका नेता प्रभाकर भण्डारीले स्वतन्त्रबाट उपमेयरमा उम्मेदवारी दिएका थिए।  त्यसको फाइदा नेकपा एमालेका उम्मेदवारलाई भएको छ। भण्डारीले छ हजार ६०९ मत प्राप्त गरे।

धनगढी उपमहानगरपालिकामा कुल ९३ हजार १५१ मतदाता रहेकोमा ६३ हजार ७१५ (६८.४० प्रतिशत) मत खसेको थियो। १९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकाको ११ वटा वडा अध्यक्षमा नेपाली काङ्ग्रेस, छ वटा वडामा नेकपा एमाले र दुई वटा वडामा नेकपा माओवादी केन्द्रले वडा अध्यक्ष जितेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.