|

पर्वत : केही वर्ष पहिले गाउँको अवस्था अहिलेको जस्तो थिएन। सदरमुकाममा सवारीहरू चल्ने गरेको भए पनि गाउँमा सडकको विस्तार भएको थिएन। सामान्य कुरा खरिद गर्नका लागि पनि घण्टौँको यात्रा तय गरेर सदरमुकामसम्म आउनैपर्ने अवस्था।

बजारबाट गाउँ गाउँमा जोडिने पदमार्गहरूमा भारी बोकेका मान्छेहरूको अटसमटस भीड देखिन्थ्यो। त्यी भिडमा मान्छे नै लडाउने गरी पेल्दै हिँडिरहेका खच्चरका हुलहरू।

गाउँमा पसलहरूको विस्तार नभएका कारण महिना दिनलाई पुग्ने गरी एकै पटकमा नुन तेल खरिद गरेर घण्टौँको यात्रामा विश्राम गर्दै सदरमुकाम कुश्माबाट गाउँ फर्किनुपर्ने अवस्था थियो।

अहिले जस्तो पैसा उपलब्धता त्यो बेलामा अलि कम भएको अनुभव गरेकाहरू बताउँछन्। आर्थिक समस्याका कारण जग्गा खासै बाँझो हुन्थेन, बालबालिकादेखि वृद्धसम्म पनि खेतबारीमा काम गरिरहेका हुन्थे। गुणस्तरीय शिक्षाको खोजीमा अहिले जस्तो गाउँबाट विस्थापित हुने क्रम खासै चलेको थिएन।
यही वातावरणकी एउटा पात्र थिइन् जिल्लाको फलेवास नगरपालिका–१० कुर्घाकी शोभा क्षेत्री।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा फलेवास नगरपालिकाका उपप्रमुखमा उम्मेदवार रहेर पनि पराजित भएकी उनी दोस्रो प्रयासमा उपप्रमुख बनेकी छिन्। सामान्य जीवनयापन गर्दै आएकी उनी नगरको उपप्रमुख बने पनि जिल्लाका कृषकहरूले उनलाई सफल कृषकका रूपमा नै देखेका छन्।

 ‘मैले चुनाव जितेपछि कृषकहरूले फोन गर्नुभएको छ। कोहीले भेटेरै पनि कृषिका मुद्दाका बारमा सुनुवाइ हुने भयो भन्नुहुन्छ’, उनी भन्छिन्, ‘म त अहिले पनि यताको उपप्रमुख जस्तै घरको सफल कृषक नै हो। उपप्रमुख बने पनि बिहान बेलुका गोठका काम कसरी छाड्नु? भकारो फाल्ने देखि घाँस काट्नेसम्मका सबै कामहरू गर्ने नै हो।’

बाकसमा चुरा राखेर सुरु भयो व्यापार

कुर्घाडाँडा घर भएकी शोभाको २०५० सालमा १६ वर्षको उमेरमा सोही ठाउँका सोमबहादुर क्षेत्रीसँग मागी विवाह भयो। घरको आर्थिक अवस्था कमजोर भएका कारण परिवार चलाउन मुस्किल हुँदा दम्पतीले धेरै समस्याहरू भोगे।

श्रीमानले वैदेशिक यात्राको लागि पटक–पटक प्रयास गर्दा पनि उनले रोकी रहिन्। दैनिकी चलाउन नै समस्या भएपछि घाँस काटेर मात्रै गुजारा चल्दैन भन्ने उनलाई लाग्यो। गाउँमा खासै पसलहरू नहुने बेलामा नै उनले सानै भए पनि व्यवसाय सुरु गर्ने योजना बनाइन्।

२४ वर्षको उमेरमा दुई सन्तानको आमा बनेकी शोभाले घाँस दाउरा र चुलो चौको मात्र गरेर जीवन नबिताउने सोच गरेर ०६० सालमा गाउँमा नै चुरा, पोते सहित शृङ्गारका सामग्रीहरूको सामान्य व्यापार सुरु गरिन् त्यो पनि सानो जस्ता पाताको बाकस लिएर आफ्नै घरको कोठाबाट।

त्यो बेलामा चुराको व्यापार उत्तम पनि थियो। विवाहित महिलाले हातभरि चुरा लगाउँथे, तर काम गर्दा फुट्थ्यो। फेरि चुरा लगाउन एक दिनको यात्रा तय गरेर सदरमुकाम आउनुपर्ने।
त्यही अवस्थामा क्षेत्रीले सुरु गरेको सामान्य व्यवसायले गति लिन थाल्यो। शृङ्गारका सामग्रीहरू मात्र नभई दैनिक उपभोग्य खाद्य वस्तुको पनि बिस्तारै कारोबार हुन थाल्यो। जस्ता पाताको बक्सबाट सुरु भएको पसल एक वर्षमा नै किराना पसलमा रूपान्तरण भयो।

लगत्तै सोमबहादुर वैदेशिक रोजगारीको लागि मलेसिया गए, शोभाले गाउँमा नै व्यवसाय सञ्चालन गरिरहिन्। सदरमुकाम कुश्माबाट खच्चडमा सामान लगेर गाउँमा बिक्री गर्दा उनको गुजारा चल्नामा समस्या रहेन। तर श्रीमानको चार वर्ष विदेश बसाइँको अवधिमा शोभाका विरुद्ध नराम्रा कुराको हल्ला भयो। ०६५ सालमा श्रीमान् मलेसियाबाट फर्किएपछि पटक–पटक वैदेशिक रोजगारीमा जान खोजिरहे, तर शोभाले पटक–पटक राहदानी लुकाएर श्रीमानलाई घरमा नै बस्न बाध्य पारिन।

 दुवै मिलेर काम गरे विदेशको जति आम्दानी नेपालमा नै गर्न सकिन्छ भन्ने सोचमा उनीमा आइसकेको थियो।

..जब गाउँमा गाडी चल्न थाले

विकासको क्रमसँगै ग्रामीण भेगहरूमा पनि बिस्तारै बिस्तारै सडकहरूको विस्तार भयो। बिग्रिएका र कठिन नै भए पनि खच्चरलाई विस्थापित गर्दै जिपहरूले ग्रामीण भेगमा ढुवानी गर्न थाले। शोभाले गर्दै आएको किराना पसलमा सेवा थप गर्नुपर्ने अवस्था आयो।

२०६८ सालमा सदरमुकाम कुश्मादेखि लुङ्खु हुँदै पर्वतको दक्षिणी क्षेत्र हुवाससम्म बस चल्न थालेपछि उनीहरूले किरानासँगै खाजा पसल पनि सुरु गरे। त्यो रुटमा चल्ने सवारीका चालक, सहयोगी तथा यात्रुहरूले पनि आफूहरूले खाजा नास्तामा समस्या भोगेको भन्दै होटल गर्न सुझाएपछि उनीहरूले होटल चलाए। ‘यो रुटमा चिया खान पनि नपाउने भयो, हजुरहरू पसल गरिराखेकै मान्छेले खाजा पनि खुवाउन थाल्नुभयो राम्रै हुन्छ भनेर उहाँहरूले नै भन्नुभयो’, क्षेत्री भन्छिन्, ‘कुरा ठिकै लाग्यो, अनि किराना सँगसँगै होटलको पनि सुरुवात गरियो। त्यसले पनि राम्रै भयो। तर बर्खामा सडक बिग्रँदा गाडी आउँथेनन्।’

अनि सुरु भयो कृषि यात्रा

किराना पसल र होटलमा जमिरहेको क्षेत्री दम्पतीले त्यति सङ्घर्षले मात्रै सुख मानेनन्। कृषि उत्पादनबाट राम्रो गर्न सकिन्छ भन्ने सोच बोकेका उनीहरूले २०७० सालमा त्यहीँ ठाउँमा व्यावसायिक रूपमा दूध उत्पादन गर्ने सोच बनाए।  गाउँका सबै जना मिलेर चिसापानी दुग्ध सहकारी दर्ता गरेपछि शोभा उक्त सहकारीको सचिव बनिन्। सुरुमा २० जना शेयर सदस्यबाट पाँच हजार रुपैयाँका दरले शेयर हालेर दूधलाई व्यावसायिक रूपमा बजार पठाउन सुरु भयो।

सहकारीमा आबद्ध सबैले गाई किन्ने र उत्पादनलाई बढाउँदै लैजाने निधो गरेपछि उनी चितवनको टाँडी पुगेर प्रति गाई ८० हजार रुपैयाँका दरले तीन ओटा गाई किनेर ल्याइन्। गाई किनेर दूध बेच्न सोचे जति सहज नभए पनि गाउँलेको एकता र प्रतिवद्धताले गाउँलेहरू नै सफल बन्दै गए।

गाउँका किसानले उत्पादन गरेको दूध शोभाकै घरमा जम्मा पारेर सदरमुकाम कुश्मा बजार लैजान थालियो। हिउँदमा सवारी चल्दा गाडीमा दूध पठाएपछि बर्खामा भने पालो लगाएर दूधका क्यानहरू पिठ्यूँमा बोकेर हिँड्थे उनीहरू।
दूध उत्पादनलाई व्यावसायिक बनाउन क्रमिक रूपमा लगानी बढाउँदै लगेपछि शोभाको गोठमा अहिले १५ ओटा गाई छन्। दैनिक झन्डै एक सय लिटर दूध पोखरा र कुश्मामा निर्यात हुने गरेको छ। कृषि व्यवसाय तथा पशुपालन फर्म दर्ता गरेर सञ्चालनमा रहेका टनेलबाट काँक्रा, टमाटर तथा खेतीपातीबाट जेठो बूढो धानको बिउ उत्पादन हुने गरेको छ।
आफू महिला सहकारीमा आबद्ध भएर चलाएको छ वर्ष पुगेको र निर्वाचन अगाडि मात्रै राजीनामा दिएको बताउँदै उनले सहकारीमार्फत नै खसी, बोका, तरकारी र दूध पोखरा लगायतका ठाउँमा बिक्री गर्दै आएको बताइन्।

‘गाउँमा उत्पादित मह पनि बिक्री गर्ने गरिएको छ। हामीहरूले उत्पादन गरेको जेठो बूढो धानको बिउ प्रयोगशालाबाट प्रमाणित भएको छ। यो वर्ष पनि सात लाखको बीउ उत्पादन गरेका छौँ। त्यसमा पाँच लाख त मेरो भएको छ’, शोभा भन्छिन्, ‘काँक्राको बीउ पनि राम्रो उत्पादन हुने गरेको छ। म चुनावमा हिँड्न परेका कारण टमाटर बढी पाकेर झरेछ। मैले टमाटरको बीउ पनि उत्पादन गर्दै आएकी छु।’

मत माग्न हिँड्दा घरका गाईको यादले सतायो

चुनाव प्रचारको क्रममा हिँड्दा गठबन्धनको लागि मत माग्नुपर्ने थियो। तर पल पलमा उनलाई घरका गाईको याद आउने गर्दथ्यो। मत माग्दै नागरिकको घरमा पुगेको बेलामा आफूसँगै हिँडेको भिडलाई त उनले भनिन तर मेसो मिलाएर नागरिकका गोठमा सुटुक्क चियाएर हेर्थिन र आफ्ना गोठमा रहेका चौपायाको अत्यास मेटाउँथिन्।
‘चुनावको बेलामा हिँड्दा ती गाई र टनेलको यति याद आउँथ्यो कि टोलीमा हिँडेर कसैको घरमा पुग्दा उनीहरूका गोठमा हेर्थेँ। मेरा गाइले मलाई खोजिरहेका होलान् भन्ने लाग्थ्यो, तिनको याद कति हो कत्ति आउने के!’, उनले भनिन्, ‘प्रचार सकेर घरमा आएपछि गोठमा जाने गोबर सफा गर्ने गाई दुहुने बिहानमा भ्याएसम्म घाँस काट्ने गरेकी थिएँ। अब मेरो दैनिकी यही हो।’

निर्वाचन लागेसँगै आफूले गर्ने काम दिउँसोमा श्रीमान् र एक जना सहयोगीले काम गर्दै आएको भए पनि अब कार्यक्रम नपरेको र बिदाको दिनमा गोठका काम आफूले नै सम्हाल्ने क्षेत्रीको भनाई छ। समस्या मूलक आर्थिक अवस्थाबाट अहिलेको अवस्थामा आफूलाई ल्याउने माध्यम नै कृषि भएकाले आफू कृषिबाट कहिल्यै अलग हुन नसक्ने उनको भनाई छ।
महिलाहरूलाई संगठित गरेर व्यावसायिक बनाउनुपर्छ भन्ने उद्देश्यले शोभाकै पहलमा २०७२ सालमा हराभरा सामाजिक उद्यमी महिला सहकारी दर्ता गरेर सञ्चालनमा छ।

६३६ जना महिला शेयर सदस्य रहेको सहकारीको  अध्यक्ष रहेकी उनले यसबाट राजीनामा गरेर निर्वाचनमा होमिएकी हुन्। महिलाहरूले उत्पादन गरेका खसी, बोका, तरकारी र दूध बेच्नको लागि गण्डकी प्रदेश सरकार, फलेवास नगरपालिका र हेफर इन्टरनेशनलबाट सहयोग हुँदै आएको शोभा बताउँछिन्।

सहकारीका माध्यमबाट गरिएको कारोबार र उत्पादनले आफू सहित गाउँका धेरैको प्रगति भएका कारण फलेवासका ११ ओटै नगरपालिकामा महिला सहकारीमार्फत निर्वाहमुखी कृषिलाई व्यावसायिक कृषिमा परिणत गर्ने आफ्नो योजना रहेको उपप्रमुख क्षेत्री बताउँछिन्।

उत्कृष्ट कृषकको सम्मान

दूध उत्पादनमा उत्कृष्ट रहेका कारण अघिल्लो वर्ष उनलाई फलेवास नगरपालिकाले अनुदान सहित सम्मान गरेको थियो। एक वर्षमा ४२ हजार लिटर दूध बेचेको भन्दै नगरपालिकाले प्रति लिटर एक  रुपैयाँका दरले ४२ हजार रुपैयाँ  सहित सम्मान दिइएको थियो। सामाजिक संस्था बिवाइसी बागलुङले पनि वर्षभर सबैभन्दा धेरै दूध बेच्ने महिला भनेर सम्मानित गरेको थियो। दूध, तरकारी बेचेर शोभाले मासिक दुई लाख भन्दा बढीको आम्दानी गर्ने गरेकी छिन्।

उनको यो सफलतामा श्रीमान् सोमबहादुरको साथले शक्ति दिएको छ। कुनै बेलामा बाकसमा चुरा राखेर व्यवसाय गरेको मान्छेले अहिले छोरालाई आइ.टी अध्ययनको लागि यू.के मा पठाउन सक्नु र छोरीले पनि बिबिएसको अध्ययन पूरा गर्नु आफ्नो लागि खुसीको कुरा भएको उनको भनाई छ। छोराछोरीलाई कृषि पढाउने सपना रहेको भए पनि उनीहरूको रुचि त्यो भन्दा फरक रहँदा कृषिमा तान्न भने सकेनन्।

राजनीतिमा यस पटक यसरी भइन सफल

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (नेकपा माओवादी) केन्द्रबाट उपप्रमुख पदमा प्रतिस्पर्धा गरेकी उनी एमालेकी उम्मेदवार मञ्जु अधिकारी प्यासीसँग पराजित भएकी थिइन्। प्यासीले ५ हजार ९५४ मत ल्याउँदा क्षेत्री ६९६ मत पाएकी थिइन्।

यस पटकको निर्वाचनमा पनि उपप्रमुख पदमा यिनै दुई जनाले प्रतिस्पर्धा गरेका थिए। यस पटक भने क्षेत्रीले प्यासीलाई २७० मतले पराजित गरिन। शोभाको पक्षमा ६ हजार ३२७ मत आउँदा मञ्जुको पक्षमा ६ हजार ५७ मत आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.