|

पर्सा : देशभरको परिणाम अनुसार स्थानीय तहको निर्वाचनमा दोस्रो पार्टीमा दरिएको एमाले, पर्साको सन्दर्भमा भने पहिलो पार्टी बनेको छ।

पर्साका १४ पालिका मध्ये पाँच वटा पालिकाको नेतृत्व हात पार्दै एमाले पहिलो पार्टी बनेको हो।

वीरगन्ज महानगरपालिका वाहेक अरु १३ वटा पालिकाको मत परिणाम सार्वजनिक भइसक्दा एमालेले पाँच वटा पालिकाको नेतृत्व हात पारिसकेको छ। वीरगन्ज महानगरपालिकाको मत परिणाम अनुसार गठबन्धन दलका उमेदवार जसपाका नेता राजेशमान सिंहलाई एमालेका विजय कुमार सरावगीले नै पच्छ्याई रहेका छन्।

गठबन्धनका सिंह १५ हजार मत अन्तरले अगाडि भएपछि वीरगन्ज महानगरमा चाहीँ एमाले पहिलो स्थानमा पुग्न सक्ने संकेत करिब–करिब सकिए जस्तो देखिन्छ।

देशका अधिकांश पालिकामा साविकका नेतृत्वकर्ताहरुले हार खेपेको अवस्थामा भारतसँग जोडिएको पर्साको छिपहरमाई गाउँपालिकाको अध्यक्षमा भने एमालेले पुनः मनोज गुप्तालाई निर्वाचित गराउन सफल भएकाे हाे।

पार्टीलाई पनि पर्सामा नै एक नम्बर बनाउन सकेको पछिल्लो मत परिणामले पुष्टि गरेको छ। त्यसै गरी जसपाका प्रदिप जैसवालले २०७४ को निर्वाचनमा नेतृत्व गरेको पर्साको सखुवा प्रसौनी गाउँपालिकामा पनि एमालेका युवा नेता यशवन्त यादव विजयी भएर एमालेको पर्सामा सानदार उपस्थिति देखाएको एमाले पर्साका इन्चार्ज प्रभु हजाराले बताए।

नेतृत्वमा नपुगेका जिल्लाका चार पालिकामा पनि एमाले नै दोस्रो नम्बरमा रहेको देखिएको छ। यसले पनि आगामी दिनमा एमालेले आफ्नो अवस्थालाई थप सुधार गर्दै जानेमा आफूहरु ढुक्क भएको उनको तर्क छ।

एमालेले नेतृत्व लिएका पालिकाहरुमा पनि तीन नगरपालिका मध्ये दोस्रो सदरमुकामका रुपमा रहेको पोखरिया नगरपालिका र पर्सागढी नगरपालिका साथै चर्चित गाउँपालिका ठोरी, छिपहरमाई र सखुवाप्रसौनीको नेतृत्व हत्याउँदै एमालेले पाँच पालिकाको नेतृत्व सुरक्षित गरेको हो।

बहुदरमाई नगरपालिका र वीरगन्ज महानगरपालिकामा पनि पहिलो हुन नसके पनि दोस्रो स्थानमा अरु पार्टीलाई आउन नदिई मधेश आन्दोलनको इपिसेन्टर पर्सामा एमाले पहिलो पार्टी बनेको एमालेका स्थानीय नेताहरुको दावी छ।

जसपाले महानगरको मत परिणाममा फराकिलो अग्रता बनाइरहेको र निर्वाचित हुने प्रष्ट संकेत देखाइरहेको समयमा पर्साका अरु ३ पालिकामा उसले पनि जित सुनिश्चित गरिसकेको छ। महानगर जित्दा जसपा पनि पर्सामा चार पालिका जित्दै कांग्रेस समान चारचार पालिकाको नेतृत्व गर्ने पार्टीका रुपमा दरिने छ।

पालिका स्तरको नेतृत्वकर्ता दलको उपस्थितिले कांग्रेस पनि पर्सामा दोस्रो पार्टीकै रुपमा दरिएको हो। लोसपाले भने पर्साको विन्दवासीनी गाउँपालिकाको नेतृत्व हात पार्दै आफ्नो दलगत उपस्थितिमा कान्छो पार्टी बनेको निर्वाचन परिणामले देखाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.