|

काठमाडौं : नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूट (जिजिजिआई)सँग हाइड्रोजन इन्धन उत्पादनका लागि सम्झौता गरेको छ।

प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन शुरु गर्ने उल्लेख गरिएको हो। सिंहदरबारमा मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा जिजिजिआईका महानिर्देशक फ्रेंक रिजस्वेर्मन र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेको सम्झौतामा जिजिजिआईले सो इन्धन उत्पादनका लागि आवश्यक अध्ययन गरिदिने, कार्यान्वयनका लागि सरकारलाई सहजीकरण गरिदिने र त्यसका लागि आवश्यक सबै खालका प्राविधिक सहयोग गरिदिने उल्लेख छ।

सम्झौतामा काठमाडौं युनिभर्सिटीलाई पनि संलग्न गराएर नेपालमा हाइड्रोजन फ्युल उत्पादन अघि बढाउने उल्लेख गरिएको प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बताए। उनले भने, ‘यो ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूट (जिजिजिआई) कोरियाको इन्स्टिच्यूटसँग विद्युत प्राधिकरणले हाइड्रोजन‚ एमोनिया र युरिया प्रोडक्सनको सम्बन्धमा उसले अध्ययन गरिदिने, कार्यान्वयनका लागि सहजीकरण गरिदिने र प्राविधिक सहयोग सबै गरिदिने हिसाबले हामीसँग एउटा एमओयू गरिएको छ। यो एमओयू भइसकेपछि हामीले काठमाडौं युनिभर्सिटीलाई पनि संलग्न गराएर यो सम्बन्धमा नेपालमा हाइड्रोजन फ्यूलको सम्बन्धमा हामी व्यापक रुपमा यसको अध्ययन र यसको कार्यान्वयनको पक्षमा जान्छौं।’

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालले सो परियोजनाले विश्वमै महँगो बन्दै गइरहेको पेट्रोलियम पदार्थलाई विस्थापित गर्न उल्लेख्य भूमिका निर्वाह गर्ने बताउँदै त्यसको छिटो कार्यान्वयन गर्न सम्बन्धित पक्षको ध्यान जाने विश्वास व्यक्त गरिन्। उनले सो परियोजनाले नेपालको ऊर्जा क्षेत्रको नयाँ ढोका खोलिदिएको पनि दाबी गरिन्।

मन्त्री भुसालले भनिन्, ‘अहिले विश्व बजारमै ज्याँदै महँगो भइराखेको पेट्रोलियम पदार्थलाई विस्थापित गर्न सक्ने आफ्नै देशको ऊर्जा पनि खपत हुने महत्वपूर्ण परियोजना हो भन्ने लाग्छ। यो सामान्य एमओयू मात्रै होइन। यो एमओयू उल्लेख्य महत्त्वपूर्ण छ। समयमै कार्यान्वयन गर्दा यसले हाम्रो ऊर्जाको क्षेत्रमा नयाँ ढोका खोल्नेछ। यसको कार्यान्वयन छिट्टै हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.