अझै देशभर ७७ लाख मात्रा खोप मौज्दात

|

काठमाडौं: ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई लगाइने कोभिड विरुद्धको फाइजर खोप कोभ्याक्स सुविधामार्फत ६ अर्ब रूपैयाँभन्दा बढी मूल्यको खोप अमेरिकी सरकारले निःशुल्क दिने भएको छ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरासियाका अनुसार अमेरिकाले नेपालका ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने कोभिड विरुद्धको ८४ लाख मात्रा फाइजर खोप (०.५ एमएल पेडियाट्रिक मात्रा) खोप कोभ्याक्स सुविधामार्फत निःशुल्क उपलब्ध गराउने भएको हो। उनका अनुसार नेपालको भण्डारण क्षमता मिलाएर चरणबद्ध रुपमा पेडियाट्रिक मात्राको खोप प्राप्त हुनेछ।

यसअघि सरकारले ५ देखि १५ वर्षका बालबालिकालाई खरिद गरेरै खोप ल्याएर लगाउने निर्णय गरेको भए पनि अहिले उक्त खोप अमेरिकाले नि:शुल्क दिन लागेको हो। ‘हामीले खोप खरिद गरेर लगाउने निर्णय गरेको भए पनि अब खोप निःशुल्क नै आउने भएको छ, हाम्रो भण्डारण क्षमताअनुसार खोप अब बिस्तारै आउँछ‚’ डा चौरासियाले भने।

असारभित्रै खोप लगाइ सकिने

डा चौरासियाका अनुसार असारभित्रै लगाइने पनि बताए। उनका अनुसार माइनस ७० डिग्रीभन्दा माथिको तापक्रममा भण्डारण गर्नुपर्ने र यसबाट बाहिर निकालेको एक महिनाभित्र खोप लगाइसक्नु पर्ने हुँदा अब खोप आउने बित्तिकै लगाउन शुरु गरिने समेत बताए। ‘अब एक डेढ हप्तामै खोप आउँछ त्यसपछि हामीले लगाउन शुरु गरिहाल्छौँ। सम्भवतः असारको दोस्रो हप्ताभित्र खोप लगाइसकिन्छ‚’ उनले भने।

पहिलो लटमा आउने खोप यसअघि फाइजर खोप लगाइएका जिल्लाहरु (डडेल्धुरा, झापा, सुनसरी, पर्सा, कास्की, बाग्लुङ, कैलाली, कञ्चनपुर, नवलपरासी पूर्व, रुपन्देही, दाङ, बाँके, बर्दिया, कपिलवस्तु, सुर्खेत, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, काभ्रे, चितवन) मा लगाइने र त्यसपछि आउने खोप विस्तारै बाँकी जिल्लामा लगाउँदै जाने तयारी भएको समेत डा चौरासियाले बताए।

‘फाइजर खोपको बनावट अन्य खोपभन्दा अलि फरक भएको हुँदा स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्ने हुन्छ तर यसअघि यो खोप लगाएको जिल्लाहरुमा स्वास्थ्यकर्मीहरुले लगाउने तरिका राम्रोसँग थाहा भइसकेको हुँदा शुरुमा आउने खोप यसअघि लगाइएका जिल्लामा नै लगाइन्छ, त्यसपछि आउने खोप विस्तारै अन्य जिल्लाहरुमा लगाउँदै लैजाने तयारी हामीले गरेका छौं‚’ उनले भने।

अहिले नेपालसँग जम्मा अहिले २० लाख मात्रा मात्रै भण्डारण क्षमता रहेको हुँदा सोहीअनुसार पटक पटक गरेर खोप आउनेसमेत उनले बताए।  

देशभर ७७ लाख मात्रा खोप मौज्दात

यता हाल नेपालभर हाल ७७ लाख मात्रा कोरोना विरुद्धको खोप मौज्दात रहेको छ। केन्द्रीय भण्डारकक्ष र विभिन्न प्रदेश गरी हाल ७७ लाख मात्रा खोप मौज्दात रहेको डा चौरासियाले जनाए। उनका अनुसार हाल फाइजर खोप १३ लाख १२ हजार मात्रा, कोभिसिल्ड ११ लाख ८० हजार मात्रा, साइनोभ्याक्स ४३ लाख ९० हजार मात्रा र मोडर्ना ६ लाख २१ हजार मात्रा खोप मौज्दात रहेको छ।

हालसम्म चिनियाँ खोप साइनोभ्याक्स खोपको मात्रै दुई वर्षसम्म लगाउन मिल्ने भए पनि मोडर्ना, कोभिसिल्ड खोपको म्याद भने जुलाईसम्म रहेको उनले बताए।

५ करोड भन्दा बढी मात्रा खोप आइपुग्यो

नेपालमा कोरोनाविरुद्ध खोप अभियान शुरु भएदेखि हालसम्म डेढ वर्षमा ५ करोड  ३३ लाख ८१ हजार ५७ मात्रा खोप नेपालमा आइसकेको छ भने हालसम्म ४ करोड २३ लाख ८० हजार ५२१ मात्रा खोप लगाइसकिएको छ।

जसमा ९५ प्रतिशत जनसंख्याले पहिलो मात्रा खोप लगाएका छन् भने ८४ प्रतिशत जनसंख्याले पूर्ण खोप लगाएका छन्। हालसम्म ३८ लाख ९७ हजार ६५५ जनाले कोरोनाविरुद्ध बुस्टर मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.