|

पर्वत : स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूलाई यति वेला ‘दिनको भोक र रातको निद्रा’ भएको छ। पोखरा महानगरपालिकाका प्रमुख बन्न गठबन्धन अन्तर्गत नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार धनराज आचार्य मत गणना भइरहेको स्थान छाडेर पोखराका लागि बजेट खोज्न काठमाडौँ पुगेका छन्।

पोखराका केही वडाको मतगणना बाँकी रहेका वेला धनराजले जित्ने पक्कापक्की त भएको छ। यतिखेर उनी पोखरा एयरपोर्टको निर्माण कार्य पूरा गर्नका लागि आवश्यक बजेटको खोजीमा काठमाडौँ पुगेर अर्थमन्त्रीलाई भेटेका छन्।

पोखरामा निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन नजिकै रहेको ल्याण्डफिल्ड साइटलाई अन्यत्रै व्यवस्थापन गर्नुपर्ने हुन्छ। ५ महिनाभित्र नयाँ विमानस्थल चलाउनुपर्ने र अहिले काम थाल्न बजेट नआए एक वर्ष फेरि कुर्नुपर्ने अवस्था भएको भन्दै उनी आइतबार मतगणना स्थल छाडेर काठमाडौँ पुगी अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर ल्याण्डफिल्ड साइट सार्नका लागि आवश्यक बजेटको प्रबन्ध गरिदिन अनुरोध गरेर फर्किएका छन्।

चुनाव जितेको घोषणा नहुँदै उनले सङ्घीय सरकारसँग पोखराको एउटा योजनालाई बजेट मागेर फर्किदा आम नागरिकमा उनीप्रतिको विश्वास बढ्नेछ। एमालेबाट अलग्गिएर बनेको नेकपा (एकीकृत समाजवादी) मा रहेको भए पनि आचार्यले एमालेकै कार्यकर्ताको पनि माया पाएका छन्। जसका कारण एमालेका गढ मानिएका क्षेत्रमा पनि उनले आफ्नो अग्रता जोगाई राखे।

हुनेवाला नगरप्रमुखले आफूले पदभार ग्रहण नगर्दै पोखराको विकासको चिन्तामा आफ्नो चुनावलाई भन्दा अर्थमन्त्रीसँगको भेटलाई महत्त्व दिनु खुसीको कुरा भएको पोखरावासी बताउँछन्।

आचार्यले समयमा नै बजेट विनियोजन गर्न नसके पोखरा अन्तरराष्ट्रिय विमानस्थलका बारेमा राम्रो सन्देश नजाने त्यसले पर्यटन क्षेत्रलाई पनि प्रभाव पार्ने भएका कारण आफूले बजेट विनियोजनको कुरामा ध्यान दिएको उनको भनाइ छ।

‘ल्याण्डफिल्ड साइट त्यहाँबाट अन्यत्रै नसार्ने हो भने विमानस्थल सञ्चालनमा ल्याउन सकिँदैन। सार्नका लागि अहिले बजेट परेन भने फेरि एक वर्ष यो काम रोकिन्छ, यसबाट पर्यटन क्षेत्रमा नराम्रो हुन्छ,’ आचार्य भन्छन्, ‘आफ्ना मत गन्दै गरेको उम्मेदवारले मतगणना स्थल नै छाडेर बजेटका लागि आएको देख्दा उहाँहरूले पनि यसलाई महत्त्व दिनुभएको छ। केही न केही त बजेट यो योजनाको लागि आउँछ। अर्थमन्त्रीलाई भेटेर कुरा भएको छ। शहरी विकास मन्त्रालयबाट त्यसलाई फलो अप गरिएको छ।’

उक्त भेटमा उम्मेदवार आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणाको प्रक्रिया अघि बढाउन पनि उनले सङ्घ सरकारसमक्ष अनुरोध गरेका छन्। सङ्घीय सरकारका पर्यटनमन्त्री प्रेमबहादुर आलेसँगको भेटमा उनले ‘पोखरालाई पर्यटकीय राजधानी घोषणा गरियोस्’ भनेर नीति तथा कार्यक्रममा राखिदिन अनुरोध गरेका थिए। त्यो कुरालाई अर्थमन्त्री र पर्यटन मन्त्री दुवैले स्वीकार गरेको पनि आचार्यले बताएका छन्।

पोखरा महानगरपालिकाको प्रमुख पदमा गठबन्धनका आचार्यको जित निश्चित भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले पछिल्लो पटक सार्वजनिक गरेको १ लाख ३९ हजार ४११ मत गणनाको नतिजामा आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई ५ हजार ४८५ मतले पछाडि पारेका छन्। अब ३ हजार ८१५ मत गणना हुन बाँकी छ।

आचार्यले प्राप्त गरेको मतान्तर गणना हुन बाँकी रहेको मतभन्दा १ हजार ६७० ले बढी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.