|

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले स‌ंसद्‌मा मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा स्वास्थ्य सेवाका कार्यक्रमलाई प्रमुखताका साथ समेटिएको छ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा हरेक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्नेदेखि किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइनेसम्मका लोकप्रिय कार्यक्रम समेटिएका छन्।

यी हुन् सरकारको नीति तथा कार्यक्रममा समेटिएका स्वास्थ्यका महत्त्वपूर्ण विषयहरू

सबै प्रदेशमा कम्तीमा दुइटा मेडिकल कलेज सरकारले सञ्चालन गर्ने

सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइने सरकारले जनाएको छ। यस्तै दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धारलाई थप व्यवस्थित बनाइने, बालबालिकाको हक सुनिश्चित गर्दै आधारभूत स्वास्थ्य शिक्षा र पोषणमा सबैको पहुँच अभिवृद्धि गरिने तथा सामुदायिक विद्यालयमा स्वास्थ्य परिचारिकाको व्यवस्था गरिने समेत सरकारले निति तथा कार्यक्रममा समेटेको छ।

किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने

सरकारले अब देखि ४० वर्षभन्दा माथिका नागरिकको वर्षमा एकपटक आधारभूत स्वास्थ्य परीक्षण नि:शुल्क गर्ने कार्यक्रम पनि ल्याउने जनाएको छ। आधारभूत स्वास्थ्य परीक्षणमा रक्तचाप, पिसाब, अल्बुमिन, सुगर लगायतका प्रयोगशाला परीक्षण पर्दछन्।

पाठेघरको मुखको क्यान्सरको नि:शुल्क स्क्रिनिङ सेवा सुरु गर्ने, पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कार्यक्रम विस्तार गर्ने, स्तन क्यान्सर निदान एवं उपचारलाई सहज र सुलभ बनाउन विशेष कार्यक्रम ल्याइने सरकारले निति तथा कार्यक्रममा समेटेको छ।

यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालित सम्पूर्ण सामाजिक सुरक्षा कार्यक्रमहरुलाई एकीकृत गर्दै स्वास्थ्य बीमामार्फत वित्तीय व्यवस्थापन गरिने, त्यसका लागि सबै अस्पतालहरूमा एक सामाजिक सेवा एकाइ स्थापना गर्ने कार्यक्रम पनि ल्याउने भएको छ। यस्तै,नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका बहु क्षेत्रीय कार्ययोजना (२०७८-२०८३) कार्यान्वयन गर्नका लागि सबै क्षेत्रहरूसँग सहकार्य तथा बहुपक्षीय सरोकार राख्ने सबै क्षेत्रहरूलाई नसर्ने रोग रोकथाममा जिम्मेवार बनाइने समेत सरकारले जनाएको छ।

प्रदेशको सहभागिता र समन्वयमा सबै प्रदेशमा सरकारी स्वामित्वको रक्तसञ्चार केन्द्र स्थापना गरिने,  बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने,ज्येष्ठ नागरिकका लागि विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गरिने, जनस्वास्थ्यका कार्यक्रममार्फत रोगको रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाइने, केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई आधुनिक एवम् सुविधा सम्पन्न बनाई सबै प्रकारका विशिष्टीकृत परीक्षण सरल र सहज रुपमा हुने व्यवस्था मिलाउने नीति तथा कार्यक्रमा उल्लेख गरिएको छ।

स्वदेशमै कोरोनाविरुद्धको खोप उत्पादन गर्ने

यस्तै सरकारले स्वदेशमै कोरोनाविरुद्धको खोप उत्पादन नीति ल्याइने समेत नीति तथा कार्यक्रममा समेटेको छ। यस्तै आधारभूत र जीवनरक्षक औषधि र अक्सिजन, तथा औषधिजन्य सामग्री उत्पादनलाई थप प्रोत्साहन गरिने, नेपाली औषधि उत्पादकहरूको उत्पादन क्षमता बढाई औषधि आपूर्तिमा सुधार गरिने तथा परम्परागत ज्ञान तथा मौलिक सिपमा आधारित लघु तथा घरेलु उद्योगलाई प्रविधि हस्तान्तरण तथा बजार संरक्षणमार्फत प्रवर्धन गरिने महत्त्वपूर्ण विषयलाई समेत नीति तथा कार्यक्रममा समेटेको छ।

यस्तै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विस्तार गरिने,शारीरिक तथा मानसिक अपांगता भएका व्यक्ति एवं क्यान्सर लगायतका दीर्घ रोगीका लागि प्रत्येक प्रदेशमा पुनस्थापना तथा परामर्श केन्द्र स्थापना गरिने, एक स्वास्थ्य संस्था रणनीति कार्यान्वयनमा ल्याई प्रतिजैविक औषधिको प्रतिरोधलाई न्यून गरिने समेत सरकारले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.