विश्लेषक भन्छन् : तत्काल वाम एकता हुने अवस्था देखिँदैन

|

काठमाडौं : वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मिश्रित मत परिणाम आउन थालेपछि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम एकताको प्रसंग कोट्याए। 

०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेल र पार्टी एकतापछिको परिणाम स्मरण गर्दै उनले फेरि वाम एकता गरे सबैलाई फाइदा पुग्ने औँल्याए। 

एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको साविक (नेकपा)को एकता भंग भएपछि संसदमा एमालेले गरेको अवरोध हटेयता उनले फेसबुकमा लेखेका थिए, ‘अन्ततः एमालेले लामो निरर्थक संसद अवरोध अन्त्य गर्‍याे। राष्ट्र, लोकतन्त्र र स्वयं एमालेको निम्ति पनि यसो गर्नै पर्थ्यो। ढिलै भएपनि विवेकले काम गर्‍याे। राम्रो गर्‍याे।’ 

दुई पटक केपी शर्मा ओलीले संसद विघटन गरेपछि विभाजित भएको पार्टी एमालेले आत्मसमीक्षा गरे फेरि देश, जनता र वाम आन्दोलनको हितमा हुनेमा जोड दिए।

‘एमालेले यसरी नै विवेक प्रयोग गरेर समग्रतामा गम्भीर आत्मसमीक्षा गर्न सक्यो भने देश, जनता र वाम आन्दोलनको हितमा हुनेछ, सोचौं’ उनको भनाइ थियो। 

०७४ सालको निर्वाचनमा सग्लो कम्युनिष्ट पार्टी अहिले छिन्नभिन्न भएको छ। यसअघि एकजुट भएर कांग्रेसविरुद्ध लडेर २३ सिटमा झारेको कम्युनिष्ट पार्टी अहिले ४ टुक्रा भएको छ। साविक नेकपा विभाजनपछि एमाले र माओवादी केन्द्र आ-आफ्नो बाटोमा लागेका छन्। माओवादीका रामबहादुर थापा बादलसहित नेताहरु एमालेमै बसे। 

एकता भंग भएपछि पनि एमाले सग्लो बसेन। एमालेका पुराना नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल नेकपा एकीकृत समाजवादी गठन गरेर अघि बढिरहेका छन् भने वामदेव गौतम अहिले राजनीतिमा सक्रिय देखिएका छैनन्। 

माओवादीसहित एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाले कांग्रेससँग हातेमालो गरेर स्थानीय तहको निर्वाचनमा एमालेलाई धक्का दिएका छन्। 

माओवादी र एकीकृत समाजवादी अहिले पनि कांग्रेससँगको गठबन्धनको आसमा वाम एकताको पक्षमा देखिएका छैनन् भने प्रचण्ड-माधवकै जोडबलले सत्ता बहिर्गमन गरेको गराएको कुण्ठासँगै अहंकार ओलीमा अझै सवार छ।

पाँचदलीय गठबन्धनलाई हराएर पहिलो दल दाबी गर्ने एमालेका अध्यक्ष ओली अहिले मौन छन्। निर्वाचनमा सोचेजस्तो मत परिणाम प्राप्त गर्न नसकेपछि अहिले पुनः भित्रभित्रै एमाले र माओवादीका दोस्रो तहका नेताहरुले वाम एकताको प्रयासको प्रयास भइरहेको छ‚ तर शीर्ष तहबाट हुन सकेको छैन। एमालेमा मात्रै नभएर माओवादी वृत्तमा पनि वाम एकताका लागि दोस्रो तहका नेताहरू लबिङमै छन्। 

अहिले नै वाम भएको विषयमा कुनै छलफल नभएको बताउँछन् एमाले उपमहासचिव प्रदिप ज्ञवाली। उनी भन्छन्, ‘हामीले अहिलेको निर्वाचनमा सोचेजस्तो मत ल्याउन नसकेको कुरा सत्य हो। तर यही अवस्थामा हामी वाम एकता भनेर कम्युनिष्ट आन्दोलनविरुद्ध जानेसँग सहकार्य गर्न सक्दैनौँ।’

उनले माओवादी र एमालेसँग विद्रोह गरेर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई फरक रुपले हेरेको बताउँछन्। 

‘माओवादीसँग हामीले यसअघि पनि ३ वर्ष लामो सहकार्य गरेका थियौँ तर सफल भएन। माधवजी एमाले सिध्याउन लाग्नुभएको छ। त्यसैले यही अवस्थामा कार्यकर्तालाई हामीले सहजै पार्टीमा वातावरण बनाएको भएपनि नेतृत्वसँग वाम एकता भनेर सहकार्य गर्ने सम्भावना छैन‚’ उनले भने।

एमालेमा दुई धार

वाम एकता अहिलेको अवस्थामा आवश्यक भएपनि पार्टीभित्र औपचारिक रुपमा छलफलले प्रवेश नपाएको बताउँछन् एमाले स्थानीय कमिटी सदस्य रघुजी पन्त। 

उनी भन्छन्, ‘निर्वाचनको अन्तिम परिणाम आइसकेपछि पार्टीभित्र समीक्षा हुन्छ। निर्वाचनपछि अहिलेसम्म पार्टीको कुनै बैठक बसेको छैन। पार्टी बैठकमा वाम एकताको बारेमा छलफल होला। तर अहिले बाहिर चर्चा भएपनि पार्टीमा औपचारिक रुपमा प्रवेश पाएको छैन।’ 

स्थानीय तहको निर्वाचनमा धक्का खाएको एमालेमा वाम एकताको विषयमा दुई धारमा विभाजित बनेको छ। अध्यक्ष ओलीसहित संस्थापन पक्षका अधिकांश नेताहरू तत्काल वाम एकताको पक्षमा देखिएका छैनन्। एमाले विभाजनपछि माधव नेपाल खेमाबाट एमालेमै रहेका अधिकांश नेताहरू वाम एकताको पक्षमा छन्।

एमाले स्थायी समितिको बैठकमा पनि घनश्याम भुसाल र रघुजी पन्तले वाम एकताको विषय प्रवेश गराएका थिए। तर अध्यक्ष ओलीले भुसाल र पन्तको प्रस्ताव ठाडै अस्वीकार गरिदिएका थिए। अहिले पनि प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, भुसाल, पन्तलगायत नेताहरूले वाम एकता गर्नुपर्ने भन्दै पार्टीमा दबाब बढाइरहेका छन्।  

‘वाम एकताको परिस्थिति बनेको छैन’

स्थानीय निर्वाचन सम्पन्न भएपछि आसन्न प्रदेश र संघको निर्वाचनमा वाम एकताको विषयमा राजनीतिक वृत्त तातेको भएपनि पार्टीभित्र कुनै छलफल नभएको दाबी गर्छन् माओवादी केन्द्रका नेता देव गुरुङ। 

उनी भन्छन्, ‘बाहिर आएको हल्ला मिडियाको मात्रै होला। तर पार्टीभित्र वाम एकताको विषयमा कुनै छलफल भएको छैन। अहिले हामीले त्यसरी जानेबारे सोचेका छैनौँ।’

एमाले अध्यक्ष ओलीले प्रतिगमन गरेको कारणले बनेको पाँचदलीय गठबन्धन स्थानीय तहको निर्वाचनमा सफल भएकाले आगामी निर्वाचनसम्म जाने उनको भनाइ छ। 

‘हामीले संविधान र लोकतन्त्रको रक्षाको लागि गठबन्धन गरेका हौँ। गठबन्धन सफल नै भएको छ। त्यसबारेमा अब कसरी अगाडि बढ्ने भन्नेबारेमा सबै स्थानको नतिजा आइसकेपछि समीक्षा गछौँ‚’ उनले भने।  

यता, एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ अहिले वाम एकताबारे अनभिज्ञता प्रकट गर्छन्। 

उनी भन्छन्, ‘अहिले वाम एकता बहसको विषय बनेको छैन। हामी नेपालमा वामपन्थी एकताबद्ध हुनुपर्छ भन्ने पक्षमा छौँ। तर अहिले परिस्थिति बेग्लै बनेकाले तत्काल सम्भावना छैन।’

‘तत्काल हुँदैन’ 

त्यसो त अहिलेको परिस्थितिमा वाम एकताको कुनै सम्भावना नभएको राजनीतिक विश्लेषक हरि रोक्का दाबी गर्छन्। उनी भन्छन्, ‘अहिले सबै स्वार्थ मात्रै हेर्ने भए। वामपन्थी कोही देखिएकै छैन। अहिले तत्काल वाम एकताको सम्भावना देखिँदैन। हुन त त स्वार्थको लागि जे पनि गर्न सक्छन्।’

निर्वाचनमा सोचेजस्तो नतिजा ल्याउन नसकेका एमाले अध्यक्ष ओली र पाँचदलीय गठबन्धनमा रहेका प्रचण्ड-माधव अहिले नै मिल्न सक्ने नदेखिएको बताए। 

‘ओलीजी हार्नु भयो भनेर अरु मिसिन जाँदैनन्। अरु पनि अहिले हामीले जित्यौँ अब ‘बार्गेनिङ’ गर्न सकिन्छ भनेर जाने देखिँदैन। त्यसैले अहिलेको परिस्थितिमा वाम एकता सम्भव छैन‚’ उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.