उमेद्वार पछि देश र जनतालाई जिताउने पालो

|

यसपटकको स्थानीय तहको निर्वाचन सकिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधानसभाद्वारा जारी संविधान अन्तर्गत भएको तेस्रो निर्वाचन भए पनि स्थानीय तहको दोस्रो निर्वाचन हो।

संविधानत: देशभरका ७५३ तह भनिए पनि यिनको अधिकार गठन र कार्यविधि हेर्दा आफ्नो क्षेत्रभित्र संघीय सरकार सरह काम गर्न यी स्वतन्त्र छन्।

यिनीहरूले आफैँ कानून बनाउँछन्। आफैँ योजना बनाउँछन्। आफैँ बजेट बनाउँछन्। आफै कार्यान्वयन गर्छन्। प्रस्तावित बजेट र कानुनमाथि यथोचित छलफल गर्छन् र पारित गर्छन्। अधिकार सम्पन्न यी निकायलाई त्यसैले पनि होला स्थानीय सरकार भनिन्छ। जननिर्वाचित यो निकाय व्यवस्थापिका कार्यपालिका र न्यायपालिका पनि हो।

पालिका प्रमुखले न्याय निरूपणबाहेक सबैको अध्यक्षता गर्ने अधिकार राख्छ। न्यायपालिकाको चाहिँ उपप्रमुख वा उपाध्यक्षले अध्यक्षता गर्छ। स्थानीय तहको आकर्षण र महत्त्व बुझेर संविधानसभा सभासद, प्रदेशसभाको सांसद भएका मानिस पनि यसपटकको निर्वाचनमा उम्मेदवार भए।

नेपालमा यसअघि स्थानीय तहलाई अधिकार सम्पन्न गराउने भनिए पनि गाउँ पञ्चायत वा गाउँ विकास समितिमाथि अहिले पालिकाहरूलाई दिएजस्तो अधिकार थिएन। कर निर्धारण उठ्ती र खर्चमा केन्द्रको बोलवाला नै थियो। योजना तर्जुमा बजेट लगायत कुनै कुराको अधिकार थिएन। अहिले यस्ता सबै विषयमा अधिकार सम्पन्न भएका छन्। एउटा वडाध्यक्ष पहिलेको गाविसका अध्यक्ष बराबरको अधिकार राख्ने भएको छ। 

मतदाता शिक्षा कम भएर मतदाता अलमलमा पर्नु, भौगोलिक विकटताका कारण कतिपय मतदातालाई असहज हुनु, मतदाता शिक्षा र सचेतनाको बदला दलहरूले उल्टै आफ्नो पक्षमा तान्न अनेक झुठा कुरा कुरा गर्नु बाहेक यो निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

संघीय प्रणालीमा गएपछि यिनै अधिकारका कारण अघिल्लो कार्यकालमा कतिपय स्थानीय सरकारले लगाएका करका कारण पहिले जस्तो बुझेर संघीय सरकारले आलोचना खेप्नु परेको थियो। अब ती समस्या पनि त्यही तहमा समाधान हुँदै गएका छन्।

यसैगरी कतिपय स्थानीय सरकारले आफ्नो क्षेत्रमा सूचना सञ्चार आर्थिक प्रणाली लगायतका विषयमा जानि नजानी सकी नसकी बुझी–नबुझी अलग्गै कानुन बनाएका छन्। साँस्कृतिक तथा धार्मिक विशिष्टतालाई ध्यान दिएर जात्रा–पर्व, उत्सव  मनाउन अलग्गै आयोजना वा विदा दिने पनि गर्न थालेका छन्। अर्थात् गर्दै सिक्दै अगाडि बढ्दै छन्।

यस क्रममा स्थानीय आवश्यकताको पहिचान गरेर विकास निर्माणका काम उल्लेखनीय रूपमा शुरु भए। यसैक्रममा बनिएका भ्यू टावर र खनिएका सडकले चर्चा आलोचना पनि पाए। कतै आवश्यकताले बने। कतै रहर वा लहडले बने। जे होस् आवश्यकताले बनिएकाको प्रयोग होला। रहर वा लहडले निर्माण भएकाहरूको उपयोग सदुपयोग कसरी गर्ने भन्नेबारे उनीहरू आफैँले छलफल गरेर टुंगो लाग्ला।

जतासुकै सडक खनिए पानीका मुहान सुके भन्ने गुनासाहरू पनि आए। डोजरे विकास भनियो। पहाडका जिल्लाहरूमा वर्षौँ लाग्ने काम छिटो भएका छन्। केहीले आत्तिएर कसैले बिग्रेलाजस्तो लागेर भनेका छन्। कतै गल्ती भएरै भनेका छन्। 

ठाउँमा गाउँगाउँमा सिंहदरबारको नारा र प्रभावले शक्तिको सदुपयोग, प्रयोग र दुरुपयोग पनि भएका समाचार पढ्न सुन्न र देख्न पाइयो। बजेट अपचलन स्रोत साधनको दुरुपयोग पनि प्रशस्तै भएको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षकको प्रतिवेदनबाट थाहा हुन्छ। यीमध्ये धेरै राम्रा र नराम्रा काम सिंहदरबारमा बस्नेहरूलाई रोल मोडल मानेर नै गरिएको मान्नुपर्छ।

समय सधैँ उस्तै रहने छैन। समयले फड्को मारेको छ र मार्दै जानेछ। समयको भाषा नबुझेका कारण पन्छाइएका पहिलेका जस्तै वर्तमानका शासकहरू, दलका नेताहरू पनि परिमार्जित र समयानुकुल नहुने हो भने समयले आफ्नो भाषा बोल्नेछ।

किनभने चार वर्ष ३६४ दिन निर्वाचित दल तिनका प्रतिनिधि लगायत निर्वाचित प्रतिनिधिलाई दिनेछ। चार वर्ष ३६५औँ दिनमा फेरि माला लगाउने कि रसातलमा ठेल्ने हो चुपचाप आफ्नो कर्म गर्नेछ। जुन कुरा यसपटकको निर्वाचन परिणामले प्रशस्तै संकेत गरिसकेको छ।

मतदाता शिक्षा कम भएर मतदाता अलमलमा पर्नु, भौगोलिक विकटताका कारण कतिपय मतदातालाई असहज हुनु, मतदाता शिक्षा र सचेतनाको बदला दलहरूले उल्टै आफ्नो पक्षमा तान्न अनेक झुठा कुरा कुरा गर्नु बाहेक यो निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

परिणाम हेर्दा दलगत रूपमा नेपाली कांग्रेस ३२८ प्रमुख २९४ उपप्रमुखसहित १३ हजार ५११ स्थानमा जित हासिल गरेर पहिलो ठूलो दल भएको छ। आफैँभित्रको बेमेल र असन्तोषबीच नेपाली कांग्रेसका लागि यो ठूलो उपलब्धि हो ।

यसैगरी अघिल्लो संघीय र स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो दलका रूपमा स्थापित नेपाल कम्युनिष्ट पार्टी एमाले २०५  प्रमुख २३८ उपप्रमुख र ११ हजार ६३५ स्थानका साथ दोस्रो दलका रूपमा देखिएको छ।

आफ्नाे दल व्यवस्थापन गर्न नसकेर सरकारमा रहँदाको कार्यकाल विवाद र अन्तत: विभाजनबाट गुज्रिएको एमालेले निर्वाचनमा समेत आफ्ना योजना र कामका कुरा जनसमक्ष प्रस्तुत गर्नुको साटो गाली र शंकामा समय खर्चिँर्दै आएको थियो। सरकारमा रहँदा चालेका केही कदमका कारण प्रतिगामीको आरोप झेल्दै आएको एमाले अन्य ठूला दल एकातिर भएकोले एक्लिएको अवस्थामा रहेको थियो।

यो निर्वाचनमा एमाले प्रतिरक्षात्मक बनेको थियो। विभाजनको असर व्यापक रूपमा देखिने अनुमान गलत सावित गर्दै एमालेले अध्यक्ष केपी ओलीको एक्लो प्रभाव देखाएर जनसमक्ष जाने बाध्यता बीच पाएको यो मत कुनै अर्थमा पनि कम होइन।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पनि यो निर्वाचनमा अनपेक्षित विजय हासिल गरेको छ। सशस्त्र विद्रोह र भूमिगत राजनीतिबाट आकर्षक नारा र मीठा सपना बाँड्दै ठूलो आकर्षण एवं आशा बोकेको यो दल खुला जनमतको प्रतिस्पर्धामा थिग्रिँदै गएको अवस्थामा रहेको यथार्थ जगजाहेर छ।  

जनाधार सकिँदै गएको आरोप र आशंकाबीच भरतपुर महानगरसहित १२१ प्रमुख र १२७ उपप्रमुख गरी करिब पाँच हजार अर्थात् चार हजार ९६३ स्थान हात पार्न  सफल हुनुलाई नेकपा माओवादीका लागि गठबन्धनमार्फत प्राप्त तेस्रो स्थान विजय ठूलो मान्नु पर्छ।

यसैगरी पटकपटक टुट्दै फुट्दै विचार र संगठनमा अस्थिर देखिएको जनता समाजवादी पार्टी ३० स्थानमा प्रमुख र उपप्रमुख ३१ र कुल १५२० स्थानमा विजयी भएको छ। कतिपय स्थानमा प्रभाव नै नदेखिएको र कतिपय जिल्लामा संगठन समेत नभएको यो दलका लागि गठबन्धन बरदान सावित भयो, यो निर्वाचन।

नेकपा एमालेबाट अलग भएर गत भदौमा माधवकुमार नेपालको नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेताहरूको दाबी जति ठूलो भए पनि कमजोर र प्रारम्भिक अवस्थाका संगठन र विभाजनबाट आएको मूल पार्टीसँगको अत्यन्त कटुता पूर्ण सम्बन्धका बिच पाएको जनमत कम होइन।

विभाजनकारी भएको भन्ने एमालेको एकोहोरो आरोप पखाल्दै नेकपा एसले पोखरा महानगर र हेटौडा उपमहानगर जस्ता ठाउँमा विजय हासिल गरेको छ। कुल २० प्रमुख २३ उपप्रमुख गरी ९७७ स्थान हासिल गरेर दुई स्थानमा समेत नआउने एमाले नेताहरूले चलाएको हल्लाबीच नेकपा एकीकृत समाजवादीले आफूलाई जनमतद्वारा पाँचौँ दलका रूपमा  स्थापित गर्नु ठूलो उपलब्धि मान्नु पर्छ।

यसबाहेक पदलाई सधैँ प्राथमिकतामा राख्दै आएको आरोपबाट मुक्त हुन नसके पनि मधेश केन्द्रित लोकतान्त्रिक समाजवादी पार्टीले १६ प्रमुख र १२ उपप्रमुख सहित ५७५ स्थानमा हासिल गर्नुलाई कसैले पनि कम भन्न सक्दैन। 

निर्वाचनका मुखमा विभाजनको पीडा खेपेको राष्ट्रिय प्रजातन्त्र पार्टीले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रभाव क्षेत्र र उहाँको गृहनगर दमक सहित चार प्रमुख, चार उपप्रमुखसहित २९३ स्थानमा हासिल गरेर आफूलाई राष्ट्रिय राजनीतिमा राम्रै उपस्थित गराएको छ।

अझ आफैँबाट विभाजित भएर यसपटक लगभग हराएका कमल थापा नेतृत्वको राप्रपा नेपालका तुलनामा यसको विजय उल्लेखनीय देखिएको छ।

सधैँ चर्चित र संघीयताविरुद्ध अडान राख्दै आएको राष्ट्रिय जनमोर्चाले यसपटक चार प्रमुख र तीन उपप्रमुख मात्र होइन कुल १५९ स्थान हासिल गरेर राम्रै उपस्थिति देखाएको छ।

दलकै हिसाबले सधैँ उही र उस्तै देखिने नेपाल मजदुर किसान पार्टीले केही स्थानमा ठिकैको उपस्थिति देखाए पनि भक्तपुर नगरमा प्रतिस्पर्धी उमेदवारलाई लगभग १० प्रतिशत मतमा सीमित राख्दै नगरका सम्पूर्ण पदमा विजय हासिल गरेर आफ्नो सबल सिद्ध गरेको छ।

यसबाहेक पहिले खासै नाम नसुनिएको जनमत पार्टीले दुई प्रमुख, एक उपप्रमुख सहित ९६, जनता प्रगतिशील पार्टीले एक प्रमुख, एक उपप्रमुखसहित २२, तराई मधेश लोकतान्त्रिक पार्टीले एक प्रमुखसहित १२ र सधैँ चर्चामा रहने रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझाले एक प्रमुख, एक उपप्रमुख गरी ११ स्थानमा विजय हासिल गरेर हैसियत अनुसारको उपस्थिति राख्न सफल भएका छन्।

यसपटकको निर्वाचन मार्फत संगठन शक्ति सिद्धान्तले मात्र होइन, नश्ल वर्णका कुरा होइन, कामबाट स्थापित गरे र कामप्रति विश्वास जगाए स्वतन्त्र उम्मेदवारले। बालेन, हर्क र गोपाल मात्र होइन  देशभर १३ प्रमुख ४ उपप्रमुख सहित ३८५ स्वतन्त्र उमेदवारको विजयले यसलाई सिद्ध गरेको छ। 

दलहरू मात्र होइन यसपटक सर्वाधिक चर्चित भए केही स्वतन्त्र उमेदवार– काठमाडौंमा बालेन साह, धरानमा हर्क साङपाङ राई र धनगढीका गोपाल हमालप्रति जनताले देखाएको विश्वास नेपालको पछिल्लो कालखण्डका लागि अतुलनीय छ।

यसपटकको निर्वाचन मार्फत संगठन शक्ति सिद्धान्तले मात्र होइन, नश्ल वर्णका कुरा होइन, कामबाट स्थापित गरे र कामप्रति विश्वास जगाए स्वतन्त्र उम्मेदवारले। निर्वाचनमा जसले पनि  विजय हासिल गर्नसक्छ भन्ने बालेन, हर्क र गोपाल मात्र होइन  देशभर १३ प्रमुख ४ उपप्रमुख सहित ३८५ स्वतन्त्र उमेदवारको विजयले सिद्ध गरेको छ। 

त्यसैले यसपटकको निर्वाचनमा हरेकले विजय प्राप्त गरेका छन्। विगतबाट पाठ सिक्दै इमान र मेहनतका साथ कानुनी मात्रै होइन नैतिक बोधका साथ दिगो विकासका लागि नवनिर्वाचित प्रतिनिधिले काम गर्ने अपेक्षा छ।

२०४६ सालको आन्दोलन पछि विजय उत्सव मनाउन राजधानीको खुलामञ्चमा आयोजित बृहत् सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाले बोलेको भनाइ यसपटक सार्थक भयो। उहाँले भन्नु भएको थियो, ‘आज हामीले प्रजातन्त्र पाएका छौँ। प्रजातन्त्रमा कसैको हार हुँदैन। प्रजातन्त्रमा सबैको जित हुन्छ। प्रजातन्त्र भनेको सबैको जित हुने व्यवस्था हो…।’

वास्तवमा प्रजातन्त्रलाई जाँच्ने चाहिं निर्वाचन रहेछ। अहिले सबैका उमेद्वारलाई विजयी बनाएर गएको छ यो निर्वाचन। विजयी जनप्रतिनिधिले पनि मतदातालाई सर्वाङ्गीण विकासका माध्यमबाट विजयको ताज पहिराए भने मात्रै विजयले सार्थकता पाउने छ। 

निर्वाचित सबै जनप्रतिनिधिलाई बधाइ। सबैलाई शुभकामना। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.