|

महोत्तरी : स्थानीय तहको निर्वाचनमा जिल्लाका सात जनप्रतिनिधि दोस्रो कार्यकालका लागि चुनिएका छन्।

लोहारपट्टी, भङ्गाहा र मटिहानी नगरपालिकाका प्रमुख दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। त्यसैगरी औरही, बलवा र लोहारपट्टिका उपप्रमुख र एकडारा गाउँपालिकाका उपाध्यक्ष पनि दोस्रोपटक निर्वाचित भएका हुन्।

लोहारपट्टीका प्रमुख शैलेन्द्र यादव र उपप्रमुख सरिता शर्मा दुवै कांग्रेसका हुन्। त्यसैगरी भङ्गाहा र मटिहानीका प्रमुख सञ्जीवकुमार साह र हरिप्रसाद मण्डल लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट निर्वाचित भएका हुन्। २०७४ को स्थानीय तह निर्वाचनमा दुवै तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट निर्वाचित भएका थिए।

यस्तै औरही र बलवा नगरपालिकाका उपप्रमुख रेणु झा र रेखाकुमारी लोसपाबाट नै निर्वाचित भएका हुन्। २०७४ मा उनीहरू पनि तत्कालीन तमलोपाबाट निर्वाचित भएका थिए।

२०७४ मा तत्कालीन तमलोपाबाट एकडारा गाउँपालिकामा उपाध्यक्ष निर्वाचित महजवी खातुन भने यसपालि जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भइन्।

दोहोरिने आकांक्षा राख्ने यसअघिका १० प्रमुख\अध्यक्ष यो पटक पराजित भए। उपप्रमुख\उपाध्यक्षमा एक कार्यकाल बिताइसकेका सात जना पनि चुनाव जित्न असफल भए। जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहका प्रमुख\अध्यक्ष र उपप्रमुख\उपाध्यक्षसमेत निर्वाचित हुने ३० सङ्ख्यामा २३ जना नयाँ अनुहार हुन्।

निर्वाचितमा दलगत प्रतिनिधित्व हेरिँदा प्रमुख\अध्यक्ष पदमा पाँच\पाँच  जसपा र लोसपाले पाएका छन्। त्यसैगरी कांग्रेसले दुई,  एमाले र तमलोपाले एक\एक र अर्को एक स्वतन्त्र उम्मेदवार जितेका छन्। 

यसैगरी उपप्रमुख\उपाध्यक्षमा जसपा छ, लोसपा चार, कांग्रेस तीन, एमाले एक र स्वतन्त्र एक निर्वाचित भएका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाका  १३८ वडाका अध्यक्षमा सबैभन्दा बढी कांग्रेसले ३६ मा जित हात पारेको छ । जसपा र लोसपाले क्रमशः ३१ र ३० पाएका छन् । एमालेले १८,  माओवादी केन्द्रले १३, तमलोपा र जनमत पार्टी दुई÷दुई एवं नेकपा एकीकृत समाजवादीले एक वडामा जित हात पारेका छन्। स्वतन्त्र निर्वाचित वडाध्यक्षको संख्या पाँच छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.