|

धनगढी : सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा नवनिर्वाचित मेयर गोपाल हमालले धनगढीको पञ्चवर्षीय आवधिक योजना निर्माण सम्बन्धी प्रस्ताव सदर गर्दै पदभार सम्हालेका छन्।

उनले प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पेश गरेको फाइलमा हस्ताक्षर गर्दै सो निर्णय गरेका हुन्। 

हमाल समक्ष प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले पेश गरेको प्रस्तावमा अगामी आर्थिक वर्ष २०७९/८० देखि २०८३/८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना बनाइ कार्यान्वयनमा लैजाने उल्लेख छ।

निर्णय पुस्तिकामा भनिएको छ, ‘स्थानीय सञ्चालन ऐन २०७४ मा भएको व्यवस्थालाई दृष्टिगत गर्न आवश्यक प्रक्रियागत कानून चालु आर्थिक वर्षमा अगाडि बढाउन र यसको लागि बजेट विनियोजन भैसकेकोले सो कार्य गर्नु मनासिवदेखि आवश्यक निर्णयार्थ पेस गरेको छु।’

पदभार ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिंदै मेयर हमालले धनगढीको विकासका लागि योजनाबद्ध रूपमा काम थाल्ने उद्देश्यले पहिलो पञ्चवर्षीय आवधिक योजना बनाएर अगाडि बढ्ने बताएका छन्।

जनतासँग यस्तो आग्रह

यस्तै नवनिर्वाचित मेयर हमालले उद्घाटन तथा स्वागत सम्मान जस्ता काममा आफूलाई नअल्झाउन जनतालाई आग्रह गरेका छन्। धनगढीवासीले चुनावबाटै सम्मानजनक मत दिइसकेकाले अब काम गर्ने वातावरण सिर्जना गरिदिन उनले फेसबुकमार्फत आग्रह गरेका हुन्।

उनले लेखेका छन्, ‘यहाँहरुको अमूल्य मतबाट धनगढीको अभिभावकको जिम्मेवारीमा पुगाइ सकेपछि अब मैले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्न मेरो सम्पूर्ण समय आजैदेखि लगाउने भएको हुँदा कृपया धनगढीवासी र यहाँका संघसंस्थाहरुलाई अति आवश्यक काम बाहेक उद्घाटन, सभा सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाइ मलाई जनताको काम गर्ने वातावरण बनाइ सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.