|

काठमाडौं : नेपालका नदीमा भएकाे प्लास्टिक प्रदूषण राेक्न नर्वेजियन रिटेलर्स फण्डले सहयाेग गर्ने भएकाे छ।​

नदीमा प्लास्टिक प्रदूषण राेक्न क्रियशन नेपाल, ग्रीड एरेन्डेल, डोको रिसायक्लर्स, इन्टरनेशनल सोलिड वेस्ट एसोसिएसन  र नर्वेजियन जियोटेक्निकल इन्स्टिच्युट (एनजीआई)ले नर्वेजियन रिटेलर्स फण्डको सहयोगमा “प्रिभेन्टिङ प्लाष्टिक इन नेपाल रिभर्स बाई बुस्टिङ् द इनफर्मल सेक्टर” प्रोजेक्ट सुरु गर्ने घोषणा गरेको हाे।

साेमबार वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, नेपालका लागि नर्वेजियन राजदूत तरुण द्रमदल, क्रिएशनका अध्यक्ष आनन्द मिश्रको उपस्थितिमा आयोजनाको शुभारम्भ गरिएको छ।

कार्यक्रममा मन्त्री यादवले भने, ‘हामीले पूजा गर्ने ठाउँ बागमती खोला सांस्कृतिक ठाउँ हो तर प्लास्टिक प्रदूषणका कारण नदीको मूल्य घटेको छ। यो समस्या समाधान गर्नका लागि नीतिहरूको कडा कार्यान्वयन हुन आवश्यक छ। हामीले आधारभूत तहका मानिसहरूलाई जानकारी दिनुपर्छ। सङ्कलन प्रक्रिया अघि र पछि गल्ने र नगल्ने फोहोर छुट्याउन सिकाउनुपर्छ। मन्त्री भएको जिम्मेवारीले पनि नेपालका नदीहरुमा प्लाष्टिक प्रदूषण रोक्न पूर्ण सहयोग गर्नेछु।'

प्रदूषण नियन्त्रणका लागि प्लास्टिकलाई अलग–अलग सङ्कलन र पुनः प्रयोग गर्ने प्रणाली राख्नु पर्दछ। यस परियोजनामा स्थानीय रूपमा प्लास्टिक रिसाइक्लिङ्ग सुविधाको स्थापना पनि समावेश गरिएकाेले नदीहरूमा फोहोर रोक्न उच्च र कम गुणस्तरको प्लास्टिकको व्यवस्थापन गर्न सकिने जनाइएकाे छ।

'आज हामीले काठमाडौं उपत्यका वरिपरि हेर्दा नदी वा ल्यान्डफिल साइटहरू फोहोरको थुप्राेले भरिएका देख्छौँ, जुन मुख्यतः प्लाष्टिकको हुन्छ', नेपालका लागि नर्वेजियन राजदूत तोरुन द्रम्दलले भनिन्।

'प्लास्टिकको प्रदूषण सन् १९५० देखि अत्याधिक बढेको छ र यसको विश्वव्यापी असर ठूलो छ। प्लास्टिक प्रदूषण नियन्त्रणकाे बिषय नर्वेजियन सरकारले उच्च प्राथमिकतामा राखेकाे छ। काठमाडौंमा पनि मनसुनमा प्लास्टिककै कारण खोलानालामा ठूलो समस्या खडा हुने गरेकाे देखिन्छ। परियोजनाले प्राणीकाे पूर्ण जीवनचक्रलाई लक्षित गर्दै उचित ब्यवस्थापन गर्ने दिशामा लक्षित गर्नुपर्छ' उनले थपिन्।

नेपालका लागि फोहोर व्यवस्थापनमा अनौपचारिक क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ। अनौपचारिक मजदुरहरू सङ्कलन कर्तादेखि फोहोर उठाउने र स्क्र्याप डिलरहरू सम्म छन्। काठमाडौं उपत्यकामा काम गर्ने अनुमानित १०–१५ हजार फोहोर उठाउनेहरू मध्ये धेरै महिलाहरू छन् तर तिनीहरू सबैभन्दा सीमान्तकृत छन्।

क्रिएशनका अध्यक्ष मिश्रले भने, 'अनौपचारिक फोहोर मजदुरहरूले वातावरणका लागि महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन्। तसर्थ, स्वच्छ, स्वस्थ र दिगो वातावरण राख्न र मानिसहरूलाई प्रोत्साहित गर्न व्यवहार परिवर्तन गरिनुपर्छ। प्लास्टिक पुनरावृत्ति गर्न र नेपालका नदीहरूमा प्लाष्टिकको रोकथामका लागि अत्याधुनिक प्रविधिको प्रयोग ल्याउनुपर्छ।' 

उनले काठमाडौंको जनसंख्या बढ्दै जाँदा प्लास्टिकको प्रयोग र फोहोर उत्पादन पनि बढ्दै गएको र राजधानीमा फोहोर व्यवस्थापन गर्न असंगठित फोहोर संकलन र खुला जलाउने कुरामा ध्यान दिनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.