|

पाल्पा :  जिल्लाको बगनासकाली गाउँपालिका –१ चिर्तुङधारा निवासी सरस्वती चिदीलाई कहिल्यै राजनीति गर्ने सोच आएन।

विद्यार्थी जीवनमा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलको सामान्य सदस्य भएर राजनीति थालेकी थिइन्। बीएड पढ्दै गर्दा विवाह भयो। विवाह भएपछि राजनीतिलाई त्यहीँ बिट मार्न बाध्य भइन्।

अर्घाखाँचीको पााणिनि गाउँपालिका –७ सतिनेटामा जन्मिएकी उनको २०५९ सालमा पाल्पाको बगनासकाली गाउँपालिका–१ चिर्तुङधाराका दिलबहादुर चिदीसँग विवाह भयो। दिलबहादुर भारतीय सेनामा कार्यरत थिए।

श्रीमान्‌को जागिर र घरको आर्थिक अवस्था राम्रै भएका कारण सरस्वतीले कुनै जागिर गर्नुपर्ने बाध्यता आएन। राजनीतिक गतिविधिमा पनि खासै सक्रिय भइनन्।

केही सामाजिक संस्थामा आबद्ध भएर काम गर्न भने थालिन्। गाउँमै रहेको जनसहारा कृषि बहुउद्देश्यीय सहकारीको कोषाध्यक्ष भएर काम गरिन्। योग्यता र क्षमता भएकाले केही वर्षपछि त्यहाँ कर्मचारीको रूपमा पनि त्यहाँ काम गर्न पाइन्।

करिब १३ वर्ष निरन्तर काम गरिन्। योसँगै महिला स्वास्थ्य स्वयंसेविका भएर काम गर्न थालिन्। केही वर्षपछि सरस्वतीले वडा नागरिक मञ्चको संयोजक भएर काम गर्ने अवसर पाइन्।

‘भाग्य एकपटक घरमा ढोका ढक्ढकाउन आउँछ। ढोका खोल्न जाने त्यहीं वास बस्छ। नखोले अन्तै जान्छ’, यो भनाइ सरस्वतीको जीवनमा ठ्याक्कै मेल खान्छ। नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो। फलस्वरूप २०७४ सालमा स्थानीय तहको निर्वाचन गर्ने निश्चित भयो। सबै राजनीतिक दललाई उम्मेदवार छान्ने चटारो चल्यो। जतिवेला राजनीतिक दलले गाउँपालिका अध्यक्ष वा उपाध्यक्ष एक पदमा एकजना महिला अनिवार्य उम्मेदवार बनाउनुपर्ने कानुनी व्यवस्था थियो।  त्यति वेला महिला उम्मेदवार पाउन मुस्किल नै थियो।

बगनासकाली गाउँपालिकामा पनि दलहरूलाई सक्षम महिला उम्मेदवार पाउन कठिन भयो। नेकपा एमाले जिल्ला स्तरका नेताहरूको नजर सरस्वतीतर्फ पुग्यो। स्थानीय स्तरका एमाले नेता कार्यकर्ताले पनि सरस्वतीलाई नै उम्मेदवार बनाउनुपर्नेमा जोड दिए तर सरस्वतीले मानिनन्। किनकी उनले राजनीति त्यति राम्रोसँग बुझेकी थिइनन्। कल्पना पनि गरेकी थिइनन् अध्यक्ष र उपाध्यक्ष भइन्छ भन्ने। जताततैबाट आग्रह गरेपछि उपाध्यक्षको उम्मेदवार बन्न तयार भइन्। उनी घर परिवारको सल्लाहले उम्मेदवार बन्न तयार भएकी हुन्।

मत माग्न हिँडिन्। निर्वाचन पनि सम्पन्न भयो। मतगणना गर्दा उनको मनमा अनेक कुरा खेल्न थाले। मत परिणामको प्रतीक्षामा थिइन्। अन्ततः परिणाम आयो। उपाध्यक्ष पदमा सरस्वती नै विजयी भइन्। जुन निर्वाचनमा एमालेतर्फका अध्यक्षका उम्मेदवार पराजित भए। सरस्वतीका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्ण भुसालसँग १ हजार ४९९ मतान्तरले पराजित भए। जतिवेला उनको मत ५ हजार ५५५ आएको थियो।

कांग्रेसका उम्मेदवार कृष्णप्रसाद बस्याल अध्यक्ष निर्वाचित भएका थिए। राजनीतिक हिसाबले फरक पार्टीका अध्यक्ष भए पनि सरस्वतीलाई काम गर्न सहजै भयो। उनले स्थानीय सरकारले दिने सेवा प्रभावकारी बनाउन सचेत र इमानदार भएर लागिन्।

जनताको घरघरमा पुगेर कतिपय सेवा उपलब्ध गराएका कारण आफूलाई जनताले मन पराएको उनको दाबी छ। ‘सक्रिय र इमानदार भएर काम गर्दा स्थानीय सरकारले दिने सेवा र जनताले पाउने अधिकारीका बारेमा धेरै बुझ्ने मौका पाएँ’, उनले भनिन्, ‘सरकारका कामलाई जनमैत्री बनाउन कसरी सकिन्छ ? भन्नेबारे थाहा भयो।’ तर गएको ५ वर्षे कार्यकाल सिकाइमै बितेको उनले थाहाखबरसँग भनिन्।

गत वैशाख ३० गते स्थानीय तहको दोस्रो निर्वाचन हुने भयो। चुनावी चहलपहल बढ्न थाल्यो। गाउँगाउँमा चुनावी माहोल चर्किँदै गयो। उम्मेदवार बन्नका लागि सबै दलमा धेरै आकांक्षी भए। यस्तै अवस्था नेकपा एमाले पाल्पामा पनि थियो। बगनासकाली गाउँपालिकामा पनि कसलाई अध्यक्षको उम्मेदवार बनाउने भन्नेबारे बहस नै चल्न थाल्यो। उपाध्यक्ष भएर ५ वर्ष काम गरेकी सरस्वतीलाई भने अध्यक्षको उम्मेदवार बन्छु भन्ने सोच पनि थिएन। अग्रज नेतालाई उम्मेदवार बनाउनुपर्ने उनको चाहना थियो।

एक्कासी नेताहरूले आफूलाई अध्यक्षको उम्मेदवार बन्न प्रस्ताव ल्याएपछि उनी हतोत्साही भइन्। अध्यक्ष बन्न धेरै रकम चाहिन्छ। त्यसैमाथि महिला भएकै कारण यो सहज छैन भन्ने टुंगोमा पुगिन् सरस्वती। केही दिनसम्म कुनै जवाफ दिन सकिनन् तर पार्टीले उम्मेदवार बन्न पटक पटक भनिरह्यो। घरमा सल्लाह गरेपछि अध्यक्षको उम्मेदवार बन्न राजी भइन्। मत माग्न हिँडिन्। उनीसँगै एमालेका सबै नेता मत माग्न हिँडे। लगभग सबै मतदाताको घरघरमा पुगेर मत मागिन्।

सायद उपाध्यक्ष भएर काम गर्दाको प्रभावले होला। सबैले मप्रति सहानुभूति प्रकट गरी मत दिने विश्वास दिलाएका थिए। ‘अन्ततः चुनावी मत परिणाम पनि मेरै पक्षमा आयो’, उनले खुसी हुँदै भनिन्।

 उनी ६ हजार ५६६ मत प्राप्त गरेर विजयी भइन्। उनकी प्रतिद्वन्द्वी गठबन्धनतर्फ नेपाली कांग्रेसकी उम्मेदवार सुनिता अधिकारीले ५ हजार ६३३ मत पाइन्।

अध्यक्षमा निर्वाचित भएपछि सरस्वतीले ५ वर्षे योजना बनाएर गाउँपालिकाको विकासमा काम गर्ने बताएकी छन्। शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिलाई बढी प्राथमिकता दिएर काम गर्ने उनले सुनाइन्। गरिब तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने, प्रिमियमबातको शुल्क गाउँपालिकाले बेहोरेर स्वास्थ्य बिमा गर्ने योजनामा आफू रहेको उनले बताइन्। यस्तै खानेपानी उपभोक्ताको विद्युत महसुल गाउँपालिकाले नै तिर्ने छ। यसभन्दा अघिका भइरहेका कामलाई निरन्तरता दिने उनले बताइन्। सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सर्वसाधारणको सल्लाह सुझाव अनुसार बगनासकाली गाउँपालिकाको विकासमा लाग्ने सरस्वतीले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.