|
फाइल फोटो

संखुवासभा : संखुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जले बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन खुला गरेको छ। कोरोना संक्रमणका कारण दुई वर्षदेखि मकालु वरुण राष्ट्रिय निकुञ्जले यार्सागुम्बा संकलनमा रोक लगाएको थियो।

मकालु वरुण राष्ट्रिय निकुञ्जले जेठ १० गतेदेखि यार्सागुम्बा संकलन खुला गरेको मकालु वरुण राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख रामदेव चौधरीले जानकारी दिए।

मकालु वरुण राष्ट्रिय निकुञ्जले जेठ १० गतेदेखि एक महिना यार्सागुम्बा संकलन गर्न अनुमति दिएको निकुञ्जका प्रमुख चौधरीले बताए। मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुई प्रजातिका मात्र यार्सा पाइने गरेका छ।

मकालु वरुण राष्ट्रिय निकुञ्ज कार्यालयले सोलुखुम्बु जिल्लाका महाकुलुङ र छेस्काम मध्यवर्ती उपभोक्ता समिति, संखुवासभाको किमाथाङ्का मध्यवर्ती उपभोक्ता समिति, चेपुवा मध्यवर्ती उपभोक्ता समिति, अरुण वरुण मध्यवर्ती उपभोक्ता समिति, मकालु मध्यवर्ती उपभोक्ता समिति, पाथिभरा मध्यवर्ती उपभोक्ता समिति, सेदुवा मध्यवर्ती उपभोक्ता समिति, पुखुवा मध्यवर्ती उपभोक्ता समिति, सिलिचोङ मध्यवर्ती उपभोक्ता समिति, मान्तेवा मध्यवर्ती उपभोक्ता समिति, ताम्कु मध्यवर्ती उपभोक्ता समिति, बाला मध्यवर्ती उपभोक्ता समिति र सिसुवा मध्यवर्ती उपभोक्ता समितिमार्फत पुर्जी दिने व्यवस्था गरेको छ। अनुमति लिएका व्यक्ति वा समूहले जेठ १० गतेदेखि असार १० गतेसम्म यार्सा सङ्कलन गर्न पाउने छन्।

यार्सागुम्बा मकालु गाउँपालिका, भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रको मकालु वरुण निकुञ्ज लगायत ठाउँमा पाइन्छ। उच्च हिमाली क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा मानिन्छ। संकलन गरेको यार्सागुम्बा बेचेर स्थानीयले वर्षभरिको आवश्यक घर खर्च, बालबच्चा पढाउने खर्च जुटाउने गरेको स्थानीयको भनाइ छ।

यार्सागुम्बा संकलनका लागि निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रभित्रका स्थानीयलाई ५ सय, मध्यवर्ती क्षेत्र बाहिरका तर जिल्लाभित्रका भए दुई हजार रुपैयाँ र जिल्ला बाहिरका लागि तीन हजार प्रवेश शुल्क तोकेको मकालु वरुण राष्ट्रिय निकुञ्जले जनाएको छ। निकुञ्जले विगतका वर्षमा यार्साबाट वार्षिक ५० लाख रुपैयाँ बढीको राजस्व सङ्कलन गर्ने गरेको छ।

गुणस्तरका आधारमा एक नम्बरको यार्सागुम्बालाई केजीको ४० लाखसम्म बिक्री हुने गरे पनि सङ्खुवासभामा यार्सागुम्बा प्रतिकेजी साढे ५ लाखदेखि साढे ७ लाखसम्ममा किनबेच हुने गरेको व्यापारीको भनाइ छ। यसरी संकलन गरिएको यार्सा चीनको तिब्बत तथा काठमाडौं र तिब्बततर्फ बढी निकासी हुने गरेको छ। मकालु वरुण राष्ट्रिय निकुञ्ज संखुवासभा र सोलुखुम्बुको १ हजार ५ सय वर्गकिलोमिटरमा फैलिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.