|

हेटौंडा : बागमती प्रदेश सरकार पुनर्गठन हुने भएको छ। 

सत्तारुढ पाँच दलीय गठबन्धनको सहमति बमोजिम नेकपा (एकीकृत समाजवादी)ले नेतृत्व लिइरहेको बागमती प्रदेश सरकार दलहरुबीच भएको सम्झौताअनुसार पुनर्गठन हुन लागेको हो। 

नेकपा (एमाले) विभाजनपछि गत कात्तिक ११ गते बागमती प्रदेशमा गठबन्धनको सरकार बनेको थियो। पार्टी विभाजन भएर एकीकृत समाजवादी बनेपछि अल्पमतमा परेको एमाले कात्तिक १० गते ४ वर्षपछि प्रदेश सरकारको नेतृत्वबाट बाहिरिएको थियो।

एमाले प्रदेश सरकारबाट बाहिरिएपछि एमालेबाटै फुटेर बनेको नेकपा एकीकृत समाजवादीको नेतृत्वमा बागमतीमा गठबन्धनको सरकार बनेको थियो। प्रदेशमा गठबन्धनको सरकार बनाउँदा समाजवादी र नेपाली कांग्रेसले नेतृत्वमा दाबी गरेका थिए।

समाजवादीका संसदीय दलका नेता तथा वर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीमा दाबी गरेका थिए। दुवैजना दावीबाट पछाडि नहटेपछि आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने दलहरुबीच सम्झौता भएको थियो।

सो सम्झौता अनुसार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट समाजवादीको नेतृत्वमा ल्याउने र त्यसपछि कांग्रेसले प्रदेश सरकारको नेतृत्व गर्ने तयारी भएको स्रोतले जानकारी दिएको छ।

‘समाजवादीको नेतृत्वमा स्थानीय तहको निर्वाचन सकेर प्रदेश सरकारको बजेट ल्याउने र त्यसपछि बजेट कार्यान्वयन गर्दै प्रदेशको चुनाव कांग्रेसको नेतृत्वमा गर्ने सहमति भएको थियो’,स्रोतले भन्यो ‘सोही सम्झौता अनुसार असार १ गते प्रदेश सरकारको बजेट आएपछि सरकार पुनर्गठन गर्दै कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी भइरहेको छ।’ 

सम्झौता अनुसार असारमा बागमती प्रदेश सरकार पुनर्गठन भएमा सरकारको नेतृत्व कांग्रेस संसदीय दलका नेता बानियाँले गर्ने भएका छन्। उनी बागमती प्रदेशको चौथो मुख्यमन्त्री बन्नेछन्। 

मुख्यमन्त्री पाण्डेले पनि सरकार पुनर्गठन हुन सक्ने संकेत गरेका छन्। उनले प्रदेशबाट आफूहरुले भनेर केहि नहुने भन्दै केन्द्रको निर्णयअनुसार चल्ने प्रतिक्रिया दिए। असारमा प्रदेश सरकार पुनर्गठन हुन लागेको हो ? भन्ने प्रश्नमा उनले भने ‘भएपछि तपाईहरुले थाहा पाइहाल्नु हुन्छ नि। हामीले भनेर मात्रै हुने होइन,केन्द्रबाट शीर्ष नेताहरुले के भन्छन्,सोहि अनुसार हुने हो।’

 कांग्रेस संसदीय दलका नेता बानियाँले भने दलीय सम्झौता अनुसार प्रदेश सरकार गठन भएको भन्दै सम्झौता कार्यान्वयन हुने बताए। उनले दलहरुबीच सम्झौता गरेरै सरकार बनेको हुँदा उपयुक्त समय आएपछि सम्झौता कार्यान्वयन हुनेमा ढुक्क रहन आग्रह गरे।

‘पहिला सम्झौता जे अनुसार भएको हो, त्यही कार्यान्वयन हुनु पर्दछ। सम्झौता अनुसार गठबन्धन सरकार अगाडि बढ्छ।’ बानियाँले भने, ‘राजनीतिमा सम्झौता, समझदारी र विश्वास भन्ने हुन्छ। राजनीतिक संस्कार अनुसार गठबन्धनले सम्झौता पालना गर्छ।,’ उनले सम्झौता कार्यान्वयन नभए तत्कालीन नेकपामा केपी शर्मा ओली र प्रचण्डबीच भएको घटना दोहोरिने चेतावनी समेत दिए। 

बानियाँको नेतृत्वमा सरकार पुनर्गठन गर्ने विषयमा सत्तारुढ घटक माओवादीको पनि समर्थन छ। माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल पनि सम्झौता अनुसार असारमा बानियाँको नेतृत्वमा सरकार बन्नुपर्ने पक्षमा उभिएको स्रोतको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.