|

सुर्खेत ः कर्णालीका प्रदेशका १० जिल्लामा स्थानीय तहकाे निर्वाचन सकिए लगत्तै निर्वाचित भएका जनप्रतिनिधिहरूका थरी थरीका घोषणाहरू सार्वजनिक हुन थालेका छन्। वडाध्यक्ष देखि मेयर सम्मका जनप्रतिनिधिले वृद्धभत्ता आफैँ बाँड्न जाने देखि मृत्यु संस्कारमा खर्चको जोहो गर्नेसम्मका घोषणाहरू सार्वजनिक गरेका छन्।

सपथपछि पहिलो पटक पदभार ग्रहण गर्दा उनीहरुले विभिन्न घोषणा गरिरहेका छन्। कर्णालीका सबै जिल्लाका स्थानीय तहमा नतिजा आइसकेको छ। सपथ ग्रहणको कामसँगै पदभारको काम समेत तीव्र रुपमा चलिरहेको छ। ८० पालिकाका जनप्रतिनिधिहरुले सुरुमा घोषणाको कामलाई प्राथमिकता दिएको देखिन्छ।

चुनाव लड्दा समेत विभिन्न एजेण्डाहरु उठाएर चुनावमा अन्य उम्मेदवार भन्दा बढी प्रभाव राख्नका लागि विभिन्न घोषणा गरिएका थिए। कतिपयले तिनै एजेन्डालाई अहिले चुनाव जितेपछि पद भारसँगै पहिलो घोषणा गर्न थालेका छन्।

केही जनप्रतिनिधिहरु पदभार ग्रहणको सिलसिलामा रहेका छन्। रुकुम पश्चिम चौरजहारी नगरपालिकाबाट पहिलो पटक बादी समुदायको तर्फबाट मेयर बनेका पुष्प बादीले स्वास्थ्य बीमा र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने भन्दै पहिलो घोषणा गरेका छन्।

बादीले नगरभित्रका असहाय, अशक्त, सहिद परिवार र बादी समुदायको निःशुल्क बीमा गराइदिने निर्णय गरेका हुन्। पदभार ग्रहणसँगै बादीले नगरभित्रका विपन्न नागरिकको स्वास्थ्य उपचारमा सघाउन भन्दै यो निर्णयमा हस्ताक्षर गरी पदभार ग्रहण गरे। यसका साथै नगरभित्रका सुत्केरीका लागि एम्बुलेन्स सेवा पनि निःशुल्क हुने भएको छ।

पदभार ग्रहणका क्रममा ३ वटा निर्णयमा हस्ताक्षर गरेका बादीले सुत्केरीका लागि स्वास्थ्य संस्था पुर्‍याउने र सुत्केरी भइसकेपछि स्वास्थ्य संस्थाबाट घरसम्म पुर्‍याउने सेवा निःशुल्क हुने छ।

यस्तै एक परिवारलाई आर्थिक सहायताको निर्णय पनि उनले गरेका छन्। ६ नम्बर वडाको एक परिवारलाई १० हजार आर्थिक सहायता गर्ने उनले निर्णय गरेका हुन्। यसैबीच आगलागीका कारण मृत्यु भएकी १९ दिने शिशु सुशीला रोकायको परिवारलाई १० हजार आर्थिक सहायता गर्ने गरी नगरप्रमुख बादीले हस्ताक्षर गरेका हुन्।

त्यस्तै जाजरकोट छेडागाड नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख रत्न बहादुर खड्काले राज्यबाट प्राप्त हुने सेवा सुविधा नलिने घोषणा गरेका छन्। पदभार ग्रहण गर्दै प्रमुख खड्काले राज्यबाट प्रदान हुने तलब भत्ता आफूले नलिने घोषणा गरेका हुन्।

आफूले प्राप्त गर्ने तलब भत्ताबाट कोष स्थापना गरी गरिब, अनाथ पिछडिएका र द्वन्द्वपीडित बालबालिकालाई सहयोग गर्ने बताए। उनले भने,‘ मैले राज्यबाट प्राप्त हुने सेवा सुविधा नलिई गरिब तथा विपन्न बालबालिकाहरूमा लगानी गर्नेछु। एउटा कोषको स्थापना गरी उनीहरुलाई सहयोग गर्नेछु।’

अघिल्लो निर्वाचनमा निवर्तमान प्रमुख लालबहादुर महतारासँग पराजित खड्काले यस पटकको स्थानीय तहको निर्वाचनमा गठबन्धन दल (नेपाली कांग्रेस)बाट उम्मेदवार बनेका थिए। ९ हजार १ सय ७३ मत ल्याएर खड्काले निवर्तमान महतारालाई पराजित गरेका थिए।

दैलेखको नारायण नगरपालिका वडा नम्बर–१ का नवनिर्वाचित वडाध्यक्ष सन्देश कुमार श्रेष्ठले वडामा कोही नागरिकको मृत्यु भए मृतकको परिवारलाई १५ हजार रुपैयाँ दिने निर्णय गरेका छन्।

निर्णय सम्बन्धी पत्र सार्वजनिक भएपछि उनको कतिपयले आलोचना पनि गरेका छन्। नेपाली कांग्रेसबाट ३७८ मत ल्याएर निर्वाचित बनेका श्रेष्ठले भने निर्णयको बचाउ गरे। उनीहरुको परिवारमा कोही व्यक्ति मरेको खण्डमा काजक्रिया गर्ने बेलामा पैसा हुँदैन। बाहिर अहिले वकालत गर्ने बेलामा उच्छृङ्खल तरिकाले गरेपनि त्यही पैसाले ठूलो राहत पुग्ला भन्ने हेतुले मैले त्यो निर्णय गरेको उनको भनाइ छ।

उनले सामाजिक सञ्जालमा आफूमाथि भएका टिप्पणीप्रति कुनै सरोकार नभएको बताए। उनले भने, 'वर्षमा कम्तीमा ५/१० वटै व्यक्तिहरुको निधन होला, मैले गरेको निर्णयका आधारमा त्यो किसिमको रकम वडामा दिन नमिल्ने भए वा पालिकाले नदिने भएपनि मेरो पारिश्रमिकले पुग्छ। पारिश्रमिकबाट भएपनि दिन्छु।’

त्यस्तै जाजरकोट शिवालय गाउँपालिकाकी उपाध्यक्ष गीता शाहीले वृद्धभत्ता गाउँ/गाउँ गएर वितरण गर्ने र न्याय लिन पालिकामा आएका महिलालाई सुरक्षित आवास ,खाना र बस्नको लागि व्यवस्था गर्ने बताएकी छिन्। २४ बर्षीया कान्छी उपाध्यक्ष शाहीले यो पहिलो घोषणा गरेकी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.