|

पर्वत : कास्कीको पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले बिहीबार पदभार ग्रहण गरे लगत्तै तीन ओटा निर्णयहरू गरेका छन्।

जसमा न्यून आय भएका पोखरेलीका बच्चाले आगामी आर्थिक वर्षदेखि पोषण भत्ता पाउने, पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सङ्घ सरकारलाई लिखित आग्रह पठाउने र पोखरालाई चिनाउन सिम्बोल अफ पोखरा बनाउन आह्वान गर्ने रहेका छन्।

पोखरालाई पर्यटकीय राजधानी बनाउनुपर्ने भनी काठमाडौँ पुगेर अर्थमन्त्री जनार्दन शर्मा र पर्यटन मन्त्री प्रेमबहादुर आलेलाई भेटेर यो बारेमा कुराकानी गरेका उनले पोखरालाई चिनाउने योजनाअन्तर्गत पर्यटकीय राजधानी घोषणा गर्न सङ्घ सरकारलाई लिखित आग्रह गरी पठाउने अर्को निर्णय गरेका हुन्।

पोखरालाई पर्यटकीय सहरको रूपमा चिनाउने र धेरै पर्यटकहरूलाई आकर्षण गरी आम्दानी बढाउने सोच राखेका महानगर प्रमुख आचार्यले त्यसैलाई बल पुग्ने गरी ‘सिम्बोल अफ पोखरा’ निर्माण गर्न आह्वान गर्ने निर्णय भएको छ।

आगामी बजेटमा यसका लागि आवश्यक बजेट विनियोजन गरेर उत्कृष्ट ‘सिम्बोल’ तयार पार्नेलाई दुई लाख रुपैयाँ पुरस्कार स्वरूप दिने तयारी भएको पनि उनले जानकारी दिएका छन्। अक्सफोर्ड युनिभर्सिटी, पेरिस लगायतका संस्था र ठाउँहरूले त्यस्ता ‘सिम्बोल’ निर्माण गरेजस्तै पोखराको लागि पनि त्यस्तै ‘सिम्बोल’ बनाउन सृजनशील युवारुलाई आह्वान गरिने उनको भनाई छ।

पोखरा महानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन्। आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतको अन्तरले पराजित गरेका हुन्। खसेको एक लाख ४३ हजार २२६ मतमध्ये आचार्यले ५८ हजार ८९३ मत र थापाले ५२ हजार ८४८ मत पाएका थिए।

गठबन्धनले यस पटकको स्थानीय तहको निर्वाचनका लागि तयार पारेको चुनावी प्रतिबद्धता पत्रमा पर्यटन क्षेत्रका लागि विभिन्न कामहरू गर्ने उल्लेख गरेको छ। जसमा पर्यटकीय गौरवका योजना सम्पन्न गरी पर्यटकको पोखरा आगमनको सङ्ख्या, बसाइको अवधि र खर्च गर्ने दर बढाइने, आर्थिक वर्ष २०८४/०८५ सम्ममा महानगरमा वार्षिक १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिएकाे छ।

पर्यटन मार्फत रोजगारीका अवसरहरू बढाइने, पोखरा ताल संरक्षण तथा जैविक विविधता प्रवर्धन परियोजना सञ्चालन गरिने, हस्तकलाका सामाग्री उत्पादन गर्ने ‘पोखराको सम्झना’ उद्योगको स्थापना र सञ्चालन, पोखरालाई मास टुरिजमको हबको रूपमा विकास गरिने, पर्यटकीय गतिविधिलाई २४ घण्टा खुल्ला राख्न पहल गरिने, पोखरा आसपासको शान्त र ग्रामीण इलाकामा प्राकृतिक चिकित्सालय सञ्चालन गरिने उल्लेख गरिएको छ।

यस्तै अत्याधुनिक पर्यटन सूचना केन्द्र स्थापना र सञ्चालन गरिने, धार्मिक पर्यटनलाई प्रवर्धन, पोखरादेखि तिब्बतसम्मको डाइरेक्ट हवाई उडान सञ्चालन गरिने, पोखरालाई मुक्तिनाथको प्रवेशद्वार बनाउने याेजना राखिएकाे छ।

लुम्बिनी—पोखरा—मुक्तिनाथ—मानसरोवर हवाई रुट विकास, पोखराका तालहरूबाट नेपालका रारा लगायतका प्रमुख तालहरूमा इन्टर लेक एअर कनेक्सन, टुरिजम हेल्प डेस्क, विश्वशान्ति स्तुपा, वेगनासकोट, ठूला कोट, पुम्दीकोट र काँहु डाँडा लगायतका अन्य पर्यटकीय स्थानमा केबलकारको निर्माणमा जोड दिने भनिएको छ।

पोखराका तालहरूमा वाटर रिक्रियशन, पानीमा खेल्ने साहसिक खेलहरू, क्रुज, फ्लोटिङ्ग रेस्टुरेन्ट जस्ता पर्यटन पूर्वाधार निर्माण, ड्याम साइड, रानीवन हुँदै अनदुडाँडा सम्म प्रिमियम पोनी ट्रेक प्याकेज सञ्चालन गर्ने पनि उद्देश्य राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.