‘छोटो समयमा हाम्राे पार्टीले राम्रो सफलता पाएको छ’

|

हेटौंडा : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र रुपमा निर्वाचित भएका हर्कराज राई साम्पाङजस्तो बन्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। 

मंगलबार हेटौंडामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन राखिएको कार्यक्रममा बोल्दै उनले धरानको मेयरमा निर्वाचित भएका साम्पाङको आफू प्रशंसक रहेको भन्दै उनीजस्तै बन्न आग्रह गरेका हुन्।

‘नमुना उम्मेदवारको रुपमा धरानको मेयरमा विजयी भएका व्यक्तिको लशनशीलताको म प्रशंसा गर्न चाहन्छु। साधारण, अत्यन्तै निराश भएका र दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने मानिसले ट्याम्पो चलाएर जनताको सेवा गर्ने गरेका रहेछन्। ट्याम्पोबाटै उनले बिरामीको उद्वार गर्ने गरेका रहेछन्। चुनाव आउने कहिले कहिले तर, थाहा पाउने बित्तिकै सहयोग गर्न पुग्दा रहेछन्’  उनले भने, ‘यस्तो भावना छ हामीमा? त्यस्ता मान्छेलाई सम्मान गर्नुपर्दैन?’

असल गुण भएको मान्छेलाई सम्मान गर्नुपर्ने भन्दै कार्यकर्ता र नवनिर्वाचित जनप्रतिनिधिहरूलाई पनि सोहीअनुसार काम गर्न निर्देशन दिए। उनले आफूहरुले राम्रोसँग काम गर्न नसक्दा देशैभरि स्वतन्त्र उम्मेदवारहरू बढेको समेत बताए। 

नेता नेपालले पार्टी बनेको छोटो समयमा नै चुनावमा होमिएर आफूहरुले राम्रो सफलता पाएको पनि दाबी गरे। नेपालमा रहेका सबै पार्टीहरूको तुलनामा एकीकृत समाजवादीको काम राम्रो भएकोले छोटो समयमा राम्रो सफलता पाएको उनको दाबी छ। 

‘विभिन्न ठाउँमा कुनै गठबन्धनको सहयोग नलिकनै हाम्रो सिंगो प्यानल विजयी भएको छ। गठबन्धनको प्रत्येक घटकहरु सँगसँगै चुनावमा भाग लिएका छन् र सबैले आ-आफ्नो हैसियत पनि मत परिणाममा देखेका छन्',उनले भने। 

नेपालले निर्वाचनमा आफूहरुले अन्य दलको भन्दा शानदार मत प्राप्त गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.