|

रुपेन्द्र पटेल

रौतहट : रौतहटका १८ वटै स्थानीय तहको मतगणना सकिएको छ। मत परिणामअनुसार कांग्रेसले ७, नेकपा एकीकृत समाजवादी ४, नेकपा एमालेले ३, लोसपाले दुई, जसपाले एक र माओवादी केन्द्रले एक पालिकामा जित हात पारेको छ।

नेपाली कांग्रेसले राजपुर, कटहरिया, गढीमाई, चन्द्रपुर, परोहा, फतुवा विजयपुर र माधव नारायण नगरपालिकामा जित हात परेको छ। २०७४ को निर्वाचनमा ८ पालिकामा जित हासिल गरेको कांग्रेसले रौतहटमा योपटक ७ पालिकामा जित हासिल गरेको हो।

यसअघि, कांग्रेसले जित हासिल गरेको वृन्दावन, दुर्गा भगवती र राजदेवी भने गुमाएको छ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले रौतहटका ४ पालिकामा जित हासिल गरेको छ। नेकपा एसले वृन्दावन, गौर, बौधीमाई र राजदेवी नगरपालिकामा विजयी भएको छ।

त्यसैगरी, नेकपा एमालेले जिल्लाको देवाही गोनाही, मौलापुर र गरुडा नगरपालिकामा जित हात पारेको छ। २०७४ को निर्वाचनमा रौतहटबाट पत्तासाफ भएको एमालेले योपटक ३ पालिकामा जित हासिल गरेको छ। यसअघि माओवादी केन्द्रले जित हासिल गरेको मौलापुर र संघीय समाजवादी फोरम, नेपालले जित हासिल गरेको देवाही गोनाही र गरुडामा एमालेले जित हात पारेको हो।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि रौतहटका २ पालिकामा विजयी हासिल गरेको छ। जिल्लाको ईशनाथ नगरपालिका र यमुनामाई गाउँपालिकामा विजयी भएको छ।

त्यसैगरी, गुजरा नगरपालिकामा जनता समाजवादी पार्टी, नेपालले र दुर्गा भगवती गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जित हात पारेको छ। २०७४ को निर्वाचनमा तीन पालिकामा जित हासिल गरेको माओवादी केन्द्रले रौतहटमा यो पटक एउटा पालिकामा जित हासिल गरेको हो।

यसअघि, माओवादी केन्द्रले जित हासिल गरेको कटहरिया र यमुनामाई भने गुमाएको छ।

स्थानीय तह निर्वाचनको मतपरिणाममा रौतहट जिल्लामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। रौतहटका ७ पालिकामा जित हात पारेपछि कांग्रेस पहिलो दल बनेको हो। त्यस्तै, नेकपा एकीकृत समाजवादी दोस्रो भएको छ। सो पार्टीले रौतहटका ४ पालिकामा जित हात पारेको छ। त्यस्तै नेकपा एमालेले ३ पालिकामा जित निकाल्दै तेस्रो भएको हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.