|

काठमाडौं : सरकारले चितवनको निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण अगाडि बढाउने भएको छ। संघीय संसदका दुवै सदनलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमअन्तर्गत यसको घोषणा गरेकी हुन्।

सो क्रममा गौतम बुद्ध रंगशाला निर्माणको बाँकी काम टुङ्गो लगाउन समन्वय र सहजीकरण गर्ने उल्लेख गरेकी छन्। उनले फाप्ला अन्तरराष्ट्रिय क्रिकेट मैदानको निर्माण शुरु गर्ने बताएकी छन्।

फाप्लाको जग्गा विवाद यसै वर्ष समाधान भएको छ भने गौतम बुद्ध रंगशाला निर्माणको बाँकी कामको स्वामित्व स्थानीय सरकारले लिएको छ। नीति तथा कार्यक्रममा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरी खेलाडीको स्तर वृद्धि गर्ने पनि उल्लेख छ।

यसैगरी खेलाडीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरको प्रशिक्षण तथा खेलमा सहभागिताको अवसर उपलब्ध गराइने उल्लेख छ। सरकारले मापदण्ड बनाएर खेलाडीलाई पुरस्कार, भत्ता, बीमा तथा आवश्यक प्रोत्साहन गर्ने उल्लेख छ।

प्रत्येक विद्यालयमा खेलकुद क्लब स्थापना गर्ने कार्यक्रम पनि आगामी आर्थिक वर्षको बजेटमा समेट्ने नीति तथा कार्यक्रममा उल्लेख छ। यसैगरी सरकारले आगामी वर्ष नेपालमा साहसिक तथा पर्वतीय खेलको अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने जनाएको छ।

आगामी वर्ष गैंडाकोटमा विपी कोइराला अन्तरराष्ट्रिय खेलग्राम बनाउनेदेखि सबै स्थानीय तहमा खेलग्राम निर्माण, हाई अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापना गर्ने विषय पनि सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ। यस्तै खेलकुद विश्वविद्यालयको सम्भावना अध्ययन गर्नेसमेत घोषणा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.