|

पाेखरा : एमालेको गढ मानिने गरेको कास्कीको पोखरा महानगरपालिकामा यसपटक गठबन्धनका कारण एमालेको चुनावी नतिजा खराब आइरहेको छ।

हालको निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा एमालेबाट उम्मेदवार रहेका कृष्ण थापा र हालका नगरप्रमुख रहेका एमालेकै मानबहादुर जिसीको वडामा कांग्रेसका वडाध्यक्ष निर्वाचित भएका थिए। 

त्यति मात्रै नभएर पछिल्लो पटकको मत परिणामअनुसार नेकपा एमालेको संगठन विभागका प्रमुख रहेका नेता खगराज बरालकै गृह वडा रहेको वडा-३१ मा समेत कांग्रेसकै उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन्।

एमालेका मतदाता बढी रहेको उक्त वडामा कांग्रेसका उम्मेदवार ढकनाथ कँडेलले एमालेका उम्मेदवार चिरञ्जीवी बञ्जरालाई १६१ मतले पराजित गरेका छन्। 

कँडेलले १ हजार ८९८ मत पाउँदा बञ्जराले १ हजार ७३७ मत पाएका छन्। वडाध्यक्षबाहेक बाँकी रहेका चार सदस्यमा भने एमालेकै उम्मेदवारहरू देवेन्द्रराज अधिकारी, विनोदमणि लामिछाने, धनदेवी तिवारी र तारा नेपाली विजयी भएका छन्।

उक्त वडाबाट नगरप्रमुख पदमा गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले ६६ मत बढी पाएका छन्। आचार्यले १ हजार ८२७ मत पाउँदा एमालेका कृष्णबहादुर थापाले १ हजार ७६१ मत पाएका छन्। 

उपप्रमुखमा भने एमालेकै उम्मेदवार मञ्जुदेवी गुरुङले बढी मत पाएकी छन्। मञ्जुले १ हजार ९२० मत पाउँदा गठबन्धन अन्तर्गत नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले १ हजार ७११ मत ल्याएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.