काठमाडौं : एएफसी एशियन कप छनोटको तेस्रो चरणको खेलका लागि नेपाली टिम बुधबार कतार प्रस्थान गर्दै छ। टिम कतार प्रस्थान गर्नुअघि राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी नवयुग श्रेष्ठलाई दिइएको छ। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मंगलबार साँझ राष्ट्रिय टिमको बिदाई गरे।
जुनमा हुने छनोटका लागि नेपाली टिमले कतारमा अभ्यास गर्नेछ। कुवेतमा हुने प्रतियोगिताको तयारीका लागि नेपाली टिमले कतारमा १० दिनको प्रशिक्षण गर्नेछ। कतारको राजधानी दोहामा यसअघि नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका भएपनि अफगानिस्तानले कतार जाने योजना परिवर्तन गरेपछि ती खेल रद्द भएको छ।
घरेलु मैदानमा करिब डेढ महिनाको प्रशिक्षणपछि नेपाली टिम थप प्रशिक्षणका लागि कतार जान लागेको हो। यसबीच खेलाडी र प्रशिक्षकको विवादका कारण अधिकांश अनुभवी खेलाडीविहिन रहेको नेपाल अहिले अधिकांश युवा खेलाडीको साथमा रहेको छ।
एशियन कप छनोटअघि दोहामा मैत्रीपूर्ण खेल खेल्ने योजना बनाए पनि कोसँग प्रतिस्पर्धा गर्ने भन्ने तय भएको छैन। एशियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालले कुवेत, जोर्डन, इन्डोनेसियाजस्ता टिमसँग खेल्नेछ।
८ जुनदेखि १४ सम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेल जोर्डनसँग ८ जुनमा खेल्नेछ भने दोस्रो खेलमा ११ जुनमा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। १४ जुनमा इन्डोनेसियासँग नेपालले प्रतिस्पर्धा गर्ने छ।
तेस्रो चरणको छनोटका शीर्ष टिम र ५ समूहमा रहेका उत्कृष्ट दोस्रो हुने टिमले अन्तिम चरणमा स्थान बनाउने छन्।
विवादका कारण कप्तानी नवयुगलाई
बन्द प्रशिक्षणका क्रममा उत्पन्न विवादपछि कप्तान किरणसहित १० खेलाडीलाई मुख्य प्रशिक्षक अब्दुल्ला अल-मुताइरीले क्लोज क्याम्प बाहिर राखेपछि नयाँ टिम तयार गरेका थिए। जसका कारण कप्तानको जिम्मेवारी नवयुगले पाएका छन्।
कप्तान किरण चेम्जोङसहित रोहित चन्द, विमल घर्तिमगर, अञ्जन विष्ट, विशाल राई, अनन्त तामाङलगायत नियमित खेलाडीलाई बाहिरै राखेर अब्दुल्लाले अन्तिम टिम घोषणा गरेका थिए।
सोही टिमलाई शुभकामना दिँदै खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सिनियर खेलाडी नभए पनि आफ्नोतर्फबाट उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे। उनले भने‚ ‘नेपालको प्रतिनिधित्व गर्दै हुनुहुन्छ। तपाईंहरुले सँगै खेलेका सिनियर दाइहरु नदेख्नु होला तर त्यसतर्फ ध्यान नदिई आफ्नो देश सम्झेर खेल्नु होला।’ उनले नयाँ खेलाडीका लागि अवसर भएकाले आफूलाई प्रमाणित गर्न आग्रह गरे।
बिदाईमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभिन्न चुनौतीबीच खेलाडीले यो अवसर पाएको र यसको सदुपयोग गर्ने विश्वास व्यक्त गरे। उनले पछिल्लो समयमा देखिएको विवादले आफू चिन्तित रहेको बताए।
नेपाली टिम
गोलरक्षक : दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा
रक्षक : विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डर : आकास बुढामगर, एरिक बिष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुनिल बल, सुरजजिउ ठकुरी
फरवार्ड : आयुस घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डांगी र नवयुग श्रेष्ठ (कप्तान)
तपाईंको ईमेल गोप्य राखिनेछ ।