|

काठमाडौं : पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले स्थानीय चुनाव र रुस-युक्रेन युद्धका कारण समयमै पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको बताएको छ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकमा केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले रुस-युक्रेन युद्धका कारण किताब छाप्ने कागज आइनपुगेकाले छाप्न ढिलाइ भएको बताए। स्थानीय निर्वाचनमा होमिएकाले पाठ्यपुस्तक छाप्ने कागज ल्याउन ढिलाइ भएको उनको भनाइ थियो।

यस शैक्षिक सत्रमा विद्यार्थीका लागि आवश्यक २ करोड पाठ्यपुस्तकमध्ये ३५ लाख मात्र अब छाप्न बाँकी रहेको केन्द्रको दाबी छ। छापिएका पाठ्यपुस्तक भने जेठ ९ गते देशभरिका ९ वटा डिपोबाट वितरण गर्न थालिएको प्रबन्ध निर्देशक झाले बताए।

अबको एक हप्ताभित्र पाठ्यपुस्तक छापेर पहाडी तथा दुर्गममा किताब पुग्ने व्यवस्था मिलाएको उनले बताए। पाठ्यपुस्तक पठाउन हिमाली र दुर्गम पहाडी जिल्लालाई प्राथमिकता दिएको उनको भनाइ छ। 

कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक छाप्ने जिम्मा जनक शिक्षाले पाएको छ। शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले छापिएका पाठ्यपुस्तक तुरुन्तै विद्यार्थीको हातहातमा पुर्‍याउन निर्देशन दिइन्।

समितिका तर्फबाट उनले बाँकी रहेका पाठ्यपुस्तक तुरुन्तै छाप्न केन्द्रलाई निर्देशन दिँदै केन्द्रबाट मात्रै सम्भव नभए अरु छापाखानाबाट पनि किताब छपाउन निर्देश गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.