|

काठमाडौं : यही जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म (जुन ८ देखि १४ सम्म) कुवेतमा आयोजना हुने एएफसी एशिया कप २०२३ छनोटको तेस्रो चरणका लागि मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार अबेर एउटा कार्यक्रम आयोजना गरेर नेपाली टोलीको बिदाई गरेको हो।

कुवेतमा हुने छनोट खेलमा सहभागी हुने खेलाडीको अन्तिम नामावली यसअघि शुक्रबार मात्र मुख्य प्रशिक्षक अब्दुल्ला अल-मुताइरीले घोषणा गरेका थिए। घोषणा गरिएको टोलीमा नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङसहित अन्य ९ खेलाडीलाई बाहिर राखेर मुख्य प्रशिक्षक मुताइरीले २३ सदस्यीय राष्ट्रिय टिमको नाम सार्वजनिक गरेका थिए।

बन्द प्रशिक्षणमा रहेका वेला सेवासुविधा पर्याप्त नभएको भन्दै प्रशिक्षणमा छाडेका १० खेलाडीबिनै प्रशिक्षक अल-मुताइरीले २३ सदस्यीय खेलाडीको सूची सार्वजनिक गरेका हुन्। पछिल्लो समय मुख्य प्रशिक्षक र खेलाडीबीचको टकरावमा किरणले साथ दिएका थिए भने वैदेशिक व्यावसायिक खेलमा रहेका छन्।

यसपटक घोषित राष्ट्रिय टोलीमा ४ नयाँ अनुहारले स्थान बनाएका छन्। रक्षक विकास तामाङ र शिव गुरुङसँगै मिडफिल्डर निरकुमार राई र रोशन रानामगरले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।

एशिया कप तेस्रो चरणको छनोटमा नेपाल समूह ए मा रहेको छ। नेपाल सम्मिलित समूहमा आयोजक कुवेतसँगै बलियो जोर्डन र इन्डोनेसिया रहेका छन्। नेपालले जुन ८ मा जोर्डनविरुद्ध खेल्दै छनोटको शुरुआत गर्नेछ। दोस्रो खेल कुवेतविरुद्ध जुन ११ मा खेल्दा जुन १४ मा इन्डोनेसियाविरुद्ध अन्तिम खेल खेल्ने तालिका छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.