डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा पराजित भएका माओवादी केन्द्रका नेता शेरसिंह माल ‘डायमण्ड’ ले घरदैलो अभियान थालेका छन्। मतदाताहरूलाई धन्यवाद दिन डायमण्डले घरदैलो अभियान थालेका हुन्।
३० वैशाखमा सम्पन्न भएको स्थानीय तह चुनावमा उनी नेपाली कांग्रेसका भरत बडायर जोशीसँग १ सय ३६ को झिनो मतान्तरले पराजित भएका थिए।
मेयरमा निर्वाचित जोशीले ५ हजार ९४१ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी डायमण्डले ५ हजार ८०५ मत पाएका थिए। चुनावमा हारजित स्वाभाविक प्रक्रिया भएकाले आफूले प्रत्येक वडामा पुगेर मतदाताहरूलाई धन्यवाद दिन थालेको उनको भनाइ छ।
उनले परशुराम–५ परिगाउँ, वडा -६ कुडा र वडा -१ बोडा पुगेर मतदाताहरूलाई धन्यवाद दिएका छन्। १२ वटा वडा रहेको परशुराममा माओवादी केन्द्रले उपमेयरसहित बहुमत ७ वडा जितेको छ।
यहाँ नेपाली कांग्रेसले मेयरसहित ५ वटा वडामा जित हात पारेको छ। एमालेको भने यहाँ पत्तासाफ भएको छ। एमाले २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा २ वटा वडा जितेको थियो।
जसमा वडा–७ र ११ हुन्। ७ मा केशव बोहरा र ११ मा मानबहादुर महरा विजयी भएका थिए। यसपटक वडा–७ को अध्यक्षमा माओवादी केन्द्र र ११ मा नेपाली कांग्रेस विजयी भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।