|

दैलेख : दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रीता शाहीको कार्यकक्षमा नागरिकले तमसुक राखेका छन्।

स्थानीय तह निर्वाचन अघि त्यहाँका सचेत नागरिकले उम्मेदवारहरूलाई गराएको जनकरार पत्र अर्थात् ‘तमसुक’ गाउँपालिका अध्यक्ष शाहीको कार्य कक्षमा राखेका हुन्।

स्थानीय तहमा गरिने विभिन्न विकासे कामहरू पारदर्शी तरिकाले गर्ने जनकरार पत्रमा उल्लेख गरिए अनुसार काम नगरे पदबाट राजीनामा दिने लगायतका बुँदाहरू रहेको तमसुकमा एमाले, कांग्रेस, माओवादी केन्द्र र उन्नत लोकतान्त्रिक पार्टीबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेकाहरूले चुनाव अघि जनकरार पत्र अर्थात ‘तमसुक’मा सहीछाप लगाएका थिए।

गाउँपालिका अध्यक्ष रीता शाहीले भैरवीको समग्र विकासका लागि आफूले एक रुपैयाँ पनि घुस नखाने, जनतामाझ गरेको करारनामा अनुसार कामको योजना निर्माण गर्दै काम गर्ने र काम गर्न नसकेको खण्डमा पदबाट राजीनामा दिने बताइन्।

समाजमा सुशासन हराउँदै गएको भ्रष्टाचार बढेको स्थानीय तहको विकासमा नागरिकको समस्या समाधान भन्दा आफन्त र उपभोक्ता समितिमा आफ्ना मान्छे बनाउने र विभिन्न बहानामा प्रभावकारी काम नहुने जस्ता समस्याहरू समाधान गर्न जनकरार पत्रमा सही छाप गराइएको स्थानीयले बताए।

निर्वाचित जनप्रतिनिधिहरू नागरिकप्रति जवाफदेही बनाउनका लागि निर्वाचन अघि सहीछाप सहितको जनकरार पत्र गाउँपालिका अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा राखिएको स्थानीय युवा प्रशान्त शर्माले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.