|

काठमाडौं : संसारमा नेपाली मात्र त्यस्ता मानिस हुन्, जसको शब्दकोशमा हार नाम गरेको शब्द भेटिन्न। नेपालीहरू जहाँ जुन अवस्थामा भए पनि जितलाई आत्मसात गर्छन्। सायद त्यही भएर पो हो कि? नेपालीहरू विश्वमाझ वीर गोर्खाली नामले परिचित छन्।

युद्ध होस् या प्रेम, चुनावी मैदान होस् वा खेल अथवा परीक्षा नै किन नहोस् त्यहाँ केवल जित वा हार मात्र विकल्प हुन्छ। तर नेपालको परिवेशमा भने हरेक परिस्थिति र हरेक अवस्थामा जितको विकल्प हुँदैन। सुन्दा अचम्म लाग्न सक्छ तर यस्तो अनौठो तर ध्रुवसत्य वास्तविकता केवल भोग्नेहरू अर्थात् नेपालीहरूलाई मात्र थाहा हुन्छ।

सोझो अर्थमा भन्नुपर्दा हामी नेपालीहरूको जित दुई प्रकारको हुन्छ। हामी नेपालीहरू कि त प्रतिस्पर्धाको नतिजामा जित्छौँ कि अरूको मन जित्छौँ तर जित्न चाहिँ जित्छौँ।

शुरुमा युद्धकै कुरा गरौँ। हाम्रा पुर्खाले नालापानीदेखि कालापानीसम्मका अनेक युद्ध जिते। राज्यविस्तारका क्रममा जितेका ती क्षेत्रहरूमध्ये अधिकांश भूभाग अहिले हाम्रो देशको नक्साभित्र छैनन्। हामीले युद्धमा हारेर अहिले ती क्षेत्र हामीसँग नभएका त होइनन् तर युद्ध जितेर पनि जमीन भने गुमायौँ।

तैपनि हामी हार्न चाहिँ हारेनौँ। युद्ध त जितेकै थियौँ, त्यसमाथि सारा विश्वको मन पनि जित्यौँ। त्यसैले त हामीले अहिलेसम्म पनि मेरा पुर्खाले घिउ खाएका थिए नपत्याए मेरो हात सुँघ भन्न पाएका छौँ।

म पनि बच्चैदेखि जितप्रेमी मान्छे नै हुँ। यद्यपि कहिलेकाहीँ आफ्नै जित आफ्नै लागि गलपासो बनेर आइदिन्छ। बच्चा बेलामा दशैँमा बाले टीका लगाइदिने क्रममा दिदीबहिनीलाई दक्षिणा दिएपछि ला तँलाई पनि भनेर पचासको पत्तो तेर्स्याउनुभएथ्यो। त्यसैवेला मलाई पनि कुन्नि कुन कालराहुले छोपेछ, म त छोरो मान्छे पो त, मैले त दक्षिणा लिने होइन‚ दिने पो हो भनिदिएँ।

बाले मुस्कुराउँदै स्याबास् अब भने छोरो बुझ्ने भएछ भनेर आँखै अगाडि ल्याएको पचासको नोट फिर्ता लैजानुभयो। त्यो दिन बाको मन त जितियो तर भोलिपल्ट दिदीबहिनीले दक्षिणाको पैसाले अनेक चिज किनेर खान थालेपछि आफ्नै जित आफ्नै मुटुमा खिल परेर बल्झियो।

अब प्रेमको कुरा गरौँ। क्याम्पस पढ्दाताका 'भाङ पेल धतुरो पेल, मलाई तोरीको तेल' भन्ने उखान चरितार्थ हुनेगरी अनेक तिकडम र तरिका लगाएर वर्ष दिन जति पिछा गरेर बल्ल तल्ल एउटी रूपकी खरानी भए पनि मनकी रानीको मन जितेर प्रेमिका बनाएको थिएँ।

लामो बिदामा घर गएर फर्किँदा त मोरीको सिउँदो भरि सिन्दूर देख्छु। भएछ के भने मैले त मोरीको मन मात्र जितेको थिएँ, एउटा शहरिया लफङ्गोले मन मुटु कलेजो फोक्सो सबै जितेछ। बजारको केटोको कुरा आएपछि नाइँ भन्न सकिनछे। म पनि नेपालीको सन्तान परेँ, हार्न त भएन। त्यो अभागीको भाग्यमा पनि मेरै जुठो खान लेखेको रहेछ, जित त मेरै भयो भन्ने सोच्दै मायालुको शहरमा मेरो गाउँमा घर छ भन्ने गीत गुनगुनाउँदै मन बुझाएँ।

हाम्रो नेपालको खेलको त झन् कुरा गरी साध्य छैन। नेपालको खेल क्षेत्रको त आदर्श वाक्य नै जित्नुभन्दा ठूलो कुरो हिम्मत नहार्नु हो भनेर राखिदिए हुन्छ। यहाँ खेलाडीदेखि प्रशिक्षकसम्म कोही हार्ने वाला छैनन्। एकपटक फुटबल खेलका लागि विदेशी प्रशिक्षक झिकाइयो। विदेशी प्रशिक्षकले कार्यभार सम्हालेको पहिलो दिन नै पत्रकार सम्मेलनमा यदि मेरो टिमले खेल हार्‍यो भने त्यसको सम्पूर्ण दोष मलाई दिनु‚ मेरो टिमका खेलाडीलाई गाली नगर्नू भनेर समर्थकलाई सन्देश दिएँ।

यी प्रशिक्षकले त एउटा खेल पनि नखेलाउँदै समर्थकहरूको मन जित्न थालिहाले। अब भने हाम्रा खेलाडीले पनि केही गर्छन् कि भन्ने आशाको त्यान्द्रो पलाउन थाल्यो। एक डेढ महिना प्रशिक्षणपछि अब जित्ने पालो खेलाडीको थियो। उपाधि जित्ने आशा गर्नू त आशा गर्नेकै बेवकुफी हुन जान्छ तर उपाधि नजिते पनि  आखिर नेपाली हो नि, समर्थकको मन त सजिलै जितिहाले।

३,४ पटक पास खेलिसक्दा पनि अर्को टीमलाई खोस्न सकेनन्। अलिअलि गोल जाबो त खाइहालिन्छ नि, त्यसको त के हिसाब भयो र ? तर केटाहरूले यसपालि त झन् समर्थकको मन गज्जबले जिते। त्यसैले हाम्रा खेलाडीको शब्दकोशमा पनि हार भन्ने शब्द त छैन।

अरू देशका खेल र खेलाडीको समर्थन गर्दासमेत हामी नेपालीहरू पहिल्यैदेखि केवल मेरो टिमले खेल जित्छ कि मन जित्छ भन्ने दोधारमा हुन्छौँ, हार हाम्रो स्मृतिपटलको छेउमा समेत पर्दैन।

म स्वयंले जन्मने वेला नै क्याम्पसको परीक्षामा प्रथम हुनु कुन चराको नाम हो भनेर थाहा पाउने भाग्य ल्याउन बिर्सेछु, त्यसैले नतिजा सार्वजनिक हुने दिनमा जित्न कहिल्यै सकिनँ। परीक्षामा भने म सदावहार विजेता हुन्थेँ। जिन्दगीमा कैयौँ पटक चौथी हान्ने निहुँमा छिमेकीको बारीका काँक्रा मूलादेखि फर्सीसम्म उछिट्याइयो। तर परीक्षामा चिट चोर्न भने कहिल्यै सकिएन। त्यही भएर परीक्षामा गार्ड बस्नेहरू यसको जसरी लेख्नु नि सबैले भनेर मेरै उदाहरण दिन्थे। नतिजामा कहिल्यै नजिते पनि परीक्षामा भने सधैँ म नै विजेता बन्थेँ गार्ड बस्नेहरूको मन जितेर।

हामी नेपालीहरू चुनावमा समेत हार्दैनौँ। अस्ति भर्खरको चुनावमा मेरा अनन्य हितैषीका पिताश्री पालिका प्रमुख उठ्नुभएको थियो। उठ्ने वेला खै के मेसो मिलेन कुन्नि बडो बेस्वादले पछारिनुभयो।

बूढा पछारिएको देखेर दुर्जनहरूको एउटा झुण्ड बहुत खित्का छाडेर हाँस्यो। हुनत दुर्जनहरू अरू पछारिँदा हाँस्नु प्राच्य नीति शास्त्रको मर्यादामाथिको सम्मान हो। किनकि कोही लड्दा दुर्जनहरू हाँस्छन् तर सज्जन उठाउन जान्छ भन्ने शास्त्रोक्ति नै छ। तर मेरो सज्जन हितैषीले चुनावको परिणाम आउनासाथ फेसबुकको भित्तामा बुवाको फोटो टाँसेर लेखिहाल्यो 'माई च्याम्पियन'।

यहाँ त बूढाले मात्र होइन बूढाको छोरोले समेत मन जितिहाल्यो। तत्कालै मेरो हितैषीका पिताश्रीकै हितैषीहरूले चुनावी परिणाम जे भए पनि तपाईँ हार्नुभएको होइन, तपाईँले कैयौँ शुभेच्छुकहरूको मन जित्न सफल हुनुभएको छ भन्दै प्रतिक्रिया दिन थालिहाले। सामाजिक सञ्जालका भित्ता हेर्दा त बूढाले चुनाव त मैले नै पो जितेको रहेछु भन्दै पदबहाली नै गर्न जाने हुन् कि भन्ने अवस्था बनिसकेछ।

यस्ता अनेक जितका कथाहरूसँग जम्काभेट भएपछि र अनेक किसिमका जितहरूको प्रत्यक्षदर्शी बनेपछि भने म पनि निष्कर्षमा पुगेँ, नेपालीहरू हार्न जान्दैनन्। वास्तवमा नेपालीहरूको पर्यायवाची नाम नै जितबहादुर हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.