|

जुम्ला : जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्र पाँच महिनादेखि कार्यालय प्रमुखविहीन भएको छ। लामो समयदेखि कार्यालय प्रमुख नहुँदा नियमित रूपमा दिइँदै आएका सबै सेवा प्रभावित भएका हुन्।

त्यस्तै कार्यालय प्रमुख देवेन्द्र ठाकुर पुस महिनामा सरुवा भएर जाजरकोट गएपछि कार्यालय प्रमुखविहीन भएको छ। पुसदेखि प्रमुख ठाकुर जाजरकोटको रमाना लिएर गएका थिए। उनी फेरि जाजरकोटले हाजिरी हुन नदिएको भन्दै जुम्ला फर्किएर चैत १ गतेसम्म हाजिरी गरेका थिए। त्यसपछि उनी सुर्खेत गएका थिए। प्रमुख नहुँदा आर्थिक कारोवार सबै बन्द छन्। कार्यालय प्रमुख नहुँदा यसअघि यो कार्यालयले खरिद गरेका औषधि, प्रयोगशाला, फर्निचर, ल्याबका मेसिनरी सामग्रीको भुक्तानी समेत हुन सकेको छैन।

त्यस्तै स्वास्थ्य केन्द्रका वैद्य गोर्खबहादुर रावतले लामो समयदेखि कार्यालय प्रमुख नहुँदा करारका कर्मचारीले पाँच महिनादेखि तलब समेत नपाएको बताए। उनले यहाँ १५ जना कर्मचारी रहेको र करारका १३ जना कर्मचारीले तलब नपाएको बताए। उनले अहिले कार्यालय प्रमुख पठाइदिन भन्दै आफू कर्णाली प्रदेशको राजधानी सुर्खेत धाइरहेको बताए।

कार्यालय प्रमुख पठाउने कुरामा सुनुवाइ नभएको बताए। उनले भने, ‘सामाजिक विकास मन्त्रालय सहितका सरोकारवाला निकायमा कार्यालय प्रमुखको व्यवस्था गरिदिन भनी सातौँपटक पत्र समेत पठाएको थिएँ।’ पत्रमार्फत सुनुवाइ नभएपछि आफैँ प्रदेश पुगेको बताए। प्रमुख नपठाउँदा आयुर्वेदका सबै काम प्रभावित भएका छन्। उपचार गर्न आएका सेवाग्राहीलाई औषधि तथा आवश्यक सामग्री छैन भनेर फर्काउने काम गरिएको छ।

पुँजीगत वित्तीय प्रगति शून्य

त्यस्तै आयुर्वेदलाई आवश्यक फर्निचर खरिद, ल्याबका सामग्री खरिद, औषधि खरिदको भुक्तानी समेत हुन नसक्दा पुँजीगत वित्तीय प्रगति शून्य छ। कार्यालय प्रमुख नहुँदा कार्यालय मर्मत गर्ने रकम २० लाख र ५ लाख डिपिआरका लागि मुस्किलले आएको थियो। त्यो काम पनि हुन नसक्ने अवस्था भएको वैद्य गोर्खबहादुर रावतले बाताए। 

त्यस्तै आयुर्वेदको यो हालतका विषयमा मन्त्रालयले खासै प्राथमिकता दिन नसक्दा जुम्लामा रहेको एक मात्र आयुर्वेद अस्पताल धरापमा पर्ने सम्भावना रहेको छ। १० महिना कटिसक्दा कार्यालयको पुँजीगत काम मर्मत सम्भार, डिपिआर निर्माण तथा मर्मत, औषधि खरिद, नागरिक आरोग्य केन्द्र स्थापनाका काम हुन सकेका छैनन्। डिपिआर तथा मर्मतको काम अब यो वर्ष फ्रिज हुने देखिन्छ। जेठको दोस्रो साता लागिसक्यो सूचनाकै समय एक महिना समय हुने भएकाले कार्यालयलाई डर बढेको छ।

आयुर्वेदका वैद्य रावतका अनुसार आफूलाई मन्त्रालयले एउटा पत्र दिएको थियो। पत्रमा तलब, भत्ता, पोशाक, घरभाडा, बत्ती, बिजुली महसुल शीर्षक खर्च गर्नका लागि पत्र प्राप्त भएको तर त्यस पत्रले करारका कर्मचारीले तलब नपाउने भएकाले समस्या भएको छ। अन्य काम केही पनि गर्न नसकिने रहेको छ।

खाली हात फर्किन्छन् सेवाग्राही

जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्रमा सेवाग्राही भने धेरै आउँछन्। दैनिक १५ देखि ३० जना सेवाग्राही आउँछन् तर औषधि अभावले समस्या बढेको छ। खातामा पैसा छ तर औषधि खरिद गर्न काम नबढाएपछि सेवाग्राही औषधी लिनबाट समेत वञ्चित भएका छन्। अहिले त औषधि छैन भन्ने थाहा पाएपछि सेवाग्राही घट्न थालेका छन्।

त्यस्तै गत आर्थिक वर्षमा पनि कार्यालय प्रमुखकै कारण काम गर्न नसकेर १२ लाख फ्रिज भएको बताइएको छ। आयुर्वेद स्वास्थ्य केन्द्र धरापमा परेकोमा स्थानीयको चिन्ता बढेको छ। स्थानीय अगुवा राजुशरण न्यौपानेले ठूलो उद्देश्यका साथ स्थापना गरिएको संस्थामा भएका कर्मचारीले काम नगर्नु र राज्यले पनि यसको स्तरवृद्धिमा ध्यान नदिएको गुनासो गरे।

त्यस्तै सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सक लक्ष्मीनारायण तिवारीका अनुसार समस्या समाधानका लागि चाँडै पहल गर्न सचिवसमक्ष विषय पुर्‍याइने र चाँडै समस्या समाधान हुने आशा गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.