​उपमेयरमा एमाले हावी हुँदा एकीकृत समाजवादीको असन्तुष्टि

|

काठमाडौं : वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम आउने क्रम जारी छ। निर्वाचनमा दलहरुले ठुलो अपेक्षा गरेको भए पनि कुनै पनि दलहरुले सोचे अनुसारको मत परिणाम ल्याउन सकेका छैनन्।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा गठबन्धन गरेर चुनावमा होमिएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) पनि राप्रपा, राप्रपा नेपालदेखि नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सँगसमेत चुनावी तालमेलमा थियो। 

तर ओलीविरुद्वमा गठित ५ दलीय गठबन्धनले पनि सोचेजस्तो परिणाम पाउन सकेको छैन। पाँच दलीय गठबन्धनलाई हराउन कतै एमाले एक्लै काफी बनेको छ भने कतै स्वतन्त्र उम्मेदवारले गठबन्धन र एमाले उम्मेदवारलाई पराजित गरिदिएका छन्। 
 
काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन्। धरान र धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार नै बाजी मार्दा जनकपुरधाम उपमहानगरमा पनि स्वतन्त्र उम्मेदवार नै जितकाे बाटाेमा छन्।

काठमाडौंमा मत गणना सुरु भएदेखि हालसम्म अगाडि रहेका बालेनलाई गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। तर, हालसम्मको नतिजालाई हेर्दा बालेनको जितको जित सुनिश्चित देखिन्छ।  

यस्तै, धरान उपमहानगरमा पनि हर्कराज राई साम्पाङ, धनगढीमा गोपाल हमालले बाजी मारिसकेका छन् भने जनकपुरधाममा मनोजकुमार साह सुडी अगाडि छन्। धरान र धनगढीमा जित्ने स्वतन्त्र नै भएपनि जनकपुरमा अगाडि लागेका सुडी कांग्रेसका बागी उम्मेदवार हुन्। 

ललितपुर, भरतपुर, पोखरा र वीरगञ्ज महानगरमा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ। काठमाडौंबाहेक पाँच दलीय गठबन्धनबाट प्रमुख पदमा गठबन्धनकै साझा उम्मेदवारको अग्रता कायमै भएपनि उपप्रमुखमा भने सोचेअनुरुप परिणाम आएको छैन।

काठमाडौं, ललितपुर, पोखरा महानगरको उपप्रमुखमा गठबन्धनका उम्मेदवार एमालेभन्दा पछाडि छन्।  विराटनगर महानगरको उपप्रमुखमा एमालेले जित निकालिसकेको छ। भरतपुर र वीरगञ्ज महानगरमा भने प्रमुख र उपप्रमुख दुवैमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ। 

११ उपमहानगरमध्ये ९ वटाको नतिजा आइसकेको छ। जसमध्ये बाराको कलैया र दाङको घोराही उपमहानगरको प्रमुख र उपप्रमुख पाँच दलीय गठबन्धनलाई हराउँदै एमालेले जितेको छ।

इटहरी, जितपुरसिमरा, बुटवल र धनगढी उपमहानगरको उपप्रमुख पनि एमालेले नै बाजी मारिसकेको छ। यस्तै, दाङको तुल्सीपुर उपमहानगरमा मतगणना चलिरहँदा एमालेको अग्रता कायमै छ। 

सोचेअनुरुप मत परिणाम प्राप्त गर्न नसकेपछि गठबन्धनकै दलभित्रका नेताहरुले असन्तुष्टि व्यक्त गर्न थालिसकेका छन्। बुधबार मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले गठबन्धनमा आफूहरुलाई हेपेको भन्दै समीक्षा गर्ने सार्वजनिक रुपमा राखिसकेका छन्।
 
‘गठबन्धन सफल भयो’

तर, कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत गठबन्धन सफल भएको दाबी गर्छन्।  

उनी भन्छन्, ‘गठबन्धनबाट सन्तोषजनक  परिणाम आएको छ। कहीँ प्रमुख र उपप्रमुख आएको छैन भनेको जस्तो सबै हुँदैन। हामी लयमै छौँ। थोरै सयममा जटिलताको बीच हामी सफल भएका छौँ।’

गठबन्धन भएपछि मतदाता शिक्षा दिन नसक्दा ठुलो नोक्सानी भएको उनले बताए। 

‘गठबन्धनबाट आएको नतिजाप्रति माधवजीहरुले असन्तुष्टि राख्नुभएको छ। उहाँहरुको तलसम्म संगठन विस्तार भइसकेको अवस्था छैन। समग्रमा सबैलाई फाइदा नै भएको छ’ उनले भने, ‘हामीले केन्द्रीय समझदारीअनुसार तलसम्म गठबन्धन गरेका छैनौं। हामी पार्टीभित्र र गठबन्धनमा पनि समीक्षा गछौँ।’ 

पाँच दलीय गठबन्धन अब संघीय निर्वाचनसम्म जाने उनले बताए। ‘जोखिम र समस्याको बीच स्थानीय तहमा गठबन्धन गरेका थियौँ। थोरै ठाउँमा भए पनि त्यसको अनुभवबाट तालमेल गरेर जाने आधार तय भएको छ’ उनको भनाइ छ।  

त्यसो त माओवादी केन्द्रका नेता हरिबोल गजुरेल पनि गठबन्धन थोरै ठाउँमा भए पनि सफल नै भएको दाबी गर्छन्। 

‘गठबन्धन धेरै ठाउँमा हुनुपर्ने थियो। तर थोरै ठाउँमा भयो। गठबन्धन दलमा माथि भएको समझदारी तलसम्म हुन सकेन। त्यसले परिणाममा असर पर्यो’  उनले भने। 

स्थानीय तह निर्वाचनले ओली प्रवृत्तिलाई कमजोर पारेको दाबी उनले गरे। उनले राष्ट्रिय पार्टी भएपनि थोरै सिट आएपछि माधव नेपालहरुले उठाएको प्रश्न उठाउनु सामान्य भएको बताए। 

‘गठबन्धनभित्र मत बदर कहीँ जानीजानी गराइएको पनि पाएका छौँ। अर्को जनताले भोट हाल्न नजानेको कारणले समस्या भयो’  उनले भने, ‘गठबन्धनबारे छलफल गरेर प्रतिगमनको खतरा रहेसम्म गठबन्धन जान्छ।’ 

त्यसो त जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा सेटिङ गरेर लाभ लिएको आरोप लगाए। 

मंगलबारको प्रतिनिधिसभा बैठकपछि उनले भनेका थिए, ‘स्थानीय तहमा गरेको गठबन्धन सफल भएन। गठबन्धनभित्रका सिद्धान्त कुनै दलहरुले पनि पालना गरेनन्। कांग्रेस र माओवादीलाई उहाँहरुले अलिकति सेटिङ गर्नुभयो केही लाभ भयो। तर त्यो पनि उहाँहरु आपसमा तल मिलेजस्तो देखिएन।’

हालसम्मको मत परिणामअनुसार गठबन्धनबाट कांग्रेस पहिलो दल बनेको छ। एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेको छ। एकीकृत समाजवादीले भने सोचेजस्तो परिणाम ल्याउन सकेको छैन। समाजवादीले मात्रै नभएर जसपासहित मधेश केन्द्रित दलहरूको नतिजा पनि उत्साहजनक छैन। यसपटकको निर्वाचन जनताले पार्टी मात्रै नरहेर व्यक्ति हेरेको टिप्पणी हुन थालेको छ। 

एकीकृत समाजवादीको असन्तुष्टि 

निर्वाचनको परिणामले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी गठबन्धनप्रति असन्तुष्ट बनेको छ। निर्वाचनको हिसाबले आफूहरुलाई गठबन्धन फाइदाजनक नरहेको एकीकृत समाजवादीका नेता नेता जीवनराम श्रेष्ठ बताउँछन्। 

उनी भन्छन्, ‘गठबन्धनको जुन खालको निर्णय थियो। त्यो कार्यान्वय भएन। एकीकृत समाजवादीलाई जुन स्थान दिनुपर्ने थियो त्यो ठुला दलले दिएनन्। तर पनि हामी जुन उपलब्धि हासिल गरेका छौँ। जनताको साथ र आकर्षण भने निर्वाचनबाट देखिएका छौँ।’ 

एमालेबाट विद्रोह गरेर नयाँ कम्युनिष्ट पार्टी निर्माणको क्रममा जनताको साथ पाएकाले सन्तुष्ट भएको उनले बताए। गठबन्धनको बिषयमा निर्वाचनको पूर्ण परिणाम आएपछि पार्टी र गठबन्धनका दलबीच समीक्षा हुने उनले बताए। 

उनले भने, ‘गठबन्धनबारे छलफलपछि आगामी दिनको दृष्टिकोण निर्माण हुन्छ। गठबन्धनको बीचमा सरकारमा निर्माण गर्दा समाजवादीले जुन भूमिका खेल्यो। अहिले कांग्रेस र माओवादीले आत्मसाथ गर्न सकेनन्। तल्लो तहसम्म फितलो देखियो। आफैले जित्नुपर्ने खालको भावना देखियो।’

गठबन्धन दलका बीचमा समिक्षा गरेर नयाँ ढंगबाट जाने आधार तयार गर्ने उनको भनाइ छ। गठबन्धनलाई व्यवस्थित र सन्तुलित नबनाएको अवस्थामा अहिलेको अवस्थामा पार्टीले पुर्नविचार गर्ने उनले बताए। 

‘राष्टिय आवश्यकताका लागि बनेको गठबन्धन भएकाले संघको निर्वाचनसम्म जानुपर्ने भूमिका निर्वाह गर्नु आवश्यकता छ। लोकतन्त्र र संविधानको रक्षा राजनीतिक स्थिरता र प्रतिगमनलाई रोक्न गठबन्धन सुदृढ गर्नुपर्छ।’

निर्वाचन जोडिएको बिषयमा छलफल गरेर उद्देश्य प्राप्तिको लागि व्यवस्थित गरेर जानुपर्ने उनको भनाइ छ। 

कहाँ कसले मारे बाजी? 

विराटनगर मेयरमा कांग्रेस, उपमेयरमा एमाले

विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी भए। कोइराला ३० हजार १ सय ७० मत ल्याएर जित निकाल्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागर कुमार थापाले २१ हजार ४ सय ५५ मत पाए।

महानगरपालिकाको उपमेयरमा एमालेकी शिल्पा कार्की २५ हजार ६ सय ८० मत ल्याएर विजयी हुँदा गठबन्धनको साझा उम्मेदवार जसपाको पाउँदा अमरेन्द्रले १४ हजार २ सय १९ मत पाए। विराटनगरमा सत्ता गठबन्धन रहेको थियो।

जसअनुसार कांग्रेसले मेयर र जसपाले उपमेयर पाएको थियो। जसमा गठबन्धन तोड्दै उपमेयर एमालेले जितेको छ। मेयरमा गठबन्धनका तर्फबाट कांग्रेसले जित निकाल्दा उपमेयरमा पराजित भएका अमरेन्द्र जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्।

उपमहानगर 

इटहरीमा कांग्रेस, उपप्रमुखमा एमाले

सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट कांग्रेसका हेमकर्ण पौडेलले बाजी मारे। उनले एमालेका यामकुमार सुब्बालाई ५ हजार १८ मतान्तरले पराजित गरे। पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी हुँदा सुब्बाले २८ हजार ३१ मत मात्र ल्याए।

मेयरमा गठबन्धन हावी भएपनि उपमेयरमा एमालेले नै बाजी मार्यो। गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका केशव कुमार विष्टलाई हराउँदै  एमालेकी संगीता कुमारी चौधरी विजय भइन्। चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याएर विजयी हुँदा विष्ट १४ हजार ४ सय ५ मतमै सीमित रहे। 

धरानमा स्वतन्त्र, उपमेयरमा माओवादी 

सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले जिते। सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राई र नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीलाई हराउँदै राई विजयी बने। 

हर्कराजले २० हजार ८ सय २१ मत प्राप्त गर्दा किशोरले १६ हजार ५९ मत पाए भने एमालेकी सुवेदीले १२ हजार ८२५ मत मात्रै प्राप्त गरिन्। उपमेयरमा भने गठबन्धनबाट माओवादीका आइन्द्रविक्रम बेघाले बाजी मारे। उनले २० हजार ५ सय १० मत प्राप्त गर्दा उनका निकटतम प्रत्यासी एमालेका पदमप्रसाद लिम्बुले १७ हजार ६ सय ६ मत पाए।

कलैयामा एमाले हावी 

बाराको कलैया उपमहानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनविरुद्ध एमाले हावी भएको छ। गठबन्धन उम्मेदवारलाई हराउँदै एमालेका विनोदप्रसाद साह र रौशन परविन निर्वाचित भए। 

प्रमुखमा साहले कांग्रेसका राजेशराय यादवलाई पराजित गरे। साहले २४ हजार १३९ मत प्राप्त गर्दा कांग्रेसका यादवले १८ हजार ५४० मत पाए। उपमेयरमा निर्वाचित परविनले १९ हजार २५१ मत प्राप्त गरिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका प्रमोदप्रसाद गुप्ताले १८ हजार ३०२ मत पाए। 

जितपुर सिमरामा माओवादी, उपप्रमुखमा एमाले

बाराको जितपुरसिमरा उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट माओवादीका राजन पौडेल १८ हजार ७ सय ४३ मत ल्याई विजयी भएका छन्। उनले नेकपा एमालेकी सरस्वती चौधरीलाई ९ सय ६४ मत प्राप्त गरिन्।

गठबन्धनको उपप्रमुखमा भने  गठबन्धनको उम्मेदवार मेघा शाहीलाई हराउँदै एमालेका भोला अधिकारीले जित हासिल गरे। अधिकारीले १७ हजार ४ सय ९२ मत प्राप्त गर्दा गठबन्धनका शाहीले १५ हजार ८ सय ४२ मत ल्याए। 

हेटौंडामा गठबन्धन

हेटौंडा उपमहानगरमा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी मीना कुमारी लामाले जितेकी छन्। लामाले २३ हजार ८० मत ल्याइन्। मेयरमा नेकपा एमालेका अनन्त प्रसाद पौडेलले २० हजार ९०८ मत ल्याए। यस्तै, राप्रपाका दिपक बहादुर सिंहले २० हजार ५३१ मत ल्याए। 

उपमेयरमा गठबन्धनबाटै नेपाली कांग्रेसका उम्मेदवार राजेश बानियाँ निर्वाचित भए। बाँनिया ३३ हजार ११४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेकी सुमित्रा काफ्लेले २४ हजार ३२८ मत ल्याइन्। उपमेयरमा राप्रपाकी इन्दिरा न्यौपानेले ५ हजार ५९७ मत ल्याइन्। 

बुटवलमा कांग्रेस, उपप्रमुखमा एमाले

बुटवल उपमहानगरमा गठबन्धनको तर्फबाट कांग्रेसका खेलराज पाण्डेय ३० हजार १३० मत ल्याएर विजयी भए। उनले निकटतम प्रतिद्वन्द्वी एमालेका बाबुराम भट्टराईलाई २२ हजार ५९७ मत ल्याए। 

उप्रमुखमा एमालेकी सावित्रादेवी अर्याल २४ हजार ९०४ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका चीनबहादुर गुरुङले १६ हजार ९८० मत मात्रै पाए। 

घोराहीमा एमालेको बाजी 

गठबन्धनलाई हराउँदै घोराही उपमहानगरको प्रमुख र उपप्रमुखमा एमाले बाजी मारेको छ। प्रमुखमा एमालेका नरुलाल चौधरी ३१ हजार ७ सय २८ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा पोखरेलले २६ हजार ३ सय ६८ मत प्राप्त गरे। 

उपप्रमुखमा एमालेकी हुमाकुमारी डिसी ३० हजार ४ सय ३ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३ सय ५४ मत प्राप्त गरे। 

नेपालगन्जमा गठबन्धन

बाँकेको नेपालगन्ज उमहानगरको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार जितेका छन्। मेयरमा गठबन्धनको तर्फबाट कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दीन राई निर्वाचित भए। 

मेयरमा निर्वाचित विष्टले २३ हजार ४ सय ६० मत प्राप्त गरे। निकटतम प्रतिस्पर्धी एमालेका पशुपति दयाल मिश्राले ११ हजार ६ सय ७५ मत प्राप्त गरेका छन्। उपमेयरमा निर्वाचित राईले १७ हजार ९ सय ५० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शान्तिदेवी ढकालले १० हजार ९ सय १५ मत प्राप्त गरिन्। 

धनगढीमा स्वतन्त्र, उपमेयरमा एमाले

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी बनेका छन्। हमालले गठबन्धनको तर्फबाट निवर्तमान मेयर कांग्रेसका नृपबहादुर वडलाई हराउँदै विजयी भए। स्वतन्त्र उम्मेदवार हमालले २६ हजार ८६५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी वडले १४ हजार ८१७ मत मात्रै पाए। तेस्रो भएका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत मात्रै पाए। 

उपमेयरमा एमालेकी कन्दकला राना १५ हजार ४७९ मत ल्याएर विजयी हुँदा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी शान्ति अधिकारीले १२ हजार ६७० मत मात्रै प्राप्त गरिन् भने स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत ल्याइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.