|

काभ्रे : जिल्लाको विकट खानीखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले दलित, सीमान्तकृत वा विपन्न परिवारमध्ये उत्कृष्ट २ जना विद्यार्थीलाई प्राविधिक वा उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्तिको ब्यवस्था गर्ने निर्णय गरेका छन्।

उनले विद्यार्थी छात्रवृत्ति सम्बन्धी फाइलमा हस्ताक्षर गर्दै पदभार सम्हालेका हुन्।

अध्यक्ष थिङले एसइईमा उत्कृष्ट ग्रेड ल्याउने दलित, सीमान्तकृत वा विपन्न परिवारमध्ये १ छात्र र १ छात्रा गरी २ जना विद्यार्थीलाई प्राविधिक वा उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्तिको ब्यवस्था गरिने निर्णय गरेको जानकारी दिए। उनीहरुको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने उनको भनाई छ।

‘गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयबाट एसइईमा उत्कृष्ट ग्रेड ल्याई उत्तीर्ण हुने दलित, सीमान्तकृत वा विपन्न परिवारमध्ये १ छात्र र १ छात्रा गरी २ जना विद्यार्थीलाई प्राविधिक वा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गराउने प्रतिवद्धता जाहेर गर्दछु’, अध्यक्ष थिङको पहिलो निर्णयमा भनिएको छ।

उनले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि गर्न सूक्ष्म ढंगले अध्ययन गरी आवश्यक कदम समेत चाल्ने बताए।

पदभार ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष थिङले सडक, खानेपानी, सञ्चार, जडिबुटी लगायतमा योजनाबद्ध रुपमा काम थाल्ने गरी पञ्चवर्षीय योजना बनाएर ५ वर्षभित्र जनताले अनुभूति गर्ने गरी खानीखोलाको विकास गराउने बताए।

उनले १ वर्षभित्र केन्द्रिय विद्युत प्रसारण लाइनमार्फत हरेक घर–घरमा बत्ती पुर्‍याउने बताए।

उनले पदभार ग्रहण गर्नुअघि शहीदहरुप्रति श्रद्धाञ्जली तथा शहीद परिवारप्रति सम्मान व्यक्त गर्दै गाउँपालिकाको अध्यक्षमा विजयी गराउने मतदाताहरूलाई आभार व्यक्त गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.