|

काठमाडौं: स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले धादिङमा ठूलाे क्षति ब्यहोरेको छ।

२०७४ को स्थानीय तह निर्वाचनमा जिल्लाका १३ मध्ये ८ वटा पालिकामा जित्दै राम्रो पकड जमाएको एमाले धादिङले यो पटक फुटको कारण पाँच दलीय गठबन्धनसँग जित्न सकेन।

जसका कारण धादिङमा एमाले तेस्रो स्थानमा झरेको छ। गत स्थानीय चुनावमा धुनीबेँसी नगरपालिका, गंगाजमुना गाउँपालिका, त्रिपुरासुन्दरी, नेत्रावती डवजोङ, सिद्धलेक, गजुरी, थाक्रे र गल्छी गाउँपालिका जितेको एमाले यस पटक २ वटा गाउँपालिका प्रमुखमा चित्त बुझाउन बाध्य बनेको छ।

यस पटकको निर्वाचनमा थाक्रे गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार राम प्रसाद बिडारीलाई हराउँदै एमालेका रामकुमार आचार्य निर्वाचित भए भने गल्छी गाउँपालिका अध्यक्षमा पनि गठबन्धनका उम्मेदवार कृष्णहरी श्रेष्ठलाई पराजित गर्दै एमालेका केदारनाथ खतिवडा विजयी हुन सफल भए।

एमालेले दुवै पालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवारलाई हराएको हो।

धादिङमा दोस्रो पटकको स्थानीय चुनावमा सबैभन्दा ठूलो दल कांग्रेस बनेको छ। कांग्रेसले ७ वटा स्थानीय तहमा प्रमुख, ५ वटामा उपप्रमुख र ३६ वटा वडा जितेको छ।

०७४ मा तेस्रो बनेको माओवादी केन्द्र गठबन्धनकाे सहायतामा यो पटक दोस्रो बन्न सफल भएको छ। माओवादीले ३ प्रमुख, ५ उपप्रमुख सहित ३२ वटा वडा जितेको छ।

पहिलो बाट तेस्रोमा झरेको एमालेले २ वटा प्रमुख र २१ वटा वडामा चित्त बुझायो भने  एमालेबाट चोइटिएर बनेको नेकपा एकीकृत समाजवादीले १ प्रमुख ३ उप प्रमुख सहित ६ वटा वडामा जितेको छ। धादिङमा स्वतन्त्र उम्मेदवार र राप्रपाका उम्मेदवारले ४/४ वटा वडा र जसपाले १ वटा वडा जितेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.