|

पाेखरा : पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगकाे कार्यशैलीप्रति आक्राेश पाेखेका छन्। आयाेगले बदनियत राखेकाेले स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको उनले बताए।

नेकपा (एकीकृत समाजवादी)बाट मेयर निर्वाचित आचार्यले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया संवैधानिक निकायको मर्यादामा नबसेका कारण ५० प्रतिशतभन्दा बढी मत बदर हुन गएको भन्दै चर्को आलोचना गरेका हुन्।

पोखरामा बुधबार आयोजित विजय सभामा बोल्दै उनले भने, ‘दिनेशकुमार थपलियाको यही खालको रवैया, यही खालको गतिविधि र भाइबन्दी गर्ने हो पदमा बसिरहन नैतिक अधिकार छैन। थपलियाले आफैँले आफैँलाई नैतिक अधिकार के हो ? भनी सोध्न जरुरी छ। तपाई संवैधानिक निकायको मर्यादामा बसिदिनोस्। निर्वाचन आयोग यति धेरै बदनियत हुनुपर्ने थिएन। तराईका जिल्लामा ५० प्रतिशत बढी मत बदर भएको छ। तपाईंको कार्यक्षमताकाे प्रश्न निर्वाचन आयोगमाथि उठेको छ। तपाईंले जवाफ दिनु जरुरी छ। यो खालको बदनियत गर्न मिल्दैन।’

आफूले २७ हजार बढी मतान्तरले चुनाव जित्ने र गठबन्धन तर्फबाट उपमेयरको पनि १६ हजार बढी मतका साथ विजयी हुने अवस्थामा निर्वाचन आयोगको रवैया ठीक नभएकाले यसाे हुन नसकेकाे उनले दाबी गरे।

उनले अबदेखि महानगरमा भाषण भन्दा पनि समृद्ध पोखरा बनाउने गरी काम सुरु गर्ने प्रतिवद्धता व्यक्त गरे। अब कसरी काम अघि बढाउने भन्नेबारे क्लोज क्याम्प गर्ने योजना पनि मेयर आचार्यले सार्वजनिक गरे।

क्लोज क्याम्पमा पोखराका ३३ वटै वडाका वडाध्यक्ष, मेयर, उपमेयर, महानगरका प्रमुख प्रशासकीय अधिकृत, महानगरका विभिन्न विभागीय प्रमुखको मात्र उपस्थिति हुने र पोखरा बनाउन घनीभूत छलफल गर्ने उनकाे भनाई थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.