|

काठमाडौं : देशभरका पालिकाका धमाधम नयाँ जनप्रतिनिधि निर्वाचित भइरहँदा २ वटा पालिकामा भने मतगणनासमेत शुरु हुन सकेको छैन। मतदानपछि भएका विवादले बाजुराको बुढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना शुरु हुन नसकेको हो।

मतदान स्थगित भएका स्थानमा पनि गत शुक्रबारसम्ममा निर्वाचन भइसकेको निर्वाचन आयोगले जनाएको छ। तर बुढीगंगा र त्रियुगामा वैशाख ३० गते नै मतदान भएपनि मतगणना हुन नसकेको हो। मतदानका दिन खसेका मतको मुचुल्का तयार गरि मतगणना स्थलमा ल्याइसकिएको आयोगले जनाएको छ।

बाजुराको बुढीगंगा नगरपालिकामा शुरु भएको मतगणना नेपाली कांग्रेसले पुनः मतदानको माग गर्दै निवेदन दिएपछि रोकिएको थियो। पालिकाका अधिकांश मतदान केन्द्रमा नेकपा एमालेका कार्यकर्ताले कांग्रेसका उम्मेदवार र प्रतिनिधिहरूलाई आक्रमण गरी घाइते बनाउने, मतदान केन्द्रबाट लखेट्ने, थुनछेक गर्ने र मतदान केन्द्र आफ्ना कार्यकर्ताको नियन्त्रणमा राखी बुथ कब्जा गरी फर्जी मत हालेको कांग्रेसको आरोप छ।

बुढीगंगाका १० वडामध्ये २, ३, ४, ५, ७ र ९ नम्बरमा रहेका मतदान केन्द्रमा अत्यधिक विवाद छ। मतदान स्थलमा झडप शुरु भएपछि मतदान गर्न लामबद्ध मतदाताको भागाभाग भएको थियो। एमालेले यथास्थितिमा मतगणना हुनुपर्ने अडान राखेको छ भने कांग्रेसले पुनः मतदानको माग गरिरहेको छ। 

गत वैशाख ३० गते दिउँसो ४ बजेदेखि नै प्राविधिक कारण देखाउँदै स्थगित गरिएको त्रियुगा नगरपालिका-१२ स्थित जनप्रेमी स्कुल मतदान केन्द्रको मतदान प्रक्रियाबारे अझै अन्योल छ। मतदान गर्न लाइनमा बसेका मतदातालाई दिउँसो मतदान अधिकृतले वर्षा र विभिन्न प्राविधिक कारण देखाउँदै मतदान स्थगित गरेका थिए। सो समयमा पुनः उपयुक्त समयमा मतदान हुने भन्दै मतदातालाई फकाईएको थियो। तर त्यस क्षेत्रका मतदाताले अहिलेसम्म मतदान गर्न पाएका छैनन्।

३ हजार २६७ मतदाता रहेको त्रियुगा–१२ मा वैशाख ३० गते दिनको २ बजेसम्ममा १ हजार ६०० मात्र मतदान भएको थियो। मतदान अधिकृतको लापरवाही तथा कर्मचारीको लापरबाहीका कारण मतदान गर्ने/गराउने कार्य ढिलाइ हुँदा आफूहरुले मतदान गर्नबाट समेत वञ्चित हुन परेको मतदाताको गुनासो छ।

यी दुवै स्थानमा एक पक्षले नयाँ मतदान गराउनुपर्ने र अर्को पक्षले भएकै मतदानको गणना गर्नुपर्छ भन्दै उजुरी दिएका कारण त्यहाँको मत परिणाम सार्वजनिक हुन नसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार आयोगले यस विषयमा छलफल गरिरहेको छ।

पुनः मतदान गर्ने वा भएकै मत गन्ने भन्ने आधिकारीक निर्णय भइसकेको छैन। यी पालिकामा आयोगले छिट्टै निकास दिने प्रवक्ता पौडेलले बताए। आइतबार साँझ सम्ममा ७१३ स्थानीय तहमा ३३ हजार ८३८ जना जनप्रतिनिधि दोस्रो कार्यकालका लागि निर्वाचित भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.