|

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय शैक्षिक संस्थामा लागू गरिसकेको छ। तर, कोर्ष पूरा गर्न भन्दै हिउँदे र वर्षे बिदा भने सरकारले कटौती गरेको छ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार शुक्रबार पूरा समय पढाउनुपर्ने र नपुग समय वर्षे र हिउँदे बिदाबाट अधिकतम ३० दिन कटौती गर्ने मन्त्रीस्तरीय निर्णय भएको छ। 

यो निर्णय  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले जेठ १ गते नै विज्ञप्ति जारी गरी मान्ने भनेको छ। तर,कुनै स्थानीय तहले भने यो दुई दिने बिदा नमानी पठनपाठन थाल्न भनेको छ।

जेठ १ गते भक्तपुर नगरपालिकाले सूचना जारी गरी नगरपालिकाका निजी तथा सामुदायिक विद्यालयलाई तत्काल २ दिन सार्वजनिक बिदा नदिन निर्देशन दिएको छ। 

नगरपालिकाले हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णय भएपनि नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मको लागि साबिक बमोजिम नै विद्यालय सञ्चालन गर्नू भनिसकेको छ।

गोदावरी नगरपालिकाले पनि बिदा नदिइ साबिक बमोजिम नै पठनपाठन थाल्नु भनेको छ। नगरपालिकाका सह सचिव देवी प्रसाद उपाध्यायले एक महिना ढिलो गरी शैक्षिक सत्र २०७९ प्रारम्भ भएको र विद्यार्थीहरुको सिकाइ उपलब्धि समेतलाई मध्यनजर गरी अर्को सूचना जारी नगरिञ्जेल सम्मका लागि पठनपाठन थाल्नु भनेको जानकारी दिए।

शैक्षिक क्यालेन्डर अनुसार वर्षभरि १ सय ८० दिन पठनपाठन सञ्चालन गर्नुपर्नेछ। तर, यसरी बिदा दिँदा पठनपाठनको समय पूरा नहुने उनीहरुको भनाइ छ।
त्यस्तै, दोलखा जिल्लाको जिरी नगरपालिकाले पनि नगरभित्रका सबै विद्यालयहरुमा साताको ६ दिन नै पढाउनु भनेको छ।

सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाले निजी विद्यालय अभिभावक लगायत सरोकारवाला निकायसँग छलफल गरी साबिक बमोजिम नै पढाउन निर्देशन दिइसकेको छ। 

‘बिदामा एकरुपता हुनुपर्छ’

नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर सरकारले बिदा दिएपनि स्थानीय तहहरुले भने कुनै छलफल नगरी साबिक बमोजिम पढाउन विज्ञप्ति जारी गरेको भन्दै आक्रोश पोखिन्। सबै ठाउँमा बिदाको एकरुपता हुनुपर्ने उनको भनाइ छ। उनले भनिन्,‘सरकारले साताको दुई दिन सार्वजनिक बिदा भनेको छ, त्यही भएर विद्यालय तहको बिदामा एकरुपता हुनुपर्छ।’

सरकारले हिउँदे र वर्षे बिदा कटौती गर्ने निर्णय गरेकाले पनि विद्यालयमा बिदा लागु हुनुपर्ने बताइन। सरकारले पेट्रोलियम पदार्थको आयात घटाएर विदेशी विनिमय सञ्चिति बढाउन भन्दै शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू गरिसकेकाे छ।

शिक्षा मन्त्रालयका सहायक प्रवक्ता धनबहादुर श्रेष्ठ भने यो बिदा तत्काल परीक्षण कालको लागि मात्र गरिएको र प्रभावकारी भए मात्रै बिदा लम्बिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.