|

पर्वत : नेकपा एमालेको गढ मानिएको कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका ५३ वर्षीय धनराज आचार्य निर्वाचित भएका छन्। एमालेका कृष्ण थापालाई पराजित गर्दै ६ हजार ४५ मतान्तरले पराजित गर्दै  आचार्य महानगरका प्रमुख निर्वाचित भएका हुन्। 

पोखराको प्रमुखमा पाँच दलीय गठबन्धनबाट कांग्रेसले टिकट पाउनुपर्ने भनी चर्को दबाब परे पनि लामो रस्साकस्सीपछि आचार्यले टिकट पाएका थिए। सुरुमा आचार्यलाई कांग्रेसका कार्यकर्ताले मतदान नगर्ने शंका थियो। तर पछि उनीहरू आचार्यप्रति सकारात्मक देखिए। फलस्वरूप आचार्य पाँच वर्ष पोखरा महानगरको बागडोर सम्हाल्ने हैसियतमा पुगेका छन्। 

को हुन आचार्य? 

२०२६ सालको चैतमा कास्कीको भरत पोखरीमा जन्मिएका आचार्य सानै उमेरदेखि कास्की जिल्लाबाट राजनीतिक रूपमा सक्रिय भएका थिए। नेकपा एमालेमा रहँदा इमानदार, स्पष्ट वक्ता र कुशल संगठकको छवि बनाएका उनी माधवकुमार नेपालको पक्षमा खुलेर नेकपा एकीकृत समाजवादीको पक्षमा लागेर कास्की जिल्ला अध्यक्ष बने। 

एमाले टुक्रिँदा माधव नेपाललाई साथ दिएका आचार्यको कम्युनिस्ट यात्राले ४० वर्ष पूरा गरेको छ। २०३९ सालमा विद्यालयमै अनेरास्ववियू प्रारम्भिक कमिटीबाट राजनीति सुरु गरेका आचार्य क्याम्पस पढ्न पृथ्वीनारायण क्याम्पस पसेपछि उनको राजनीतिक प्रगतिको गति बढ्यो। 

२०४४ सालमा एमाले निकट अनेरास्ववियू प्रारम्भिक कमिटी पृथ्वीनारायण क्याम्पस पोखराबाट उनी झनै सक्रिय भएर कम्युनिस्ट आन्दोलनमा लागे। विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिका लागि तिखारिएका उनी २०४५ सालमा अनेरास्ववियूको जिल्ला कमिटी सदस्य, २०४६ सालमा सचिव र २०४७ सालमा अध्यक्ष बने। 

विद्यालय, क्याम्पस, जिल्ला हुँदै २०४८ सालमा अनेरास्ववियू गण्डकी अञ्चल अध्यक्ष चुनिए। २०४९ सालमा अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य बने। त्यसै वर्ष उनी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पृथ्वीनारायण क्याम्पसका कोषाध्यक्ष बने। तीन वर्ष कोषाध्यक्ष बनेका उनी २०५१ सालमा स्ववियू पृथ्वीनारायण क्याम्पस सभापति चुनिए। स्ववियूको जिम्मेवारी लिइरहँदा २०५० देखि २०५४ सालसम्म संगठनकै पश्चिमाञ्चल प्रमुख, २०५४ देखि २०५८ सालसम्म केन्द्रीय सचिवालय सदस्य भएका थिए। 

राजनीतिसँगै उनी व्यावसायिक संगठनमा पनि सक्रिय रहे। २०६० सालमा नेकपा एमाले कास्की उद्योग व्यवसाय विभाग प्रमुखको जिम्मा पाएका थिए। २०६४ देखि २०६९ सम्म नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको फ्र्याक्सन सचिव बनेका आचार्य २०६९ देखि २०७४ सम्म एमाले सम्बद्ध नेपाल राष्ट्रिय वाणिज्य संघ केन्द्रीय कमिटी अध्यक्ष भएर काम गरे। २०७१ देखि २०७६ सम्म नेपाल उद्योग तथा व्यवसायी महासंघ स्थायी कमिटी सदस्य, २०७१ देखि २०७५ सम्म नेकपा एमाले केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य र २०७५ देखि २०७८ सालसम्म नेकपा उद्योग तथा व्यवसाय विभाग सदस्य पनि उनी बने। 

राजनीतिसँगै व्यवसायलाई पनि अघि बढाएका उनी व्यवसायमा पनि सफल रहे। पुस्तक पसलबाट व्यवसाय सुरु गरेका आचार्य उनी अहिले प्रकाशन गृह चलाइरहेका छन्। उनी लायन्स क्लबमा पनि सक्रिय थिए। २०१२\१३ मा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ को क्याबिनेट सेक्रेटरी, २०१७–२०१८ मा त्यही डिस्ट्रिक्टको गभर्नर भएका थिए।

आचार्य एमालेका स्वर्गीय नेता रवीन्द्र अधिकारीका हितैषी थिए। एमबीए र एमएडसम्म शिक्षा हासिल गरेका आचार्य पोखराका कुशल प्रभावशाली नेता मानिन्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.