|

विराटनगर : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले मोरङको चारवटा पालिकामा सर्वसाधारणलाई गाउँघरमै निःशुल्क उपचार सेवा उपलब्ध गराइरहेका छन्।

डा.शर्माले मोरङको बेलबारी, सुन्दरहरैँचा, पथरीशनिश्चरे र काने पोखरीका सर्वसाधारणको उपचारका लागि डाक्टरसहितको टोली गाउँ–गाउँमा पठाउने व्यवस्था मिलाइदिएका हुन्। शनिवार बाहेक हरेक दिन नोबेल अस्पतालबाट डाक्टरसहितको टोली सो क्षेत्रमा पुग्ने गर्छ। विरामीहरुलाई टोल–टोलमा भेला गरी डाक्टरहरुले उपचार गर्ने गरेका छन्।

उपचार बापत विरामीले कुनै शुल्क तिर्नु पर्दैन। डा.शर्माले नै निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका हुन्। गरिबीका कारण पैसाको अभावमा कुनैपनि बिरामीले अकालमै मृत्युवरण गर्न नपरोस् भनेर गाउँमै उपचारको व्यवस्था मिलाइदिएको डा.शर्मा बताउँछन्।

उनी भन्छन्, ‘म यही क्षेत्रको मान्छे हुँ, कतिपय मान्छेले पैसा नभएर रोग पालेर बसिरहेका हुन्छन्, आफ्नो ठाउँका मान्छेलाई आफूले सकेको सहयोग गरौँ भनेर टोल–टोलमै डाक्टर पठाएर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएको हुँ।’

बेलबारी–४ स्थायी घर भएका डा.शर्मा नेपाली कांग्रेसका नेतासमेत हुन्। उनी गत प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्र अर्थात मोरङ क्षेत्र नं.३ बाट चुनाव भिडेका थिए, पराजित भए। तरपनि उनी त्यो क्षेत्रका जनताको सेवामा निरन्तर लागिरहेका छन्। उनले केही बर्ष अघिदेखि नै टोल–टोलमा डाक्टर पठाएर विरामीहरुको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएका हुन्। तर, कोरोनाको महामारीका कारण यो अभियान रोकिएको थियो। अहिले पुनः सेवा सुरु गरिएको हो।

डा.शर्माको योजना अनुरुप नोबेलका विशेषज्ञ डाक्टरसहितको टोली एम्बुलेन्स लिएर टोल–टोल पुग्ने गरेका छन्। उनीहरुले भिडियो एक्सरे, इसीजी, ल्याब टेष्टसहितको सेवा त्यहीँ प्रदान गर्छन्। सामान्य विरामीहरुलाई गाउँमै उपचार गरिन्छ। गम्भीर अवस्थामा विरामीलाई आफ्नै एम्बुलेन्समा राखेर नोबेल अस्पताल ल्याई उपचार गर्ने गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए।

डा.शर्माले गरिब, बिपन्न र असहायहरूलाई अस्पतालमा पनि निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएका छन्। गाउँघरमै विशेषज्ञ डाक्टरबाट निःशुल्क उपचार सेवा पाउँदा सो क्षेत्रका सर्वसाधारण हर्षित छन्। उनीहरुले डा.शर्माको सेवा भावको प्रशंसा गर्ने गरेका छन्।

समाजसेवाका क्षेत्र उदाहरणीय व्यक्तिको पहिचान बनाएका डा.शर्माले यसअघि पनि सयौँ गरिब तथा बिपन्न बिरामीलाई उद्धार गरी निःशुल्क उपचार गराइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.