|

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले आसन्न निर्वाचनका लागि पुनः अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। शेर्पाले ६ असारमा हुने केन्द्रीय निर्वाचनका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

कर्माले सोमबार पत्रकार सम्मेलन गर्दै थापाले फुटबल विकासका लागि नीतिगत काम धेरै भएको बताए। उनले भने‚ ‘चार वर्षमा सोचेजति काम पूरा भएन तर कोभिडको यो महामारीमा पनि हामीले धेरै काम गर्‍यौं।’

उनले आफ्ना पूर्व सहकर्मीहरूलाई ब्यंग्य गर्दै फुटबल विकासका लागि केही गर्न नसक्नेहरूले घर चलाउने हुँकार गरेको आरोप लगाए। शेर्पाले भने‚ ‘फुटबल विकासका लागि उहाँहरूले के गर्नु भयो? फुटबललाई घर चलाउने माध्यम बनाउने काम गर्न हुन्न।’

कर्मा ४ वर्षअघि अत्यधिक बहुमतसहित एन्फाको अध्यक्ष निर्वाचित भएका थिए। तर यो ४ वर्षमा एन्फाको निर्वाचित नेतृत्व एकीकृत भएर काम गर्न असफल हुँदा एन्फा नयाँ रण मैदान बन्न पुगेको थियो।

कर्माले आफ्नो प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा कुमार केसी,  उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठलाई राखेका छन्। सदस्यमा दिपक थापा, प्रवीण यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरूङ, रामराजा गुरूङ, टीका लामा, प्रदेश सिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ, रमेश ब्यन्जनकार, मणिराज विष्ट र मनिष जोशीले उम्मेदवारी घोषणा गरेका छन्। महिला सदस्यमा सर्वसम्मतको प्रयास भइरहेको महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए।

एन्फाको आसन्न निर्वाचनका लागि शुक्रबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया शुरु गरेको छ। यसअघि नै एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले अध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्। पंकजको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले उम्मेदवारीको घोषणा गरेका थिए।

एन्फा चुनावमा ८७ प्रतिनिधिले मतदान गर्नेछन्। दुवै पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.