|

काठमाडौं : तत्कालिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कन्चनपुरका प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

धान जोनका प्रमुख वरिष्ठ कृषि अधिकृत टंकप्रसाद रिजाल, धान जोन सञ्चालक समितिका संयोजक दशरथ भण्डारी, महाकाली सिँचाइ आयोजनामा कार्यरत इन्जिनियर मोहनराम टेलर र दिनेश मोटर्स प्रा.लि.का सञ्चालक राजिव हमालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं २ र १९ तथा कृष्णपुर नगरपालिकाको वडा नं ६ मा आव ०७३/७४ मा पोष्ट हार्भेष्ट सेन्टर र कष्टम हायरिङ सेन्टर स्थापना गर्न समितिमा निकासा भएको रकम किसानसँग छलफल नै नगरी आफूखुशी सामान खरिद गरी आर्थिक अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो।

अनुसन्धानका क्रममा ३ वटा ट्रयाक्टरको अस्वाभाविक मूल्यको कोटेशन तयार गरी १६ लाख ३५ हजार रूपैयाँ बढी मूल्यमा खरिद गरेको पुष्टि भएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार भ्रष्टाचार गरिएको १६ लाख ३५ हजार रूपैयाँ बिगोसहित सजाय मागदाबी गरी सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.