विराटनगर : भारतबाट चोरी पैठारी तथा राजश्व छलेर नेपाल भित्र्याएको विभिन्न मेशिनरी सामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
विराटनगर–६ मा अमन इलेक्ट्रिक एण्ड रिपेयरिङ सेन्टरमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक पप्पु नायकको नेतृत्वमा खटिएको प्रहरी टोलीले छापा मार्दा सञ्चालक सेख अलतफसहित चोरी पैठारीका सामान बरामद गरेको हो।
सेखले भारतबाट पानी तान्ने मोटर पार्ट्स तथा मेशिनरी सामानहरू ल्याएर फिटिङ गर्ने र अन्य कम्पनीको नक्कली स्टिकर लगाएर बिक्री गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।
सञ्चालक सेखसहित चोरी पैठारी गरि ल्याएको ४ लाख ८५ हजार मूल्य बराबरको सामान बरामद गरि थप कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार प्रहरीले नक्कली स्टिकर १०४ थान, प्लाष्टिक स्टिकर ९२ थान, पानी तान्ने फिटिङ मोटर ३२ थान, क्यापासिटर ७ कार्टुन, आल्मुनियम बडी ७ बोरा, फ्यानकभर ४ कार्टुन, एम्पेलर ३६० पिस, पम्प पार्टस र रोटर २९ बोरा, प्लाष्टिक हेन्डल एक बोरा, स्टार्टर १० बोरा, ब्यारिङ्ग २ बोरा, नट बल्टु एक बोरा, कार्टुन एक बोरालगायत बरामद गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।